+
+
Shares

बाढीपछिको पुनर्निर्माण र द्विपक्षीय सहकार्यबारे न्युजिल्यान्ड सरकार र नेपाली अगुवाबीच छलफल

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते १४:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वेलिङटनमा भोटेकोशी बाढीपछि राहत, पुनर्निर्माण र द्विपक्षीय सहकार्यबारे न्युजिल्यान्डका अधिकारी र नेपाली समुदायका प्रतिनिधिबीच छलफल भएको छ।
  • न्युजिल्यान्डले विपद्लगत्तै दिएको सहायता नेपालसँगको विशेष द्विपक्षीय सम्बन्ध र प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीस्तरीय संवादको उपज भएको अधिकारीहरूले बताए।
  • बैठकमा शिक्षा, इन्जिनियरिङ र व्यापारमा सहकार्यका अवसर तथा विपद् व्यवस्थापनमा न्युजिल्यान्डको विशेषज्ञता नेपालका लागि उपयोगी हुन सक्ने विषयमा छलफल भएको छ।

९ असोज, वेलिङटन । भोटेकोशीमा आएको विनाशकारी बाढीपछिको राहत, पुनर्निर्माण र द्विपक्षीय सहकार्यका विषयमा न्युजिल्यान्डको परराष्ट्र तथा व्यापार मन्त्रालयका उच्च अधिकारी र त्यहाँस्थित नेपाली समुदायका प्रतिनिधिबीच वेलिङटनमा छलफल भएको छ।

शुक्रबार भएको भेटवार्तामा न्युजिल्यान्डका अधिकारीहरूले नेपाल र न्युजिल्यान्डबीचको विशेष द्विपक्षीय सम्बन्धको चर्चा गर्दै विपद्लगत्तै न्युजिल्यान्डले उपलब्ध गराएको सहायता सोही मित्रताको उपज भएको बताए। हालै दुई देशका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री स्तरमा भएको संवादले यो सौहार्दपूर्ण सम्बन्धलाई थप प्रस्ट पारेको मन्त्रालयका अधिकारीहरूको भनाइ छ।

बैठकमा पुनर्निर्माणको चरणमा दुई देशबीच हुन सक्ने सहकार्यका सम्भावित क्षेत्रहरूबारे छलफल भएको थियो। विपद् व्यवस्थापनमा न्युजिल्यान्डसँग रहेको विश्वस्तरीय ज्ञान र विशेषज्ञता नेपालका लागि उपयोगी हुन सक्ने र नेपालको आवश्यकताका आधारमा यस्तो सहयोग उपलब्ध गराउन सकिने विषयमा छलफल भएको छ।

यसका अतिरिक्त शिक्षा, इन्जिनियरिङ र व्यापारजस्ता प्रमुख क्षेत्रमा पारस्परिक सहकार्यका अवसरहरूबारे पनि छलफल भएको थियो। मन्त्रालयका अधिकारीहरूले दुई देशबीचको जनस्तरको सम्बन्ध प्रवर्द्धन गर्न नेपाली समुदायले खेलेको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गरेका थिए। नेपाली प्रतिनिधिहरूले पनि दुवै देश र जनताको साझा हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन आफूहरूको ऐक्यबद्धता रहेको बताए।

यसअघि न्युजिल्यान्डका परराष्ट्रमन्त्री विन्स्टन पिटर्स र जलवायु परिवर्तन मन्त्री साइमन वाट्सले बाढीको विपद्प्रति ऐक्यबद्धता जनाउँदै नेपाली टोलीलाई व्यक्तिगत रूपमा हस्ताक्षर गरिएको पत्रसमेत पठाएका थिए।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको तर्फबाट क्यान्टरबरी विश्वविद्यालय क्राइस्टचर्चका प्रा. डा. राजेश ढकाल, गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्यान्डका अध्यक्ष डा. अच्युत अर्याल, न्युजिल्यान्ड नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राज महर्जन र उपाध्यक्ष मन्दिरा रिमाल सहभागी थिए।

न्युजिल्यान्ड नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष महर्जनले नेपाली समुदाय र न्युजिल्यान्ड सरकारबीच यस तहमा भएको भेटवार्ताले दुई देशबीच व्यापार र व्यावसायिक हित प्रवर्द्धन गर्न फलदायी हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?