News Summary
Generated by OK AI. Editorially reviewed.- क्याप्सुल वार्डरोबले कम तर उपयोगी कपडा राखेर फरक–फरक तरिकाले लगाउन सकिने अवधारणा लोकप्रिय हुँदै गएको छ।
- दराजका कपडा नियमित, कहिलेकाहीँ प्रयोग हुने र नलगाइएका गरी छुट्याएर न्यूट्रल र सदाबहार डिजाइन प्राथमिकता दिन सुझाव दिइएको छ।
दराज खोल्दा कपडा राख्ने ठाउँ नै नपुग्ने गरी भरिएको हुन्छ । सर्ट, टी–सर्ट, जिन्स, कुर्ती, ज्याकेटदेखि विभिन्न डिजाइनका लुगासम्म सबैथोक हुन्छ । तर जब कतै बाहिर जानुपर्ने हुन्छ, त्यही बेला मनमा प्रश्न आउँछ– ‘आज के लगाउने ?’
धेरै कपडा भएर पनि यस्तो समस्या हुनु सामान्य हो । किनभने समस्या कपडाको संख्या धेरै वा कम हुनुमा मात्र हुँदैन । धेरैपटक हामीसँग भएका कपडा एकअर्कासँग मिल्दैनन्, कतिपय कपडा विशेष अवसरमा मात्र लगाइन्छन् र केही कपडा त महिनौँसम्म अलमारीमै थन्किएका हुन्छन् ।
यही समस्यालाई सहज बनाउन पछिल्लो समय ‘क्याप्सुल वार्डरोब’को अवधारणा लोकप्रिय हुँदै गएको छ । यसको मुख्य उद्देश्य धेरै कपडा जम्मा गर्नु होइन, कम तर उपयोगी कपडा राखेर तिनलाई फरक–फरक तरिकाले लगाउनु हो ।
के हो क्याप्सुल वार्डरोब ?
क्याप्सुल वार्डरोब भनेको आफ्नो दराजमा आवश्यक र आफूलाई सुहाउने सीमित कपडा मात्र राख्ने तरिका हो । यसमा यस्ता कपडा छनोट गरिन्छ, जुन एकअर्कासँग सजिलै मिलाएर लगाउन सकिन्छ र लामो समयसम्म प्रयोग गर्न सकिन्छ ।
यसका लागि निश्चित रूपमा यति नै कपडा हुनुपर्छ भन्ने नियम छैन । कसैको जीवनशैली र आवश्यकता अनुसार २०–३० वटा कपडा पर्याप्त हुन सक्छन् भने कसैलाई त्यसभन्दा बढी कपडा आवश्यक पर्न सक्छ।
मुख्य कुरा कपडाको संख्या होइन, ती कपडा कति प्रयोग हुन्छन् र कति फरक तरिकाले लगाउन सकिन्छ भन्ने हो । उदाहरणका लागि एउटा सेतो सर्टलाई जिन्ससँग लगाउँदा सामान्य क्याजुअल लुक बनाउन सकिन्छ । त्यही सर्टलाई कालो ट्राउजर र ब्लेजरसँग लगाउँदा अफिस वा औपचारिक लुक बनाउन सकिन्छ । यसरी एउटै कपडाबाट पनि फरक–फरक लुक तयार गर्न सकिन्छ ।
क्याप्सुल वार्डरोबमा कस्ता कपडा राख्ने ?
क्याप्सुल वार्डरोब बनाउँदा आफ्नो दैनिक जीवनशैलीलाई पहिलो प्राथमिकता दिनुपर्छ । अफिस जानुहुन्छ भने अफिसमा लगाउने कपडा बढी आवश्यक हुन सक्छ । घरबाट काम गर्नुहुन्छ भने आरामदायी कपडालाई प्राथमिकता दिन सकिन्छ । त्यसैगरी कलेज जाने, धेरै यात्रा गर्ने वा नियमित कार्यक्रमहरूमा सहभागी हुने व्यक्तिको आवश्यकता पनि फरक हुन्छ ।
