News Summary
Generated by OK AI. Editorially reviewed.- मनोविद् गृष्मा पनेरुले खेलौनाले बालबालिकामा कल्पना, सामाजिक सीप, समस्या समाधान र सहकार्यको क्षमता विकास गर्ने बताइन्।
- उनीले छोरा र छोरीका खेलौना लैंगिक सीमामा बाँध्न नहुने र रुचि, क्षमता तथा विकासात्मक आवश्यकताका आधारमा छनोट गर्नुपर्ने सुझाव दिइन्।
छोराका लागि कार, बन्दुक र रोबोट । छोरीका लागि गुडिया, किचेन सेट र मेकअप किट । ‘छोराका लागि के किन्ने ?’ भन्ने प्रश्न आउँदा धेरै अभिभावकको रोजाइमा कार, रोबोट, बल वा अन्य ‘एक्सन’ खेलौना पर्छन् ।
छोरीका लागि भने गुडिया, किचेन सेट, मेकअप किट वा घर सजाउने खेलौना रोजिन्छ । रङमा पनि त्यही विभाजन देखिन्छ छोरीका लागि गुलाबी, छोराका लागि निलो ।
बालबालिकाले रोजेको भन्दा पनि हामीले उनीहरूका लागि रोजिदिएको खेलौना धेरैपटक उनीहरूको हातमा पुग्छ । खेलौना किन्न पसल पुग्दा नै बजारले संकेत गरिरहेको हुन्छ यो केटीका लागि हो, यो केटाका लागि ।
खेलौना बच्चाको सिकाइको माध्यम
मनोविद् गृष्मा पनेरुका अनुसार बालबालिकाले आफ्नो लैंगिक पहिचान मात्र होइन, परिवार र समाजबाट लैंगिक भूमिका पनि सिक्छन् । ‘यदि बारम्बार ‘छोरा रोउनु हुँदैन’, ‘छोरीले घरको काम सिक्नुपर्छ’, ‘केटीले यस्तो खेल खेल्दैनन्’ भनियो भने बच्चाले आफ्नो क्षमता र रुचिलाई लैंगिक नियमसँग जोड्न थाल्न सक्छ’ उनी भन्छिन् ।
गुडियासँग खेल्दा बच्चाले उसलाई बच्चा मानेर सुताउन, खाना खुवाउन, बिरामी भएको अभिनय गर्न वा हेरचाह गर्न सक्छ । कारसँग खेल्दा उसले यात्रा, गति र आफ्नो कल्पनाको संसार बनाउँछ । किचेन सेटमा खाना पकाउँदा उसले घरमा देखेको कामको अभ्यास गर्छ । त्यसैले बच्चाले कुन खेलौना खेल्छ भन्नेभन्दा त्यसबाट उसले कस्तो अनुभव पाइरहेको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
पनेरुका अनुसार खेलौनासँग खेल्दा बालबालिकामा कल्पना, सामाजिक सीप, भूमिका निर्वाह, समस्या समाधान तथा अरूको व्यवहार अवलोकन गर्ने क्षमता विकास हुन्छ । त्यसैले खेलौना बालबालिकाको मनोरञ्जन मात्र नभएर उनीहरूको सोच, भाषा, भावना, सामाजिक व्यवहार र सिर्जनशीलता विकास गर्ने माध्यम पनि हो।
यसैले खेलौना छान्दा ‘छोरीका लागि के ?’ र ‘छोराका लागि के ?’ भन्दा पनि ‘यो खेलौनाले मेरो बच्चालाई के सिकाउँछ ?’ भन्ने प्रश्न महत्वपूर्ण हुन्छ।
नेपालमा अझै पनि छोरीलाई गुडिया, भान्साका सामान र घरायसी खेल तथा छोरालाई गाडी, बन्दुक, रोबोट वा निर्माणका खेलौना दिने चलन देखिन्छ। यस्तो अभ्यासले बच्चामा ‘घरको काम महिलाको, बाहिरको काम पुरुषको’ भन्ने धारणा सानैदेखि निर्माण गर्न सक्छ ।
तर यसको अर्थ सबै बच्चाले एउटै खेलौना खेल्नुपर्छ भन्ने होइन । बच्चाको रुचि र छनोटलाई सम्मान गर्नु नै लैंगिक रूपमा तटस्थ अभिभावकत्वको महत्वपूर्ण आधार हो ।
छोराले गुडिया किन खेल्ने ?
