+
+
Shares

ऋण दिएबापत घुस माग्ने नेपाल बैंकका तत्कालीन अध्यक्ष अधिकारी दोषी ठहर

दुई वटा मुद्दामा अरू आरोपितलाई सफाइ दिएको विशेष अदालतले पूर्वअध्यक्ष अधिकारीलाई भने तीन वटै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते १७:३६

१४ असोज, काठमाडौं । ऋण दिएबापत घुस मागेको आरोप खेपेका नेपाल बैंक लिमिटेडका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी विशेष अदालतबाट दोषी ठहर भएका छन् ।

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले घुससम्बन्धी तीनवटै मुद्दामा अधिकारीलाई दोषी ठहर गरेको हो ।

जेठ, २०८२ मा अख्तियारले विशेष अदालतमा तीनवटा मुद्दा दायर गरेको थियो, ती मुद्दाहरूमा गरिएको दाबी अनुसार, नेपाल बैंकका तत्कालीन अध्यक्ष अधिकारीले ७४ लाख रुपैयाँ घुस खाएका थिए ।

दुई वटा मुद्दामा अरु आरोपितहरूलाई सफाइ दिएको विशेष अदालतले पूर्वअध्यक्ष अधिकारीलाई भने तीनवटै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

ड्राइभरको खातामा घुस

तनहुँमा पेट्रोलपम्प चलाउने अकलादेवी ट्रेडर्स भन्ने कम्पनी छ । आफ्नो व्यापार विस्तारका लागि उसले नेपाल बैंक लिमिटेडबाट २५ करोड रुपैयाँ ऋण लिन खोजेको थियो । अख्तियारको दाबी अनुसार, त्यसको सुईँको पाएपछि नेपाल बैंकका अध्यक्ष चन्द्रबहादुरले आफूले ऋणका लागि निवेदन दिने आवेदकहरूई भेटेर घुस मागेका थिए ।

कुल स्वीकृत ऋणको २ प्रतिशत रकम आफूलाई दिनुपर्ने र २५ करोडको ऋण स्वीकृत गर्दा ५० लाख रुपैयाँ आवश्यक पर्ने भनी उनले सेवाग्राहीसँग घुस मागेका थिए । उनकी पत्नी मधुमाया अधिकारीको खातामा शुरुमा ५ लाख, त्यसपछि चेकमार्फत १५ लाख र ३० लाख रुपैंया ‘डिपोजिट’ भएको थियो ।

घुस लिएपछि समेत उनले ऋण दिन ढिला गरे । त्यसपछि घुस लिएर पनि काम नगरेको आरोपमा अविनाश श्रेष्ठको नामबाट नेपाल राष्ट्र बैंकमा उजुरी पर्‍यो । उजुरीपछि अधिकारीले मिलापत्र गर्नुका साथै पत्नी मधुमायाको खाताबाट अविनाशको खातामा ५० लाख रुपैयाँ फिर्ता गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धान हुँदा नेपाल बैंकका अध्यक्ष चन्द्रबहादुरले आफ्नो र पत्नीको खातामा घुस माग्ने क्रममा प्रायः आफ्ना ड्राइभर उमेश महर्जनमार्फत कारोबार गरेको भेटिएको थियो । हुन पनि ड्राइभरसँगको १४ पटकको कारोबारबाट उनले २५ लाख ५७ हजार रुपैयाँ लिएका थिए । त्यसक्रममा उनीहरूले बारम्बार नगद, मोबाइल बैंकिङ र चेकमार्फत कारोबार गरेको खुलेको थियो ।

११ भदौ २०८० मा नेपाल बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा नियुक्त भएका अधिकारी डा. चन्द्रबहादुर अधिकारीले घुस माग्न थालेको उजुरीपछि नेपाल राष्ट्र बैंकले नै छानबिन गरेको थियो । त्यही छानबिन प्रतिवेदनका आधारमा अख्तियारले समेत अनुसन्धान गरेको थियो ।

अरु दुई लोनमा पनि घुस

नेपाल राष्ट्र बैंकको छानबिनले घुस दिँदा पनि ऋण नपाएपछि उजुरीकर्ता रुष्ट भएको निष्कर्ष निकाल्दै नेपाल बैंकका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीलाई पाँच लाख रुपैयाँ जरिवाना गर्‍यो । अनि पाँच वर्षसम्म बैंक तथा वित्तीय संस्थामा जिम्मेवारी नपाउने गरी कारबाही गर्ने निर्णय लिएको थियो ।

अख्तियारले माघ, २०८१ मा नै अधिकारीको घरमा छापा मारेर चेकहरू, बैंक खाताका स्टेटमेन्ट र लेनदेनको टिपोट समेत भएका डायरीहरू बरामद गरेको थियो । त्यहीबाट प्राप्त ‘क्लू’ पछ्याउँदै जाँदा अनुसन्धान अधिकारीहरूले अरु महत्त्वपूर्ण विवरण फेला परेको जिकिर गरेका थिए ।

अख्तियारले भैरहवामा एक हस्पिटालिटी कम्पनीलाई ऋण दिने क्रममा अधिकारीले ‘श्रीमती बिरामी भएकाले उपचार गर्नुपर्ने’ भन्दै सापटी मागेको खुल्यो । अनुसन्धानले त्यो डिलमा नेपाल बैंकका अध्यक्ष चन्द्रबहादुरले १२ र ७ लाख गरी १९ लाख रुपैयाँ खाएको खुलेको छ ।

तेस्रो मुद्दा हिमाल–तराई कन्स्ट्रक्सनसँग सम्बन्धित हो । उसले बैंकमा ऋण लिन निवेदन पेश गरेकोमा चन्द्रबहादुरले एक प्रतिशतका दरले हुने पाँच लाख रुपैयाँ घुस लिएको खुलेको थियो । छानबिनका क्रममा लोनको फाइल हेरि उनले मात्रै एकदेखि तीन प्रतिशत लोन माग्ने गरेका थिए । विशेष अदालतले अधिकारीलाई तीनवटा मुद्दामै कसुरदार ठहर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?