सामान्यतया वार्डरोबमा केही आधारभूत कपडा राख्न सकिन्छ । जस्तै– राम्रो फिटिङ भएको जिन्स, कालो वा अन्य न्यूट्रल रङको ट्राउजर, सादा टी–सर्ट, सेतो सर्ट, कुर्ती, हल्का ज्याकेट वा ब्लेजर र आफूलाई सहज लाग्ने जुत्ता ।
यसबाहेक मौसमअनुसार स्वेटर, कोट, स्कार्फ वा अन्य आवश्यक कपडा थप्न सकिन्छ ।
सबैभन्दा पहिले दराजको छाँटकाँट गर्ने
क्याप्सुल वार्डरोब बनाउन नयाँ कपडा किन्नुअघि पुरानो कपडा हेर्नु सबैभन्दा राम्रो उपाय हो । दराजमा भएका सबै कपडा बाहिर निकालेर तीन भागमा छुट्याउन सकिन्छ ।
पहिलो– नियमित रूपमा लगाउने कपडा । दोस्रो—कहिलेकाहीँ मात्र लगाउने तर आवश्यक कपडा । तेस्रो—लामो समयदेखि नलगाएका वा अब आफूलाई नमिल्ने कपडा ।
आकार नमिल्ने, बिग्रिएको, रङ खुइलिएको वा आफूलाई मन नपर्ने कपडा छुट्याउनुपर्छ । लामो समयदेखि नलगाएको कपडा पनि किन नलगाएको हो भनेर सोच्नुपर्छ । यदि त्यसको कुनै उपयोग छैन भने ठाउँ ओगटेर राखिरहनुको अर्थ हुँदैन ।
तर भावनात्मक सम्बन्ध भएका कपडा वा विशेष अवसरमा मात्र लगाउने कपडा भने छुट्टै राख्न सकिन्छ । क्याप्सुल वार्डरोब बनाउनुको अर्थ आफूलाई मन पर्ने सबै कपडा फाल्नु होइन ।
न्यूट्रल रङलाई प्राथमिकता दिने
क्याप्सुल वार्डरोबमा कपडाको रङ पनि महत्वपूर्ण हुन्छ । कालो, सेतो, खैरो, नेभी ब्लु, बेज र क्रिमजस्ता न्यूट्रल रङलाई धेरैसँग मिलाउन सकिन्छ । उदाहरणका लागि सेतो सर्ट जिन्स, कालो ट्राउजर वा स्कर्टसँग सजिलै मिल्छ । कालो पाइन्टलाई सेतो, क्रिम, बेज वा अन्य धेरै रङका टपसँग लगाउन सकिन्छ ।
तर यसको अर्थ सबै कपडा सेतो, कालो वा खैरो मात्र हुनुपर्छ भन्ने होइन। आफ्नो मनपर्ने रङ पनि राख्न सकिन्छ । बरु न्यूट्रल कपडासँग मिल्ने गरी केही आकर्षक रङका कपडा वा एक्सेसरीज राख्दा लुक अझ राम्रो देखिन सक्छ ।
सदाबहार डिजाइन छनोट गर्ने
फेसनमा हरेक वर्ष नयाँ डिजाइन आउँछन् । तर सबै ट्रेन्ड लामो समय टिक्दैनन् । त्यसैले क्याप्सुल वार्डरोबमा अत्यधिक ट्रेन्डमा आधारित कपडाभन्दा साधारण र सदाबहार डिजाइनका कपडा उपयोगी हुन्छन् । जस्तै– सेतो सर्ट, ब्लु जिन्स, कालो ट्राउजर, सादा टी–सर्ट, साधारण कुर्ती, ब्लेजर वा हल्का ज्याकेटजस्ता कपडा धेरै समयसम्म प्रयोग गर्न सकिन्छ ।
यस्ता कपडालाई फरक जुत्ता, झोला, गहना वा स्कार्फसँग मिलाएर नयाँ लुक दिन सकिन्छ । एउटा कपडालाई धेरै तरिकाले लगाउन सकिन्छ कि सकिँदैन भनेर हेर्नुपर्छ ।
क्याप्सुल वार्डरोब बनाउन कपडा किन्दा एउटा प्रश्न आफैँलाई सोध्न सकिन्छ ‘यो कपडा मसँग भएका अरू कम्तीमा तीनवटा कपडासँग मिलाएर लगाउन सक्छु ?’
