News Summary
Generated by OK AI. Editorially reviewed.- बंगालको खाडीको उत्तरपूर्वी हिस्सामा रहेको न्यूनचापीय प्रणाली १४ किलोमिटर प्रतिघण्टाले उत्तर-उत्तरपश्चिमतर्फ सर्दै म्यानमारको तटीय क्षेत्रतर्फ उन्मुख भएको छ।
- भारतीय मौसम विभागले यो प्रणाली आज साँझ वा राति यांगुन र क्याइकतोबीचको म्यानमार तटीय क्षेत्रबाट स्थलभागमा प्रवेश गर्ने सम्भावना रहेको जनाएको छ।
- मौसमविद् डेभिड ढकालले नयाँ प्रणालीले नेपालमा असर नगर्ने र म्यानमारकै क्षेत्रमा प्रभाव पार्ने बताएका छन्।
१२ असोज, काठमाडौं । बंगालको खाडीको उत्तरपूर्वी हिस्सा अण्डमान सागर तथा आसपासको म्यानमार तटमा रहेको न्यूनचापीय प्रणाली पछिल्लो तीन घण्टामा १४ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तर-उत्तरपश्चिमतर्फ सर्दै गएको छ ।
भारतीय मौसम विभागका अनुसार सोमबार बिहान ८ः३० बजे उक्त प्रणाली १५.९ डिग्री उत्तरी अक्षांश र ९७.४ डिग्री पूर्वी देशान्तरमा केन्द्रित थियो । यो म्यानमारको मावलामाइनबाट करिब ७० किलोमिटर दक्षिण-दक्षिणपश्चिम, यांगुनबाट १६० किलोमिटर दक्षिणपूर्व र बागोबाट १८० किलोमिटर दक्षिण-दक्षिणपूर्वमा रहेको छ ।
मौसम प्रणाली ‘डिप डिप्रेसन’ (गहिरो न्यूनचापीय क्षेत्र) मा विकसित हुने सम्भावना रहेको विभागले जनाएको छ । यो प्रणाली आज (सेप्टेम्बर २८) साँझ वा राति यांगुन र क्याइकतोबीचको म्यानमारको तटीय क्षेत्रबाट स्थलभागमा प्रवेश गर्ने सम्भावना छ ।
त्यसपछि प्रणाली आगामी दुई दिन उत्तर-उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै म्यानमारको तटसँगै तथा तटीय क्षेत्र हुँदै उत्तरपूर्वी बंगालको खाडी र आसपासको बंगलादेशतर्फ जाने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।
हाल उक्त प्रणाली कोको द्वीपबाट करिब ४८० किलोमिटर पूर्व-उत्तरपूर्व तथा भारतको अण्डमान द्वीपसमूहअन्तर्गत मायाबन्दरबाट करिब ५९० किलोमिटर उत्तरपूर्वमा रहेको भारतीय मौसम विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
मौसम विज्ञान विभागका मौसमविद् के भन्छन् ?
हालै बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीका कारण चार दिन लगातार नेपालभर वर्षासँगै बाढीपहिरो आउँदा जनधनको क्षति भएको थियो ।
बंगालको खाडीकै हिस्सा अन्डमान क्षेत्रभित्र अर्को गहिरो न्यूनचापीय प्रणाली विकसित भएपछि कतिपयलाई यसले नेपालमा असर गर्ला कि नगर्ला भन्ने चासो छ ।
तर नेपालको मौसम विज्ञान विभागका मौसमविदले नयाँ प्रणालीले नेपाललाई असर नगर्ने बताएका छन् । मौसमविद डेभिड ढकालले अनलाइनखबरसँग भने, ‘म्यानमारमा रहेको प्रणाली पूर्वतिर सर्दैछ, तर हामी पश्चिममा भएकाले त्यसले नेपालमा असर गर्दैन ।’ उनका अनुसार यो प्रणालीले म्यानमारकै क्षेत्रमा असर गर्ने सम्भावना छ ।
नेपालमा असोज ८ गतेदेखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षा गराएको न्यूनचापीय प्रणाली हाल भारतको उत्तरप्रदेशमा कमजोर अवस्थामा रहेकाले त्यसले अब नेपालमा असर नगर्ने मौसमविद ढकालले बताए ।
प्रतिक्रिया 4