१४ असोज, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा बन्दसत्रको अध्यक्षता गरेका नेता श्यामकुमार खड्का महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
उनी काठमाडौं–५ मा सम्पन्न प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधि पदमा पराजित भएका हुन् । खड्का प्रजातन्त्र सेनानी/सहिद परिवार/द्वन्द्व प्रभावित कोटाबाट चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए ।
उक्त कोटामा १३२ मतसहित ठाकुरप्रसाद पुडासैनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । खड्का १०१ मतसहित दोस्रो बनेका छन् । खड्कासँगै पाँच जनाबीच प्रतिष्पर्धा भएको थियो ।
गत पुस सम्पन्न विशेष महाधिवेशनको बन्दसत्रमा ८८ वर्षीय नेता खड्काले अध्यक्षता गरेका थिए । उनी १४ औं महाधिवेशनमा काठमाडौं–५ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।
सुरुमा नेता ओमकार श्रेष्ठले विशेष महाधिवेशनको बन्दसत्रमा अध्यक्षता गर्ने भनिएपनि उनीभन्दा ज्येष्ठ सदस्य खड्कालाई अध्यक्ष बनाइएको थियो ।
काठमाडौं–५ बाटै कांग्रेस केन्द्रीय सदस्य गंगा सुनार महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् । गत पुसमा भएको विशेष महाधिवेशनबाट सुनार केन्द्रीय सदस्य बनेकी थिइन् ।
प्रतिक्रिया 4