यदि एउटा टप केवल एउटा पाइन्टसँग मात्र मिल्छ भने त्यसको प्रयोग सीमित हुन सक्छ । तर एउटा टप जिन्स, ट्राउजर, स्कर्ट वा अन्य बटमसँग मिल्छ भने त्यो क्याप्सुल वार्डरोबका लागि बढी उपयोगी हुन्छ । यसरी कपडा किन्नुअघि नै सम्भावित संयोजन सोच्ने हो भने अनावश्यक किनमेल पनि कम हुन्छ ।
एक्सेसरीजले पनि फरक लुक दिन सक्छ
कम कपडा भएको भन्दै हरेक दिन एउटै देखिनुपर्छ भन्ने हुँदैन । सानो परिवर्तनले पनि पूरै लुक फरक बनाउन सक्छ । उदाहरणका लागि एउटै सर्ट र जिन्सलाई एक दिन स्निकर्ससँग लगाउन सकिन्छ । अर्को दिन त्यही कपडासँग लोफर, घडी, झोला वा स्कार्फ प्रयोग गर्न सकिन्छ ।
महिलाहरूले साधारण कपडासँग फरक गहना, झोला, स्कार्फ वा जुत्ता प्रयोग गरेर पनि लुक परिवर्तन गर्न सक्छन् । त्यसैले क्याप्सुल वार्डरोबमा कपडा मात्र होइन, जुत्ता, झोला र अन्य एक्सेसरीज पनि एकअर्कासँग मिल्ने गरी छनोट गर्नु उपयोगी हुन्छ ।
मौसमअनुसार कपडा व्यवस्थापन गर्ने
सबै मौसमका कपडा एकैपटक दराजमा राखिरहन आवश्यक हुँदैन । गर्मीमा बाक्ला ज्याकेट र स्वेटरलाई छुट्टै राख्न सकिन्छ । जाडोमा भने आवश्यक कपडालाई अगाडि ल्याउन सकिन्छ । यसरी मौसमअनुसार कपडा परिवर्तन गर्दा दराज पनि व्यवस्थित हुन्छ र आफूलाई चाहिएको कपडा सजिलै भेटिन्छ ।
संख्या भन्दा गुणस्तरमा ध्यान दिने
क्याप्सुल वार्डरोबको अर्को महत्वपूर्ण पक्ष भनेको कम तर राम्रो गुणस्तरका कपडा राख्नु हो । सस्तो भएकै कारण धेरै कपडा किन्नुभन्दा आफूलाई लामो समयसम्म उपयोगी हुने कपडा छनोट गर्नु राम्रो हुन्छ । राम्रो कपडा किन्दा कपडाको गुणस्तर, सिलाइ, फिटिङ, धुन मिल्ने तरिका र टिकाउपनलाई ध्यान दिनुपर्छ । तर महँगो कपडा नै राम्रो हुन्छ भन्ने पनि होइन । आफ्नो बजेटभित्र गुणस्तरीय र धेरैपटक लगाउन मिल्ने कपडा छनोट गर्नु महत्वपूर्ण हो ।
क्याप्सुल वार्डरोबका फाइदा
१.समय बचत हुन्छ
दराजमा सीमित र एकअर्कासँग मिल्ने कपडा भएपछि के लगाउने भनेर धेरै समय सोचिरहनुपर्दैन । कपडा छनोट गर्न सजिलो हुन्छ ।
२.अनावश्यक खर्च घट्छ
दराजमा पहिल्यै आवश्यक कपडा छन् भन्ने थाहा भएपछि नयाँ कपडा देख्नेबित्तिकै किनिहाल्ने बानी कम हुन सक्छ । यसले पैसा बचाउन सहयोग गर्छ ।
३.दराज व्यवस्थित हुन्छ
कम कपडा भएपछि दराज सफा र व्यवस्थित राख्न सजलो हुन्छ । आफूले खोजेको कपडा पनि छिटो भेटिन्छ ।
४.एउटै कपडाबाट धेरै लुक बनाउन सकिन्छ
कपडाको सही संयोजन गर्न जानियो भने कम कपडाबाट पनि धेरै फरक लुक तयार गर्न सकिन्छ । यसका लागि कपडा, जुत्ता, झोला र एक्सेसरीजमा सानो परिवर्तन गरे पुग्छ ।
५.किनमेलको बानीमा पनि परिवर्तन आउँछ
क्याप्सुल वार्डरोबले ‘मन पर्यो, किनिहालौँ’ भन्दा ‘मलाई वास्तवमै यो कपडा चाहिएको छ कि छैन ?’ भनेर सोचेर किनमेल गर्ने बानी विकास गर्न सक्छ ।
६.कपडाको अनावश्यक प्रयोग घटाउन सहयोग गर्छ
कम तर धेरैपटक लगाउन सकिने कपडा छनोट गर्दा बारम्बार नयाँ कपडा किन्ने आवश्यकता कम हुन्छ । यसले व्यक्तिगत खर्चसँगै कपडाको अनावश्यक उपभोग घटाउन पनि सहयोग गर्न सक्छ ।
क्याप्सुल वार्डरोब बनाउँदा के कुरामा ध्यान दिने ?
सबैका लागि एउटै प्रकारको क्याप्सुल वार्डरोब उपयुक्त हुँदैन । अरूले २० वटा कपडामै आफ्नो वार्डरोब तयार गरेका छन् भन्दैमा आफूले पनि त्यति नै कपडामा सीमित हुनुपर्छ भन्ने छैन । कपडा छनोट गर्दा आफ्नो काम, जीवनशैली, मौसम, शरीरलाई सहज हुने कपडा, बजेट र व्यक्तिगत रुचिलाई ध्यान दिनुपर्छ ।
त्यस्तै, केवल ‘फेसनमा छ’ भनेर आफूलाई असहज हुने कपडा राख्नु पनि आवश्यक छैन । क्याप्सुल वार्डरोबको उद्देश्य अरूको स्टाइल पछ्याउनु होइन, आफूलाई सहज, व्यवस्थित र आत्मविश्वासी महसुस हुने कपडा छनोट गर्नु हो ।
प्रतिक्रिया 4