News Summary
Generated by OK AI. Editorially reviewed.- २०औं एसियन गेम्सको पुरुष क्रिकेट क्वाटरफाइनलमा नेपालले मंगलबार श्रीलंकासँग बिहान पौने ६ बजे कोरोगी स्पोर्ट्स पार्कमा खेल्ने तालिका छ ।
- जापानको निशिनमा दिनभर वर्षाको पूर्वानुमान रहेकाले नेपाल–श्रीलंका खेल सुरु नहुने र रद्द हुने सम्भावना उच्च छ ।
- खेल रद्द भए उच्च वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा पुग्नेछ, सोमबारका दुवै क्वाटरफाइनल पनि वर्षाले रद्द भएका थिए ।
१२ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले मंगलबार श्रीलंकासँग खेल्दै छ ।
नेपाल र श्रीलंकाबीचको क्वाटरफाइनल खेल बिहान पौने ६ बजेदेखि कोरोगी स्पोर्ट्स पार्कमा सुरु हुने तालिका छ । तर खेल समयमा सुरु नहुने उच्च सम्भावना छ ।
जापानको आइची, निशिनमा हुने खेलमा वर्षा बाधक बन्ने देखिएको हो । वर्षाले खेल नै रद्द हुने सम्भावना पनि उच्च छ ।
मंगलबार निशिनमा दिनभर वर्षा हुने पूर्वानुमान छ । खेल हुने भनिएको अधिकांश समय ८० देखि ९० प्रतिशत वर्षाको सम्भावना देखिन्छ ।
यो पूर्वानुमानको आधा मात्र मिलेको अवस्थामा पनि वर्षा हुने पक्का देखिन्छ । जसका कारण नेपाल र श्रीलंकाबीचको खेल नै बिथोलिनेछ ।
यदि नेपाल र श्रीलंकाबीचको खेल नभएमा उच्च वरीयताका आधारमा श्रीलंका अगाडि बढ्नेछ ।
यसअघि सोमबारलाई तय भएका दुवै क्वाटरफाइनल खेल पनि वर्षाले रद्द भए । भारत र अफगानिस्तान तथा पाकिस्तान र हङकङबीच हुने तय रहेको क्वाटरफाइनल वर्षाका कारण रद्द भएको हो ।
त्यसपछि भारत र पाकिस्तान वरीयताका आधारमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया 4