News Summary
Generated by OK AI. Editorially reviewed.- भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले कुलेखानी जलाशय खोल्ने तयारी भन्ने सूचना सत्य नभएको र अहिले ड्याम खोल्नुपर्ने अवस्था नरहेको बताएका छन् ।
- उनका अनुसार बुधबार १ हजार ५ सय २२ दशमलव ३८ मिटर रहेको पानीको सतह आज शुक्रबार घटेर १ हजार ५ सय २२ दशमलव १८ मिटर पुगेको छ ।
- नेपाल विद्युत प्राधिकरणले जोखिम बढे साइरनमार्फत चेतावनी दिने र तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
९ असोज, काठमााडौं । कुलेखानी जलविद्युत आयोजनाको जलाशय (ड्याम) खोल्ने तयारी भन्ने सूचना सत्य नभएको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।
भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले कुलेखानी ड्याममा पानीको सतह बढेर ड्याम खोल्नुपर्ने अवस्था नरहेको बताए । उनले दुई वर्षअघिका फोटो तथा भिडियो सामाजिक सञ्जालमा शेयर गरेर भ्रम सिर्जना नगर्न सबैलाई आग्रह गरेका छन् ।
अध्यक्ष लामाका अनुसार कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुखले दिएको जानकारीका आधारमा बुधवार १ हजार ५ सय २२ दशमलव ३८ मिटर रहेको ड्यामको पानीको सतह आज शुक्रबार घटेर १ हजार ५ सय २२ दशमलव १८ मिटरमा पुगेको छ ।
कुलेखानीको ड्याम यसअघि १२ असोज २०८१ मा खोलिएको थियो । त्यसवर्ष कुलेखानीले पानी छोड्दा ठूलो जनधनको क्षति पुगेको थियो ।

ढोका खोल्दा त्यहाँबाट बग्ने पानीले मकवानपुरको भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, बागमती गाउँपालिकासँगै सिन्धुली, सर्लाही र रौतहटका नदी तटीय क्षेत्र प्रभावित हुन सक्नेछन् । कुलेखानीको क्षमता एक हजार पाँच सय ३० मिटर छ ।
‘भ्रमपूर्ण समाचारबाट आतंकित नहुनुहोला,’ अध्यक्ष लामाले भनेका छन्, ‘यदि कुलेखानी ड्याममा पानीको सतह बढेर ड्याम खोल्नुपर्ने अवस्था आएमा प्राधिकरणले जारी गरेको सूचनाअनुसार तल्लो तटीय क्षेत्रका नागरिक सचेत रहनुपर्छ । तर अहिले त्यस्तो खालको जोखिम छैन ।’
नेपाल विद्युत प्राधिकरण, कुलेखानी प्रथम जलविद्युत केन्द्रले भने ड्यामको पानीको सतह बढेर सुरक्षा जोखिम उत्पन्न भएमा साइरनमार्फत चेतावनी दिने व्यवस्था रहेको जनाएको छ ।
प्राधिकरणको सूचनाअनुसार एक पटक साइरन बजे पहिलो चेतावनी, दुई पटक बजे दोस्रो चेतावनी र तीन पटक वा लगातार साइरन बजे आपत्कालीन चेतावनी मानिनेछ ।
यस्तो अवस्थामा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।
प्रतिक्रिया 4