हामी सिनेमा हेर्दा पर्दामा जे देख्छौं, प्रायः त्यसैलाई सत्य मान्छौं ।
तर, सिनेमाले एउटा समाजलाई अर्को समाजसँग जोड्ने वा उनीहरूबारे दृष्टिकोण बनाउने शक्तिशाली काम पनि गर्छ । आज यो कुरालाई बलिउडका केही उदाहरणबाट बुझौं ।
किनकि, बलिउडजस्तो ठूलो सिने उद्योगले बहुसांस्कृतिक पाटोलाई पर्दामा उतार्दा उसमाथि एउटा ठूलो जिम्मेवारी जोडिएर आउँछ।
तर, के बलिउडले त्यो जिम्मेवारी सही तरिकाले निभाइरहेको छ त ? वा यसले अझै पनि विविधतालाई केही सीमित र स्टेरियोटाइपमा मात्र खुम्च्याइरहेको छ ?
केही सिनेमा लिएरै कुरा गरौं ।
जस्तो, २०२५ मा ‘परम सुन्दरी’ प्रदर्शनमा आएको थियो । त्यसबेला यो फिल्मले यो बहसलाई फेरि सतहमा ल्याइदिएको थियो । ‘परम सुन्दरी’को मुख्य कथा सिद्धार्थ मल्होत्रा नामका दिल्लीका एक युवा र जाह्नवी कपूर नामकी केरलाकी एक युवतीको वरिपरि घुम्छ । दुई फरक संस्कृति, फरक भाषा र फरक जीवनशैली भएका उनीहरूको सम्बन्ध सुरुमा सामान्य हुँदैन । तर, अन्ततः उनीहरू प्रेममा पर्छन् ।
यद्यपि, उत्तर र दक्षिण भारतबीचको यो सांस्कृतिक मिलन बलिउडका लागि नयाँ विषय होइन । तर, सिनेमामा केरला र त्यहाँका मानिसहरूलाई जसरी प्रस्तुत गरिएको छ, त्यसले दक्षिण भारतका दर्शक, आलोचक र भाषाविद्हरूलाई दुःखी बनाएको थियो ।
बीबीसी हिन्दीका अनुसार यसको मुख्य कारण अस्वाभाविक प्रस्तुति, भाषाप्रतिको लापरबाही र भूगोल तथा संस्कृतिमाथि उपहास थियो ।

जस्तो, केरलामै हुर्केकी जाह्नवी कपूर सधैँ कपालमा चमेलीको फूल लगाउँछिन्, हात्तीसँग गफ गर्छिन् र नरिवलको रुखमा चढ्छिन् । यी दृश्यहरूले बलिउडले सोच्ने काल्पनिक केरलालाई मात्र देखाउने टिप्पणी गरिएको थियो । अर्को, केरलाका व्यक्तिहरूले बोल्ने मलयालम भाषा बिग्रेको र अस्वाभाविक सुनिएको पनि थियो ।
त्यस्तै, सिनेमाको सुरुमै केरलाको एउटा गाउँको नाम सुनेर ‘त्यो कहाँ हो ? अफ्रिका ?’ भन्ने जस्ता वाक्य राखिएका थिए । यस्तो कमजोरीलाई धेरैले सामान्य रमाइलोका रूपमा हेरे पनि यसले क्षेत्रीयताप्रतिको अज्ञानता र नस्लवादी सोचलाई नै बढावा दिएको टिप्पणी गरिएका थिए।
एउटा कुरा के भुल्न हुँदैन भने कुनै पनि स्थानको आत्मा त्यहाँका मानिसहरूको भोगाइ, भाषा, संवेदना र दैनिक जीवनमा हुन्छ । तर, बलिउडले प्रायः अन्य राज्यहरूलाई एउटा पर्यटकीय स्थलको रूपमा मात्र हेर्ने गर्छ ।
‘परम सुन्दरी’ मा केरला पुगेपछि कथाले गति लिनुको सट्टा दृश्यहरू टुरिजम एडजस्ता बन्छन् । नरिवलका रुख, ब्याकवाटर्स, रक्सी, हात्ती र ओणम पर्वका दृश्यहरूलाई एकएक गरी चेकलिस्ट पूरा गरेजस्तै देखाइएको छ।
यद्यपि, बलिउडमा गैरहिन्दी भाषी राज्य वा समुदायलाई हास्यास्पद रूपमा देखाउने परम्परा नयाँ होइन । ‘पडोसन’ (१९६८) मा अभिनेता महमूदले निभाएको तमिल गायकको भूमिकाले निकै हँसाए पनि त्यसले दक्षिण भारतीयप्रति एउटा छुट्टै र हास्यास्पद छाप बसालेको थियो ।
शाहरुख खानको ‘चेन्नई एक्सप्रेस’ (२०१३) ले बक्स अफिसमा राम्रो पैसा कमाए पनि दक्षिण भारतको भाषा र संस्कृतिलाई अत्यन्तै सतही र हास्यास्पद तरिकाले प्रस्तुत गरेको थियो ।