‘छोरा भएर गुडियासँग खेल्ने ?’ यही प्रश्नले हाम्रो सोच देखाउँछ । छोराले गुडिया खेल्यो भने उसलाई जिस्क्याउने, छोरीले कार माग्दा ‘छोरी भएर यस्तो खेलौना ?’ भन्ने प्रवृत्ति अझै देखिन्छ । तर बच्चाका लागि ती केवल खेलौना हुन् ।
छोराले गुडियासँग खेल्दा उसले ‘केटीको काम’ सिकिरहेको हुँदैन । उसले हेरचाह, संवेदनशीलता, जिम्मेवारी र भावनाको अभ्यास गरिरहेको हुन सक्छ । किचेन सेटमा खेल्दा खाना पकाउनु महिलाको मात्र जिम्मेवारी होइन भन्ने कुरा व्यवहारबाट सिक्न सक्छ ।
त्यसैगरी छोरीले कार, निर्माण सामग्री, रोबोट वा विज्ञानसम्बन्धी खेलौना खेल्दा उसले ‘केटाको काम’ गरिरहेकी हुँदैन । उसले खोज्ने, बनाउने, चलाउने र समस्या समाधान गर्ने अवसर पाइरहेकी हुन्छे ।
पनेरुका अनुसार छोरा गुडियासँग खेल्न चाहन्छ भने अभिभावकले त्यसलाई रोक्नु वा जिस्क्याउनुको सट्टा उसको खेललाई अझै सिकाइसँग जोड्न सक्छन् ।
‘छोरा गुडियासँग खेल्न चाहन्छ भने ‘तिमी छोरा भएर गुडिया किन खेल्छौ ?’ भन्नुको सट्टा अभिभावकले ‘तिमीले बच्चाको हेरचाह गर्ने खेल खेल्न मन पराउँछौ ? ल, यसलाई खाना खुवाऔं, सुताऔं’ भन्न सक्छन् ।’
यस्तो खेलबाट बच्चाले हेरचाह, सहानुभूति र पालनपोषण व्यवहार अभ्यास गर्ने अवसर पाउने उनी बताउँछिन् । हेरचाह गर्नु केवल महिलाको भूमिका होइन ।
यसको अर्थ छोरीलाई गुडिया दिनै हुँदैन वा छोरालाई कार किन्नै हुँदैन भन्ने होइन । समस्या खेलौनाको रोजाइमा होइन, रोजाइलाई लैंगिक सीमामा बाँध्नुमा हो ।
बाल्यकालमै सिकाइन्छ लैंगिक भूमिका
‘केटी भएकाले तिमीले घर सम्हाल्नुपर्छ’, ‘छोरा भएकाले बलियो हुनुपर्छ’, ‘छोरीले धेरै जोखिम लिनु हुँदैन’, ‘छोराले रुनु हुँदैन’ यस्ता सन्देश बच्चाले परिवार, समाज, सञ्चारमाध्यम र आफ्नै वरिपरिको व्यवहारबाट सिक्दै जान्छ ।
खेलौना पनि यही सामाजिक सिकाइको एउटा माध्यम बन्न सक्छ । छोरीलाई सधैं गुडिया र घरायसी खेलमा सीमित गरियो भने हेरचाह र घरको जिम्मेवारी महिलाको मात्र हो भन्ने सन्देश जान सक्छ ।
छोरालाई सधैं कार, युद्ध वा ‘एक्सन’ खेलमा सीमित गरियो भने साहस, शक्ति र नेतृत्व पुरुषसँग मात्र जोडिने धारणा बलियो हुन सक्छ । त्यसैले बालबालिकालाई विभिन्न प्रकारका खेल र खेलौना रोज्ने अवसर दिनु महत्वपूर्ण हुने मनोविद् पनेरुको सुझाव छ ।
माल्भिका सुब्बाको अभिभावकत्वको उदाहरण
पूर्वमिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बाले पनि आफ्नो सन्तान हुर्काउँदा परम्परागत लैंगिक धारणालाई कठोर रूपमा नथोपर्ने विषयमा सार्वजनिक रूपमा कुरा गर्दै आएकी छन् ।
बालबालिकाको रङ, खेलौना, पहिरन वा रुचिलाई ‘केटा’ र ‘केटी’ को सीमामा बाँध्नुभन्दा उनीहरूको रुचि र छनोटलाई सम्मान गर्ने उनको दृष्टिकोणले पनि यही प्रश्न उठाउँछ बच्चाले रोजेको कुरा स्वीकार गर्ने कि समाजले तोकिदिएको भूमिका ?
