+
२०औं एसियन गेम्स :

श्रीलंकासँग एसियन गेम्समै १६ वर्षपछि खेल्दै नेपाल

२०८३ असोज  १२ गते १२:४८ २०८३ असोज १२ गते १२:४८

नेपाल र श्रीलंका एसियन गेम्सकै मञ्चमा १६ वर्षपछि आमनेसामने हुँदै छन् । सन् २०१० एसियन गेम्सको क्वाटरफाइनलमा नेपाल पराजित भएको थियो । तर त्यो खेललाई टी–२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त थिएन ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले मंगलबार २०औं एसियन गेम्सको पुरुष क्रिकेट क्वाटरफाइनलमा श्रीलंकासँग खेल्दै सेमिफाइनल पुग्ने प्रयास गर्नेछ।
  • नेपाल र श्रीलंकाबीच एसियन गेम्समा १६ वर्षपछि भेट हुँदैछ, र यो पहिलो आधिकारिक टी-२० अन्तर्राष्ट्रिय भिडन्त हुने सम्भावना छ।
  • जापानमा लगातार वर्षा भइरहेकाले खेल रद्द भए श्रीलंका सेमिफाइनल पुग्नेछ र नेपालको यात्रा क्वाटरफाइनलमै टुंगिनेछ।

१२ असोज, काठमाडौं । नेपाली क्रिकेट फेरि एक ऐतिहासिक क्षणको संघारमा उभिएको छ । २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेट क्वाटरफाइनलमा नेपालले मंगलबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

यो केवल सेमिफाइनल प्रवेशको खेल मात्र होइन, डेढ दशकदेखि अधुरो रहँदै आएको एउटा प्रतिद्वन्द्विताको नयाँ अध्याय पनि हो । नेपाल र श्रीलंका एसियन गेम्सकै मञ्चमा १६ वर्षपछि आमनेसामने हुँदै छन् ।

सन् २०१० ग्वाङ्झाउ एसियन गेम्सको क्वाटरफाइनलमा नेपाल २ विकेटले पराजित भएको थियो । तर त्यो खेललाई टी–२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त थिएन ।

नेपाल र श्रीलंकाबीच यसअघि टी–२० अन्तर्राष्ट्रिय खेल भने कहिल्यै भएको छैन । सन् २०२४ को आईसीसी टी–२० विश्वकपमा दुवै टोलीबीच पहिलो टी–२०आई हुने तय भए पनि वर्षाका कारण टस पनि नभइकन खेल रद्द भएको थियो ।

त्यसैले मंगलबारको खेल हुन सकेमा नेपाल र श्रीलंकाबीचको पहिलो आधिकारिक टी–२० अन्तर्राष्ट्रिय भिडन्त हुनेछ ।

सन् २०१० को एसियन गेम्स क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग नै पराजित भएर बाहिरिएको थियो । उक्त खेलमा नेपाल ७२ रनमा अलआउट भएपनि बलिङमा राम्रो प्रदर्शन गरेको थियो । तर श्रीलंकाले ८ विकेटको क्षतिमा ७३ रनको लक्ष्य पूरा गरेको थियो ।

यसपटक फेरि नेपाल क्वाटरफाइनलबाट अगाढि बढेर नयाँ इतिहास रच्ने लक्ष्यसहित श्रीलंकासँगै आमनेसामने हुँदैछ ।

कप्तान दीपेन्द्रसिंह ऐरीले यसपटक मेडल जित्नेगरी टिमबाट सबै खेलाडीले शतप्रतिशत योगदान दिइरहेको बताएका छन् । नेपालले हालसम्म राम्रो प्रदर्शन पनि गरेको छ ।

तर नेपालको पदक जित्ने सपनामा यसपटक श्रीलंकाबाट मात्र नभएर वर्षाको पनि डर रहेको छ । जापानमा पछिल्ला केही दिन लगातारजसो वर्षा भइरहेको छ, वर्षाले खेलहरू रद्द पनि भइरहेका छन् ।

नेपाल र श्रीलंकाबीचको खेलमा पनि वर्षा बाधक बनेमा श्रीलंका अगाडि बढ्नेछ ।

इतिहास बदल्ने मौका

एसियन गेम्स क्रिकेटमा नेपाल कहिल्यै क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको छैन । सन् २०१० मा श्रीलंका, २०१४ मा अफगानिस्तान र २०२२ (२०२३) मा भारतसँग पराजित हुँदै नेपालको यात्रा अन्तिम आठमै टुंगिएको थियो ।

यसपटक भने नेपाल समूह ‘ए’ को विजेता बनेर क्वाटरफाइनल पुगेको हो । समूह चरणमा अफगानिस्तानलाई हराएको नेपालले जापानसँगको खेल वर्षाका कारण नतिजाविहीन भएपछि शीर्ष स्थान सुरक्षित गरेको थियो ।

