+
+
Shares

बाढी प्रभावित मनाङमा मुख्यमन्त्री पाण्डे 

 गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज बाढीपहिरोबाट प्रभावित मनाङ जिल्लाको स्थलगत निरीक्षण गरी प्रभावित नागरिकको अवस्था, क्षति र तत्काल गर्नुपर्ने कामबारे जानकारी लिएका छन्।  

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते १२:५५

१४ असोज, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज बाढीपहिरोबाट प्रभावित मनाङ जिल्लाको स्थलगत निरीक्षण गरी प्रभावित नागरिकको अवस्था, क्षति र तत्काल गर्नुपर्ने कामबारे जानकारी लिएका छन्।

निरीक्षणका क्रममा चामे पुगेका मुख्यमन्त्री पाण्डेले स्थानीय तहका जनप्रतिनिधि, जिल्ला सुरक्षा समिति तथा प्रदेश मातहतका कार्यालयका प्रमुखहरूसँग छलफल गर्दै बाढीपहिरोका कारण अवरुद्ध सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउने र प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन आवश्यक कार्य तत्काल अघि बढाउने विषयमा छलफल गरेका हुन्।

केही दिन अघि घट्टे खोला र ठाडो खोलामा आएको पहिरोले मस्याङ्दी नदी थुनिएपछि स्थानीय त्रसित थिए । उक्त ठाउँको पनि मुख्यमन्त्री पाण्डेले स्थलगत अवलोकन गरेका छन्। अहिले पानी बगिरहेकाले जोखिम कम देखिएको भए पनि खोलामा थुप्रिएको ग्राबेल र ठुला ढुङ्गाका कारण घरहरु जोखिममा परेका छन्।  यहाँ भएको पुल पनि पुरिएको छ।  थुनिएको खोला खोल्ने काम भइरहेको मुख्यमन्त्री पाण्डेले बताए।

पाण्डेसँग स्थानीयले सडक तथा यातायात सञ्चालन, खानेपानी, खाद्यान्न, आवास तथा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणलगायत विषयमा समस्या र माग राखेका छन्।

स्थानीय तह र प्रदेश सरकारको स्रोत तथा क्षमताले तत्काल गर्न सकिने अत्यावश्यक कामलाई प्राथमिकताका साथ अघि बढाउने र प्रदेशको स्रोतबाट सम्भव नहुने ठूला तथा दीर्घकालीन कामका लागि संघीय सरकारसँग समन्वय गरिने मुख्यमन्त्री पाण्डेले बताए।

‘अहिलेको प्राथमिकता प्रभावित नागरिकको जीवन सहज बनाउने, अवरुद्ध सडक तथा पूर्वाधार सञ्चालन गर्ने र आवश्यक राहत तथा पुनःस्थापनाको व्यवस्था गर्ने हो’ मुख्यमन्त्री पाण्डेले भने, ‘प्रदेश, स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित कार्यालयबीच समन्वय गरेर तत्काल गर्न सकिने काम अघि बढाउँछौँ र थप आवश्यक सहयोगका लागि संघ सरकारसँग समन्वय गर्छौँ ।’

चाडपर्वको समय पनि नजिक रहेकाले स्थानीयको दैनिकी सहज बनाउन तत्काल गर्नुपर्ने कामलाई पहिलो प्राथमिकतामा राखिएको उनको भनाइ छ।

बाढीपहिरोबाट भएको क्षतिको स्थलगत अवस्थाबारे जानकारी लिँदै मुख्यमन्त्री पाण्डेले विपद्को समयमा उद्धार, राहत, उपचार तथा पुनःस्थापनासँगै क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई समेत प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढिरहेको बताए।

यसअघि मंगलबार मुख्यमन्त्री पाण्डे बागलुङ, म्याग्दी, पर्वत जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रपुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?