सुब्बाको अनुभवको मुख्य अर्थ पनि बच्चालाई निश्चित लैंगिक भूमिकामा सीमित नगरी आफ्नो रुचि खोज्ने अवसर दिनु हो ।
बार्बीको बदलिँदो यात्रा
खेलौनामार्फत समाजले बालबालिकालाई कस्तो सन्देश दिन्छ भन्ने बहस गर्दा बार्बी को उदाहरण पनि महत्वपूर्ण हुन्छ । लामो समयसम्म बार्बीलाई सौन्दर्य, फेसन र परम्परागत स्त्रीत्वसँग जोडेर हेरियो । तर समयसँगै बार्बीका भूमिकाहरू विस्तार भए । डाक्टर, वैज्ञानिक, खेलाडी, पाइलट लगायत विभिन्न पेशा र भूमिकामा बार्बीलाई प्रस्तुत गरियो ।
पछिल्ला वर्षमा विभिन्न शरीर, छालाको रङ, क्षमता र पहिचानलाई प्रतिनिधित्व गर्ने बार्बी पनि सार्वजनिक भएका छन् । २०२२ मा अभिनेत्री तथा ट्रान्सजेन्डर अधिकार अभियन्ता लाभर्न कक्सको स्वरूपमाबार्बी सार्वजनिक भयो । २०२३ मा डाउन सिन्ड्रोम भएकी बार्बी पनि सार्वजनिक गरियो ।
यसको अर्थ एउटा गुडियाले लैंगिक विभेद समाप्त गर्यो भन्ने होइन । तर खेलौनामा कसलाई देखाइन्छ र बच्चाले आफूलाई त्यसमा देख्न सक्छ कि सक्दैन भन्ने प्रश्न पनि महत्वपूर्ण हुन्छ ।
बजार र विज्ञापनले पनि सिकाउँछ
खेलौनाको पसलमा हेर्ने हो भने पनि लैंगिक विभाजन देखिन्छ । गुलाबी वा बैजनी प्याकेजिङमा गुडिया, किचेन र घरायसी खेल, निलो वा गाढा रङको प्याकेजिङमा कार, रोबोट, टुलसेट वा अन्तरिक्षसम्बन्धी खेलौना देखिन सक्छन् । बच्चाले मात्र होइन, अभिभावकले पनि यही संकेतबाट ‘छोरीका लागि यो’ र ‘छोराका लागि त्यो’ भनेर छनोट गर्न थाल्छन् ।
त्यसैले खेलौना किन्दा प्रश्न यस्तो हुन सक्छ यो खेलौनाले मेरो बच्चालाई के सिकाउँछ ? यसले सिर्जनशीलता बढाउँछ ? समस्या समाधान गर्न सिकाउँछ ? सहकार्य गर्न सहयोग गर्छ ? भावना व्यक्त गर्ने अवसर दिन्छ ? नयाँ कुरा खोज्न प्रेरित गर्छ ? यी प्रश्न रंग वा प्याकेजिङभन्दा महत्वपूर्ण छन् ।
अभिभावकले के गर्ने ?
छोरीलाई कार मन पर्छ भने कार खेल्न दिनुपर्छ । तर, छोरा गुडियातिर आकर्षित हुन्छ भने रोक्नु आवश्यक छैन । किचेन सेट, पजल, चेस, निर्माण सामग्री, किताब, साइकल वा बाहिरी खेल विभिन्न विकल्प दिन सकिन्छ । तर यसको अर्थ सबै बालबालिकालाई एउटै खेलौना रोज्न लगाउनु होइन ।
पनेरुका अनुसार लैंगिक रूपमा तटस्थ अभिभावकत्वको अर्थ सबै बच्चालाई एउटै तरिकाले हुर्काउनु पनि होइन । हरेक बच्चाको रुचि, व्यक्तित्व र आवश्यकता फरक हुन्छ ।
‘यसको अर्थ ‘तिमी केटा भएकाले यो गर्नुपर्छ’ भन्दा ‘तिमीलाई के गर्न मन पर्छ र यसले तिम्रो विकासमा कसरी सहयोग गर्छ ?’ भनेर हेर्नु हो । अर्थात्, लिङ्गले अवसर निर्धारण नगरोस्, बच्चाको रुचि, क्षमता, विकासात्मक आवश्यकता र सुरक्षित वातावरणले अवसर निर्धारण गरोस् ।’
बाहिरी खेल पनि सबैका लागि
लैंगिक रूढी तोड्ने कुरा खेलौनामा मात्र सीमित हुँदैन । फुटबल केटाको मात्र खेल होइन । साइकल केटाको मात्र होइन । क्रिकेट, बास्केटबल, पौडी वा दौड कुनै एउटा लिंगको सम्पत्ति होइन । त्यस्तै, घरभित्र खेलिने चेस, क्यारम, पजल वा बोर्ड गेम पनि सबै बालबालिकाका लागि हुन् ।
खेलको उद्देश्य बच्चालाई ‘केटा’ वा ‘केटी’ को भूमिकामा तयार पार्नु होइन । उसलाई सोच्न, खोज्न, सिर्जना गर्न, असफल हुन, फेरि प्रयास गर्न र अरूसँग मिलेर खेल्न सिकाउनु हो । त्यसैले अभिभावकले खेलौनाको लिङ्ग खोज्नुभन्दा त्यसले विकास गर्ने सीप खोज्नुपर्छ ।
प्रतिक्रिया 4