News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेको रोशीखोलामा बाढीको सतह ४.५१ मिटर पुगेपछि खतराको तह नाघेको छ र बाढी पूर्वानुमान शाखाले साइरन बजाएको छ।
- नुवाकोटको त्रिशूली खोला र भक्तपुरको हनुमन्ते खोलामा बाढी चेतावनीको तहसम्म पुगेको छ र आगामी पाँच दिन विभिन्न नदीमा सतह बढ्ने अनुमान छ।
- सरस्वती विष्टले आगामी २४ देखि ४८ घण्टामा साना नदी तथा खोलामा आकस्मिक बहाव बढ्न सक्ने भन्दै मुस्ताङदेखि कञ्चनपुरसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेकी छन्।
९ असोज, काठमाडौं। काभ्रेको रोशीखोलाको बाढी खतराको तह नाघेको छ। रोशीखोलाको बाढीको खतराको तह ४.५ मिटर भए पनि अहिले सतह बढेर ४.५१ मिटर पुगेको छ। यो समाचार तयार पार्दासम्म अहिले पानीको सतह स्थिर छ। यद्यपि बाढी पूर्वानुमान शाखाले खतराको संकेत अनुसार साइरन बजाएको छ।
यसैगरी नुवाकोटको त्रिशूली खोला र भक्तपुरको हनुमन्ते खोलामा पनि बाढी आएको छ। ती दुवै स्थानका बाढी चेतावनीको तहसम्म पुगेका बाढी पूर्वानुमान शाखाले जनाएको छ। बाढी पूर्वानुमान शाखाका अनुसार आगामी पाँच दिन देशका विभिन्न ठूला नदी तथा जलाधार क्षेत्रमा पानीको सतह बढ्ने र केही स्थानमा सतर्कता तह पार गर्ने सम्भावना छ।
शाखाकी हाइड्रोलोजिस्ट इन्जिनियर सरस्वती विष्टले आगामी २४ देखि ४८ घण्टामा भने देशका विभिन्न जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बहाव बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाकी हाइड्रोलोजिस्ट इन्जिनियर सरस्वती बिष्टका अनुसार शुक्रबार बिहानको मापनमा कोशी, नारायणी, कन्काई, कमला र तिनका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास वा सोभन्दा माथि पुगेको छ। पश्चिम राप्ती, बबई, कर्णाली र महाकालीलगायत नदीमा भने जलसतह सतर्कता तहभन्दा तल छ।
कोशी जलाधारअन्तर्गत सप्तकोशी चतरा, तमोर माझीटार तथा त्रिवेणी, अरुण तुर्कीघाट तथा सिम्ले, सुनकोशी, तामाकोशी, लिखु र अन्य सहायक नदीहरूमा शुक्रबार जलसतह बढ्ने तथा केही स्थानमा सतर्कता तह पार गर्ने सम्भावना रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ।
शुक्रबार यी क्षेत्रमा जोखिमको स्तर मध्यम रहने र शनिबारदेखि नदीको बहाव सामान्य रूपमा घटबढ हुने पूर्वानुमान छ।
नारायणी र कालीगण्डकीमा विशेष सतर्कता
नारायणी बेसिनअन्तर्गत नारायणी देवघाट, त्रिशूली बेत्रावती, बूढीगण्डकी आरुघाट, मस्र्याङ्दी, सेती दमौलीलगायत नदीमा शुक्रबार र शनिबार जलसतह सतर्कता तह आसपास पुग्ने सम्भावना छ। नारायणी देवघाटमा आइतबारसम्म मध्यम जोखिम रहने अनुमान गरिएको छ।
बडीगाड रुद्रबेनी तथा कालीगण्डकी कुमालगाउँ क्षेत्रमा भने शुक्रबार र शनिबार उच्च जोखिम रहने पूर्वानुमान गरिएको छ। आइतबार जोखिम मध्यम हुने भए पनि शुक्रबार र शनिबार नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा उक्त क्षेत्र हुँदै यात्रा गर्नेहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
कर्णालीमा ११ र १२ गते उच्च जोखिम
कर्णाली चिसापानीमा शुक्रबार जोखिम सामान्य रहे पनि शनिबार मध्यम हुने तथा ११ र १२ गते नदीको बहाव उल्लेख्य बढेर उच्च जोखिम हुन सक्ने पूर्वानुमान गरिएको छ।
कर्णाली असारघाटमा शुक्रबारदेखि आइतबारसम्म मध्यम जोखिम रहने र नदीको बहाव बढ्ने अनुमान छ। ठूलीभेरी रिम्नामा शुक्रबार मध्यम जोखिम रहे पनि शनिबार र आइतबार बहाव उल्लेख्य बढ्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ।
पश्चिम क्षेत्रमा सेती दिपायलमा शुक्रबारदेखि आइतबारसम्म नदी सतर्कता तह आसपास पुग्न सक्ने र मध्यम जोखिम रहने अनुमान छ। महाकाली परिगाउँमा शुक्रबार बहाव उल्लेख्य बढ्ने तथा शनिबार र आइतबार मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ।
कन्काई, कमला र बागमतीमा पनि बहाव बढ्ने
कन्काई मैनाचुलीमा शुक्रबार उच्च जोखिम रहेको महाशाखाले जनाएको छ। शुक्रबार नदीको बहाव उल्लेख्य बढ्ने भए पनि शनिबारदेखि क्रमशः सामान्य अवस्थामा फर्किने अनुमान छ।
कमला नदी बेलसोतमा शुक्रबार मध्यम जोखिम रहने र बहाव उल्लेख्य बढ्ने सम्भावना छ। शनिबारदेखि भने बहाव सामान्य रूपमा घटबढ हुने पूर्वानुमान छ।
बागमती पधेरा दोभानमा शुक्रबार र शनिबार मध्यम जोखिम रहने तथा बहाव बढ्ने सम्भावना छ। बागमती खोकनामा शुक्रबार उच्च जोखिम रहेको र नदीको जलसतह सतर्कता तहभन्दा माथि पुगिसकेको महाशाखाले जनाएको छ। शनिबारदेखि भने बहाव सामान्य रूपमा घटबढ हुने अनुमान गरिएको छ।
पूर्वी राप्ती रजैयामा शुक्रबार र शनिबार मध्यम जोखिम रहने पूर्वानुमान छ। तिनाउ दोभान, बुटवल, बाणगंगा, बर्दघाट, पश्चिम राप्ती कुसुम तथा बबई चेपाङ क्षेत्रमा पनि शुक्रबार मध्यम जोखिम रहने र बहाव बढ्ने सम्भावना रहेको छ। ११ र १२ गते विशेष सतर्कता आवश्यक पर्ने तथा त्यसपछि बहाव क्रमशः सामान्य हुने पूर्वानुमान छ।
साना नदी तथा खोलामा आकस्मिक बहावको जोखिम
महाशाखाका अनुसार आगामी २४ घण्टामा देशभरका धेरै साना नदी तथा खोलामा आकस्मिक बहाव बढ्न सक्ने सम्भावना छ। अधिकांश क्षेत्रमा मध्यम जोखिम रहे पनि केही जिल्लामा उच्च जोखिम रहेको छ।
शुक्रबार बिहानदेखि शनिबार बिहानसम्म मुस्ताङ, मनाङ, कास्की, लमजुङ, गोरखा, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुर लगायत जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बहाव बढ्ने उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
प्रतिक्रिया 4