News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल र ओमानसँग हुने आईसीसी विश्वकप लिग २ शृङ्खलाका लागि क्यानडाले १५ सदस्यीय टोली घोषणा गरेको छ।
- टोलीको कप्तानी ३६ वर्षीय हम्जा तारिकले गर्नेछन् र श्रेयस मोभ्भा उपकप्तान छन्।
- यो शृङ्खला अंकतालिकामा महत्त्वपूर्ण छ, जहाँ ओमान ३१ अंकसहित चौथो, क्यानडा २५ अंकसहित छैटौं र नेपाल २४ अंकसहित सातौं स्थानमा छन्।
१० असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल र ओमानसँग हुने शृङ्खलाका लागि क्यानडाले १५ सदस्यीय टोली घोषणा गरेको छ । टोलीको कप्तानी ३६ वर्षीय हम्जा तारिकले गर्नेछन् भने श्रेयस मोभ्भा उपकप्तान छन् ।
हम्जा तारिकले ७ वर्षपछि क्यानडाको एकदिवसिय टोलीमा पुनरागमन गर्न लागेका हुन् । उनले सन् २०११ मा अफगानिस्तानविरुद्ध ओडीआई डेब्यू गरेका थिए भने पछिल्लोपटक सन् २०१४ मा नेदरल्यान्ड्सविरुद्ध ओडीआई खेलेका थिए ।
क्यानडाले सन् २०१४ मा ओडीआई मान्यता गुमाएपछि टोलीका ५० ओभरका खेलहरू लिस्ट ‘ए’ मान्यतामा खेलिएका थिए । हम्जाले क्यानडाका लागि पछिल्लोपटक सन् २०१९ को आईसीसी क्रिकेट विश्वकप च्यालेन्ज लिग ‘ए’ मा ५० ओभरको खेल खेलेका थिए ।
विकेटकिपर ब्याटर हम्जाले ७ ओडीआईमा ११६ रन बनाएका छन् भने लिस्ट ‘ए’ क्रिकेटमा ३६ खेल खेल्दै ५५८ रन जोडेका छन् ।
क्यानडाको टोलीमा हम्जासँगै श्रेयस मोभ्भा, युवराज समरा, आरोन जोन्सन, समित गोहिल, आदित्य वरदराजन, हर्ष ठाकर, अजयवीर हुन्डल, अखिल कुमार, सुखजिन्दर सिंह, शील पटेल, कलीम साना, जाहिद शिरजाद, शिवम शर्मा र दिलराज देओल रहेका छन् ।
दुई पूर्वकप्तान साद बिन जफर र निकोलस किर्टन भने टोलीमा समेटिएका छैनन् ।
यो शृङ्खला तीनै टोलीका लागि लिग–२ अंकतालिकाको दृष्टिले महत्त्वपूर्ण हुनेछ । हाल अंकतालिकामा ओमान २८ खेलमा ३१ अंकका साथ चौथो स्थानमा छ । क्यानडा ३२ खेलमा २५ अंकसहित छैटौं तथा नेपाल ३२ खेलमा २४ अंकसहित सातौं स्थानमा छ ।
प्रतिक्रिया 4