१४ असोज, काठमाडौं। प्रतिनिधिसभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित भएको छ। बुधबार बसेको सभाको बैठकले यो विधेयक पारित गरेको हो।
सभामा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। जसलाई सभाले पारित गरेर अगाडि बढाएको हो।
यो विधेयक राष्ट्रिय सभामा दर्ता भएर र राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा आएको विधेयक हो।
प्रतिनिधिसभाले पनि पारित गरेकोले अब फेरि राष्ट्रिय सभामा जान्छ। राष्ट्रिय सभाका अध्यक्ष हुँदै राष्ट्रपतिकहाँ पुग्छ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा लागू हुन्छ।
सरकारका अनुुसार जैविक वा निर्जीव वस्तु, प्रमाण, कुनै लिखत, मालसामान, भौतिक वस्तु तथा विद्युतीय सामग्री वा अनुसन्धानसँग सम्बन्धित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणको लागि विधेयक ल्याइएको हो।
प्राप्त वस्तुलाई वैज्ञानिक विधि र पद्वतिको प्रयोगद्वारा प्रमाणको संकलन, विश्लेषण तथा परीक्षण गरी न्याय सम्पादनमा सहयोग पु-याउन र विधि विज्ञानको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा परीक्षण गर्ने प्रयोजनको लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना तथा सञ्चालन गर्ने भनिएको छ।
प्रयोगशालाको स्थापना तथा काम, कर्तव्य र अधिकार, सञ्चालक समितिको गठन तथा काम, कर्तव्य र अधिकार, परीक्षण सम्बन्धी व्यवस्था, कार्यकारी निर्देशक र कर्मचारी सम्बन्धी व्यवस्था, प्रयोगशालाको कोष, लेखा तथा लेखापरीक्षण तथा डिएनए डाटा बैंकको स्थापनासहितका व्यवस्था पारित विधेयकमा छ
वैज्ञानिक विधि र पद्वतिको प्रयोगद्वारा प्रमाणको संकलन, विश्लेषण तथा परीक्षण गरी न्याय सम्पादनमा सहयोग पुर्याउने सरकारको उद्देश्य छ।
विधि विज्ञानको सम्बन्धमा अध्ययन, अनुसन्धान र परीक्षणलाई प्रभावकारी तथा विशिष्टिकृत बनाउन राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन गर्न आवश्यक भएकाले विधेयक ल्याएको जनाइएको छ।
प्रतिक्रिया 4