News Summary
Generated by OK AI. Editorially reviewed.- अविरल वर्षाका कारण काठमाडौं आउजाउ गर्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्तिलोकपथ पहिरोले बन्द छन् ।
- काठमाडौंको लाइफलाइन त्रिभुवन राजपथ अत्यावश्यक सामग्री ल्याउनका लागि मकवानपुरतिरबाट मात्र एकतर्फी सञ्चालनमा छ ।
- साना गाडीले हेटौँडा–भिमफेदी–कुलेखानी–फाखेल–फर्पिङ, कुलेखानी–सिस्नेरी–फर्पिङ र टोखा छहरे तथा साँखु मार्ग प्रयोग गर्न सक्नेछन् ।
९ असोज, काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं आउजाउ गर्ने मुख्य राजमार्गहरू अवरुद्ध छन् ।
काठमाडौं आउजाउ गर्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्तिलोकपथ बन्द छन् । यी राजमार्गहरूमा ठाउँठाउँमा पहिरो खसेका कारण बिहानैदेखि सवारीसाधनहरू गुड्न सकेका छैनन् । वर्षा नरोकिएका कारण सम्बन्धित जिल्लाका प्रशासन कार्यालयहरूले सवारी सञ्चालनमा रोक लगाएका छन् ।
काठमाडौंको लाइफलाइन मानिने त्रिभुवन राजपथ (हेटौँडा–नौबिसे–काठमाडौं) सडक एकतर्फी मात्रै सन्चालनमा छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता नरेशराज सुवेदीले अत्यावश्यक सामग्री काठमाडौं ल्याउनका लागि त्रिभुवन राजपथ एकतर्फी खुला राखिएको बताए । ‘काठमाडौं हुँदै जाने गाडीहरुलाई त्रिभुवन राजपथ प्रयोग गर्न दिइएको छैन, मकवानपुरतिरबाट आउनमात्र दिइएको छ,’ उनले भने, ‘काठमाडौंमा अत्यावश्यक सामग्रीहरु ल्याउन सहज होस् भनेर त्रिभुवन राजपथ एकतर्फी गरिएको हो ।’
साना गाडीहरुले भने काठमाडौं आउजाउ गर्न हेटौंडा–भिमफेदी–कुलेखानी–फाखेल–फर्पिङ र कुलेखानी–सिस्नेरी–फर्पिङको बाटो मात्र प्रयोग गर्न सक्छन् । प्रहरीका अनुसार यी सडकमा ठूला मालवाहक गाडी गुड्न सक्दैनन् । यो सडकमा पनि प्रशासनले रातिको समयमा सवारी चलाउन रोक लगाउने गरेको छ ।
ट्राफिक प्रहरीका अनुसार साना गाडीहरुका लागि टोखा छहरे र साँखु हुँदै आउजाउ गर्ने बाटो पनि खुला छ ।
तर काठमाडौंका लागि अत्यावश्यक खाद्यान्न र इन्धन ढुवानीका लागि त्रिभुवन राजपथ मात्र एकतर्फी खुला राखिएको छ ।
प्रतिक्रिया 4