+
+
Shares

देउवा समूहको महाधिवेशन : वडादेखि केन्द्रसम्म ‘जेनजी’ सँगै ४० मुनिका युवा पनि अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १५:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको संस्थापतइतर समूहले १५ औं महाधिवेशनका लागि सबै तहका कार्यसमितिमा १८ देखि २८ वर्षका र ४० वर्षमुनिका युवाको प्रतिनिधित्व अनिवार्य गरेको छ।
  • निर्वाचन निर्देशिकाअनुसार वडादेखि केन्द्रीय तहसम्म महिला, पेशाकर्मी, श्रमिक, बुद्धिजीवी, उद्योगी–व्यवसायी, लैङ्गिक अल्पसंख्यक, पिछडिएको क्षेत्र र दलित महिलाको समावेशीकरण पनि गरिने छ।
  • इतर समूहले १५ असोजमा वडा अधिवेशन गर्ने र २१–२३ मंसिरमा काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका ल्याएको छ।

१२ असोज, काठमाडौं । नेपाली कांग्रेसको संस्थापतइतर समूहले सबै तहका कार्यसमितिहरूमा नवयुवा (जेनजी)सँगै ४० वर्षमुनिका युवाको प्रतिनिधित्व अनिवार्य गर्ने व्यवस्था गरेको छ ।

समानान्तर रुपमा हुन गइरहेको १५ औं महाधिवेशनका लागि गठन भएको केन्द्रीय निर्वाचन समितिले तयार गरेको निर्वाचन निर्देशिकामा सबै तहका कार्यसमितिहरूमा उक्त व्यवस्था अनिवार्य गरिएको छ ।

निर्देशिकाअनुसार १५ औं महाधिवेशनअन्तर्गत चयन हुने वडादेखि केन्द्रीय कार्यसमितिहरूमा १८ देखि २८ वर्षसम्मका एक महिलासहित दुई युवासँगै ४० वर्षमुनिका एक महिलासहित कम्तीमा दुई जना युवाको प्रतिनिधित्व अनिवार्य हुने भएको छ ।

‘सबै तहका कार्यसमितिहरूमा १८ देखि २८ वर्षसम्मको एक महिलासहित दुई जना र कम्तिमा ४० वर्षमुनिका युवा एक महिलासहित कम्तीमा दुई जना अनिवार्य रुपमा समावेश गरिनुपर्ने,’ निर्वाचन निर्देशिकमा उल्लेख गरिएको छ ।

समानान्तर महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीका ६ वटै तहमा नवयुवा (जेनजी)को प्रतिनिधित्व गराउने भएको छ ।

१५ औं महाधिवेशनका लागि गठन गरिएको एकराज पोख्रेल संयोजकत्वको केन्द्रीय निर्वाचन समितिले तयार गर्न लागेको ‘१५ औं महाधिवेशन निर्वाचन निर्देशिका’ मा केन्द्रदेखि वडासम्मका कार्यसमितिहरूमा उक्त व्यवस्था गरिएको छ ।

निर्वाचन निर्देशिकामा सबै तहका कार्यसमितिहरूमा १८ देखि २८ वर्षसम्म उम्मेर समूहका महिला र पुरूष एक–एक जनालाई अनिवार्य रुपमा समावेश गर्नुपर्ने प्रावधान राखिएको छ ।

कांग्रेसको विधानमा केन्द्रीय, प्रदेश, जिल्ला, प्रदेशसभा, प्रतिनिधिसभा, गाउँ–नगर, वडा र टोल गरी आठ तहका कार्यसमितिहरू गठन हुने व्यवस्था छ । कांग्रेसमा मौजुदा अवस्थामा टोलबाहेक सात तहका कार्यसमितिहरू छन् ।

१५ असोजबाट सुरू हुने भनिएको वडा अधिवेशनले क्षेत्रीय प्रतिनिधि छनोट गर्दा एक महिला र एक पुरूष १८ वर्षदेखि २८ वर्षसम्मको नवयुवा थप गर्ने र कम्तीमा ४० वर्षमुनिका युवा एक महिलासहित कम्तीमा दुई जना अनिवार्य क्षेत्रीय प्रतिनिधिमा समावेश गरिनुपर्ने निर्देशिकामा उल्लेख छ ।

प्रदेश सभा अधिवेशनले प्रदेश अधिवेशन प्रतिनिधिमा साविकमा भएको व्यवस्थामा १८ देखि २८ वर्षसम्मको एक महिलासहित दुई जना थप गर्ने र कम्तीमा ४० वर्षमुनिका युवा एक महिलासहित दुई जना अनिवार्य प्रदेश सभा अधिवेशन प्रतिनिधिमा समावेश गरिनुपर्ने पनि निर्देशिकमा लेखिएको छ ।

क्षेत्रीय अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधि छनौट गर्दा साविकमा भएको व्यवस्थामा १८ देखि २८ वर्षसम्मको एक महिलासहित दुई जना थप गर्ने र कम्तिमा ४० वर्षमुनिका युवा एक महिलासहित दुई जना अनिवार्य केन्द्रीय महाधिवेशन प्रतिनिधिमा समावेश गरिनुपर्ने भनिएको छ ।

पार्टीका सबै तहमा समावेशीतर्फ महिला, पेशाकर्मी, श्रमिक, बुद्धिजीवी, उद्योगी– व्यवसायी, लैङ्गिक अल्पसंख्यक, पिछडिएको क्षेत्र, दलित महिलालाई समावेश गरिने समेत निर्देशिकमा उल्लेख छ ।

१४ औं महाधिवेशनबाट निर्वाचित भएको कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै पूर्वसभापति शेरबहादुर देउवाको समूहले जारी कांग्रेसको महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन ।

उक्त समूहले २१–२३ मंसिरमा केन्द्रीय महाधिवेशन काठमाडौंमा गर्ने गरी कार्यतालिका ल्याएको छ । चुनदेवी सम्पर्क कार्यालयका अनुसार इतर समूहले १५ असोजमा देशभरका वडाहरूमा वडा अधिवेशन गर्दैछ ।

१५ औं महाधिवेशनका लागि इतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ‘१५ औं केन्द्रीय महाधिवेशन तयारी समिति’ गठन गरेको छ । समितिले ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि र ५५ जिल्लामा संयोजकहरू तोकेर महाधिवेशनको तयारी गरिरहेको छ ।

इतर समूहले वडा अधिवेशन गरेको भोलिपल्ट (१६ असोज) मा कांग्रेस संस्थापन पक्षको केन्द्रीय महाधिवेशन काठमाडौंमै हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?