उत्तरपूर्वी भारतकी विश्वविख्यात मुक्केबाज मेरी कोमको जीवनीमा आधारित ‘मेरी कोम’ (२०१४) मा प्रियंका चोपडा मुख्य भूमिकामा थिइन् । तर, पछि प्रियंकाले आफैँले त्यो भूमिका उत्तरपूर्वी भारतकै कुनै अभिनेत्रीले पाउनुपर्ने बताएकी थिइन् ।
यी सबै उदाहरणहरूले बलिउडका लागि प्रायः व्यापार र स्टारडम अगाडि रहन्छ भन्ने कुरा बुझाउँछन् । र, यो कुरा साँच्चिकै बहसमा आउनु पनि पर्छ ।
यद्यपि, यो बहसमा दर्शक र समीक्षकहरू दुई भागमा बाँडिएका देखिन्छन् ।
एकखालको वर्ग सिनेमा भनेको मनोरञ्जन हो भनेर यस्ता कुरा नकार्छन् । उनीहरू सिनेमा काल्पनिक कुरा मिसाउनु सामान्य हो भन्ने कुरामा जोड दिन्छन् ।
अर्को वर्गले गलत प्रस्तुतिले विभेद बढाउँछ भन्ने मान्यता राख्छन् । समीक्षक सौम्या राजेन्द्रनजस्ता आलोचकहरू पटकपटक एउटै समुदायलाई गलत तरिकाले देखाउँदा समाजमा उनीहरूप्रति नकारात्मक छाप बस्ने विश्वास गर्छन् । कालान्तरमा यसले मानिसहरूबीचको दूरी र विभेदलाई अझ बढाउने उनीहरूको मत छ ।
तर, कुनै समय यस्तो पनि थियो, जतिबेला बलिउडले जे पस्कन्थ्यो, दर्शकहरूसँग त्यही हेर्नुको विकल्प थिएन । तर, ओटीटीको उदय र विस्तारपछि यो परिस्थिति पूर्णतः फेरिएको छ।
आजका दर्शकले घरमै बसेर अन्य भाषाका उत्कृष्ट र यथार्थपरक सिनेमाहरू हेर्न सक्छन् । डब गरिएका सिनेमाहरूका कारण दक्षिण भारतीय सिनेमाले पूरै भारत र विश्वभर आफ्नो बलियो छाप छाडिरहेको छ। र, यो कुरा अरू प्रान्तहरूमा पनि लागू भएको देखिन्छ ।

उदाहरणका लागि, ‘गोधा’ (२०१७) ले पञ्जाबी र मलयाली संस्कृतिको प्रेम कथालाई निकै सम्मानजनक रूपमा प्रस्तुत गरेको छ । ‘एक्सोन’ (२०१९) ले दिल्लीमा बस्ने उत्तरपूर्वी भारतका मानिसहरूले भोग्ने विभेद र सङ्घर्षलाई इमानदारीपूर्वक पर्दामा उतारेको छ । ‘अल वी इम्याजिन एज लाइट’ (२०२४) ले कान्स फिल्म फेस्टिभलमा पुरस्कार जितेर भारतीय मौलिक कथाको शक्ति देखाएको छ ।
यी यस्ता कुराले भने यदि कथा कमजोर र सतही छ भने ठूला स्टार र भव्य दृश्यका भरमा अब बलिउड चल्न सक्दैन भन्ने पुष्टि गर्छ ।
यद्यपि, भारतको विविधता नबुझ्ने समस्या बलिउडमा मात्र छैन । दक्षिण भारतीय वा अन्य क्षेत्रीय सिनेमामा पनि कहिलेकाहीँ उत्तर भारतीय वा अन्य अल्पसंख्यक समुदायलाई गलत तरिकाले देखाइन्छ ।
साहित्यकार र लेखिका अलीनाका अनुसार यो पावर डायनामिक्सको प्रश्न हो । यसबाट मुक्त हुन कुनै पनि समुदायको कथा मात्र प्रस्तुत गर्नुको सट्टा त्यो समुदायका मानिसहरूलाई कलाको प्रक्रियामा सहभागी गराउनुपर्ने उनको मत छ ।
जस्तो, यदि कथा केरलाको हो भने, लेखक, सल्लाहकार वा कलाकारमा कम्तीमा त्यहाँका मानिसहरूको उपस्थिति हुनुपर्छ । पात्रहरूलाई हाँसोको माध्यम मात्र बनाउनुको सट्टा उनीहरूको जीवनका विविध आयामहरू देखाउनुपर्छ ।
यसो गर्दा साँचो र निष्पक्ष सिनेमा बन्ने विज्ञहरूको मत छ । किनकि, केही किलोमिटरको दूरीमा भाषा, खानपान, पहिरन र संस्कृति फरक हुने भारतमा त्यहाँका सिनेकर्मीहरूले पक्कै त्यो विविधतालाई बुझ्नु अनिवार्य छ । यसो गरे मात्र पर्दामा देखिने पात्रहरूले आफ्नै वास्तविक कथा बोल्न सक्छन् ।
प्रतिक्रिया 4