+
+
Shares

नेतन्याहुले यूएईका राष्ट्रपतिलाई गोप्य भेटेको पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते ५:५५

१३ असोज, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानसँग गोप्य रुपमा भेटेको पुष्टि भएको छ ।

यूएईको सरकारी समाचार संस्था एमिरेट्स न्युज एजेन्सी (डब्लूएएम)ले नेतन्याहु र राष्ट्रपति नाह्यानबीच सोमबार भेटवार्ता भएको पुष्टि गरेको हो ।

नेतन्याहुले सप्ताहन्तमा यूएईको राजधानी अबुधाबीको गोप्य भ्रमण गरेका थिए । डब्लूएएमका अनुसार भेटका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध तथा त्यसलाई थप सुदृढ र विकसित गर्ने उपायबारे छलफल भएको थियो ।

इजरायली सञ्चारमाध्यमहरूले यसअघि नै नेतन्याहुको यूएई भ्रमणबारे समाचार सार्वजनिक गरेका थिए । तर यूएईबाट पुष्टि भएको थिएन ।

यो भ्रमण इजरायलमा आगामी अक्टोबरमा हुने भनिएको संसदीय निर्वाचनभन्दा करिब एक महिनाअघि भएको हो ।

साथै, सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणअघि यूएईका राष्ट्रपति नाह्यानले नेतन्याहुलाई सम्भावित ठूलो आक्रमणबारे चेतावनी दिएको दाबी सार्वजनिक भइरहेका बेला उनको यूएई भ्रमण भएको हो ।

नेतन्याहुको पछिल्लो यूएई भ्रमणबारे इजरायली च्यानल–१२ ले पहिलोपटक समाचार सार्वजनिक गरेको अलजजिराले जनाएको छ ।

सोमबार इजरायली गुप्तचर निकाय शिन बेटले नेतन्याहुको भ्रमणसम्बन्धी समाचारले प्रधानमन्त्रीको सुरक्षामा जोखिम बढाएको र आफ्नो सञ्चालनसम्बन्धी संवेदनशील विधि सार्वजनिक भएको भन्दै इजरायली सैन्य सेन्सरसमक्ष उजुरी दिएको एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ ।

आक्रमणअघि चेतावनी दिएको दाबी

इजरायली अखबार हारेत्जले सेप्टेम्बर ९ मा प्रकाशित गरेको समाचारमा यूएकईका राष्ट्रपति नाह्यानले अक्टोबर ७ को आक्रमणभन्दा करिब १० दिनअघि नेतन्याहुसँग फोनमा कुराकानी गरेको दाबी गरेको थियो ।

समाचारअनुसार तत्कालीन हमास नेता याह्या सिनवारले ‘ठूलो आश्चर्य’को तयारी गरिरहेको बताएको भन्दै नाह्यानले नेतन्याहुलाई सम्भावित खतराबारे सचेत गराएका थिए ।

हारेत्जका अनुसार नाह्यानले यसअघि नै इजरायलको आन्तरिक सुरक्षा निकाय शिन बेटलाई समेत यसबारे जानकारी गराएका थिए ।

तर नेतन्याहुको कार्यालयले भने आक्रमणअघि आफूलाई त्यस्तो कुनै सूचना प्राप्त नभएको दाबी गर्दै आएको छ ।

समाचार सार्वजनिक भएपछि नेतन्याहुले हारेत्जविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएका थिए । उनले उक्त समाचारलाई ‘काल्पनिक’ र ‘राजनीतिक उद्देश्यबाट प्रेरित’ भएको बताएका थिए ।

इजरायल–यूएई सम्बन्धमा सुधार

सन् २०२० मा अमेरिकाको मध्यस्थतामा भएको अब्राहम सम्झौतापछि इजरायल र यूएईबीचको सम्बन्धमा सुधार आएको छ । उक्त सम्झौतामार्फत यूएईसहित केही अरब देशले इजरायलसँग कूटनीतिक सम्बन्ध सामान्य बनाएका थिए ।

गत मेमा इजरायलका लागि अमेरिकी राजदूत माइक हकाबीले इरानबाट हुनसक्ने सम्भावित आक्रमणबाट यूएईको सुरक्षाका लागि इजरायलले आइरन डोम हवाई प्रतिरक्षा प्रणाली र सैनिक जनशक्ति यूएईमा तैनाथ गरेको बताएका थिए ।

अक्टोबर ७ को हमास आक्रमणअघि प्राप्त भएको भनिएको चेतावनीलाई नेतन्याहुले बेवास्ता गरेको आरोप सार्वजनिक भइरहेका बेला उनी आगामी क्नेस्सेट निर्वाचनमा आफ्नो राजनीतिक स्थिति मजबुत बनाउने प्रयासमा छन् ।

निर्वाचनअघि नेतन्याहुमाथि दबाब

आगामी अक्टोबरमा हुने निर्वाचनलाई नेतन्याहुका लागि महत्वपूर्ण मानिएको छ । पछिल्ला जनमत सर्वेक्षणमा उनी पूर्वसैनिक प्रमुख गादी आइसेनकोटबाट चुनौती सामना गरिरहेका छन् ।

सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणमा दक्षिणी इजरायलमा कम्तीमा १ हजार १९५ जनाको मृत्यु भएको र करिब २५० जनालाई बन्धक बनाइएको थियो । त्यसपछि इजरायलले गाजामा व्यापक सैन्य कारबाही गर्दै आएको छ ।

गाजास्थित स्वास्थ्य अधिकारीहरूका अनुसार इजरायली सैन्य कारबाहीमा हालसम्म कम्तीमा ७३ हजार ६६९ प्यालेस्टिनीको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?