यदि नेपालले श्रीलंकालाई पराजित गर्यो भने एसियन गेम्स क्रिकेटमा पहिलोपटक सेमिफाइनल पुग्नेछ । सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी भारत हुनेछ ।

त्यसकारण नेपाललाई श्रीलंकासँग एसियन गेम्समा बेहोरेको हारको बदलासँगै पहिलोपटक सेमिफाइनलमा पुग्ने अवसर समेत छ ।

गत संस्करण नेपाल क्वाटरफाइनलमा भारतसँग खेलेको थियो । नेपाल पराजित भएर बाहिरिएको थियो । यसपटक भने नेपाल र भारतको भेट फाइनल प्रवेशका लागि हुन सक्छ ।

फेरि वर्षाकै डर

मंगलबारको खेलअघि मौसम पनि चर्चाको विषय बनेको छ । सोमबार एसियन गेम्सका दुवै क्वाटरफाइनल वर्षाकै कारण हुन सकेनन् । खेल सञ्चालन हुन नसकेपछि वरीयताका आधारमा भारत र पाकिस्तान सेमिफाइनलमा प्रवेश गर्दा अफगानिस्तान र हङकङको यात्रा समाप्त भयो  ।

त्यसैले नेपाल–श्रीलंका क्वाटरफाइनलमा पनि वर्षाले खेल हुन नदिए नेपालको यात्रा यही चरणमा टुंगिनेछ । उच्च वरीयतामा रहेको श्रीलंका स्वतः सेमिफाइनलमा पुग्नेछ भने नेपाल अर्को ऐतिहासिक अवसर गुमाउन बाध्य हुनेछ ।

सन् २०२४ मा पहिलोपटक श्रीलंकासँग टी-२०आई खेल्ने अवसर प्राप्त हुँदा पनि वर्षाका कारण खेल सम्भव भएको थिएन । यसपटक श्रीलंकासँग खेल्ने अर्को अवसर प्राप्त हुँदा पनि डर वर्षाकै रहेको छ ।

यसपटक नेपाली समर्थकको चाहना एउटै छ- दुई वर्षअघि वर्षाले रोकिएको भेट यसपालि मैदानमा पूरा होस्, र नेपालले क्वाटरफाइनलको इतिहास पनि बदलोस् ।

टिम र सम्भावित ११

श्रीलंकाको सिनियर टिम हाल इंग्ल्यान्डसँगको टी-२०आई र ओडीआई शृङ्खलाका लागि इंग्ल्यान्ड भ्रमणमा छ । त्यसकारण एसियन गेम्समा श्रीलंकाले दोस्रो रोजाइको टोली पठाएको छ ।

यद्यपी श्रीलंकाको टोलीमा राष्ट्रिय टोलीको अनुभव भएकै खेलाडीहरू छन् । कप्तानमा सहान अराचिगे छन् भने सिनियर टिमबाट खेलिसकेका निरोशन डिक्वेला, आशेन बान्दरा, नुवान थुसारा, चमिका करुणारत्ने, बिनुरा फर्नान्डो, दुशान हेमन्थाजस्ता खेलाडी श्रीलंकाको टोलीमा छन् ।

यता नेपालले भने एसियन गेम्सका लागि ओडीआई खेलेर आएका खेलाडीसहितको मिश्रित टोली लिएर जापान पुगेको छ । नेपालले दुई खेल खेलि पनि सकेको छ । नेपाललाई कन्डिशनबारे जानकारी भइसकेको छ ।

श्रीलंकाको सम्भावित ११ : सहान अराचिगे (कप्तान), निरोशन डिक्वेला, सिनेथ जयवर्धने, लसिथ क्रसपुल, आशेन बान्दरा, कन्चना डे लिभेरा, चमिका करुणारत्ने, बिनुरा फर्नान्डो, नुवान थुसारा, प्रमोद मदुशन, विजयकान्त वियाकान्त

नेपालको सम्भवित ११ : दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्शन झा, रोहित पौडेल, लोकेश बम, सन्दीप लामिछाने, सोमपाल कामी, शेर मल्ल, ललित राजवंशी

***

खेल : श्रीलंका भर्सेस् नेपाल, एसियन गेम्स क्वाटरफाइनल
मिति र समय : १३ असोज, बिहान ५:४५ बजेदेखि
स्थान : कोरोगी स्पोर्ट्स पार्क, निशिन
मौसम : वर्षाको सम्भावना

२०औं एसियन गेम्स एसियन गेम्स पुरुष क्रिकेट नेपाली क्रिकेट टोली
लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय