१५ असोज, काठमाडौं । कांग्रेसको करिब आठ दशकको इतिहासमा आठ जना सभापति बने । यस बीचमा १४ वटा महाधिवेशन र २०१४ र २०८२ सालमा गरी दुईपटक विशेष महाधिवेशन भएको छ । मातृका प्रसाद कोइराला, विश्वेश्वर प्रसाद (बीपी) कोइराला, सुवर्ण शमशेर राणा, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा र गगन कुमार थापा पार्टीको सर्वोच्च पदमा पुगेका छन् ।
बीपी कोइराला नियमित र विशेष महाधिवेशनबाट सभापति बनेका थिए । हालका सभापति थापा गत पुसमा भएको विशेष महाधिवेशनबाट सभापति बनेका हुन् । मातृका, बीपी, सुवर्ण शमशेर, कृष्णप्रसाद, गिरिजा, सुशील र शेरबहादुर नियमित महाधिवेशनबाट चुनिए ।
हालसम्म बनेका सभापतिमा विचार, सांगठनिक कुशलता, नैतिकता, क्रान्तिकारीपन लगायतले प्रभावी हुने र गुटगत राजनीतिको आडमा शक्तिशाली बनेका छन् । अर्कोतर्फ, पार्टीभित्र गुट खडा गरेर शक्ति आर्जन गर्ने सभापति पनि छन् । एक वर्षे कार्यकाल पनि पुरा नभएका हालका सभापति थापाको भने परीक्षण हुन बाँकी छ ।
संस्थापक एवं वैचारिक कारणले सर्वाधिक शक्तिशाली सभापति बीपी कोइराला परिचित छन् । बीपीले करिब २५ वर्ष पार्टीको नेतृत्व गरे । नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस बीचमा एकता भई २००७ सालमा नेपाली कांग्रेस गठन हुँदा बीपी संस्थापक सभापति बने । २००९, २०१४ र २०१७ सालमा भएका महाधिवेशनबाट उनी सभापति चुनिएका थिए ।
२००७ सालमा राणा विरोधी आन्दोलनको अगुवाई गरेका बीपी सर्वाधिक शक्तिशाली र लोकप्रीय सभापति हुन् । पहिलो जननिर्वाचित पहिलो प्रधानमन्त्री बीपीकै नेतृत्वमा कांग्रेसले २०१५ सालमा दुई तिहाई सिट मत प्राप्त गरेको थियो ।
पहिलो आम निर्वाचन (२०१५) मा कांग्रेसले ३७ प्रतिशत मत प्राप्त गरेको थियो । १०९ निर्वाचन क्षेत्रमा ७४ सिट कांग्रेसले जितेको थियो । निर्वाचनमा परिचालन हुन तत्कालीन समयमा पार्टीलाई भ्रातृ र शुभेच्छुक संस्थाको आड भरोसा हालको जस्तै सहज थिएन । यद्यपी, शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेस, भ्रातृ संस्थाहरू नेपाल महिला संघ र नेपाल तरुण दल भने क्रियाशील थिए ।
नागरिक अधिकारका लागि बीपीले जेल र निर्वासनको जीवन व्यतित गरे । कांग्रेसको मार्ग निर्देशक सिद्धान्त ‘लोकतान्त्रिक समाजवाद’ जग बसाल्ने पनि उनै बीपी हुन् ।
२०१७ सालमा तत्कालीन राजाले बहुदलीय व्यवस्था अपदस्थ गर्दा, जेलमा हुँदा, निर्वासनमा भारत रहँदा बीपीको पकड रहिरह्यो । नेपाली कांग्रेसको राजनीतिका जानकार एवं विश्लेषक पुरञ्जन आचार्य बीपीलाई बहुआयामिक व्यक्तिका रुपमा विश्लेषण गर्छन् ।
बीपीबारे आचार्य भन्छन्, ‘उहाँलाई राष्ट्रिय– अन्तर्राष्ट्रिय ज्ञान थियो । पैदल र घोडामा यात्रा गरेर संगठन बनाउनु भयो । उहाँ अलौकिक व्यक्तित्वको मानिस हुनुहुन्थ्यो ।’
बीपी राजनीतिसँगै अर्को जीवन साहित्यिक थियो । उपन्यास, कथा संग्रह, आत्म वृत्तान्त, संस्मरण लगायतका कृति उनका छन् । संस्थापक नेता बीपीपछि प्रभावशाली सभापति गिरिजाप्रसाद कोइराला रहे । २०४६ सालमा बहुदलीय व्यवस्थाको पुर्नबहाली भएसँगै पार्टीमा एकक्षत्र गिरिजा हाबी भए ।
गिरिजा पार्टीमा प्रभावशाली हुनुको मूल कारण उनलाई संगठनको शक्ति थियो । २००३ सालमा विराटनगर जुटमिल हडतालको लागि अगुवाई गरेर राजनीतिक जीवन सुरु गरेका गिरिजाको आन्दोलन, निर्वासन र जेल जीवनको भोगाई छ ।
गिरिजालाई पार्टीभित्र शक्ति आर्जन गर्न पारिवारिक विरासत, लामो समय महामन्त्री, चार पटक प्रधानमन्त्री लगायत कारण रहे । संगठनमा पकड भएकै आधारमा १४ वर्षसम्म सभापति पदमा रहे ।
कांग्रेसका तीन महाधिवेशनमा उनी निरन्तर सभापतिमा चुनिए । ९औं, १० औं र ११ औं महाधिवेशनबाट लगातार सभापति निर्वाचित भए । सभापति पदका प्रतिस्पर्धीलाई गिरिजाले फराकिलो अन्तरले पराजित गरे ।
संख्याको आधारमा कांग्रेसले २०१५ सालमा दुई तिहाई ल्याएपनि प्रतिशतका आधारमा सर्वाधिक मत २०४८ सालमा पार्टीले प्राप्त गरेको थियो । २०४८ सालको चुनावबाट ३७.७५ प्रतिशत मत सहित बहुमतको सरकार गिरिजा नेतृत्वमा बनेको थियो ।
२०४८ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका उनी २०५३ सालदेखि निरन्तर तीनपटक सभापतिमा निर्वाचित भए । लेखक, अध्येता एवं त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. जगत नेपाल २०४८ सालमा कांग्रेसले सरकार चलाउने अवस्था बनेपनि संस्था चलाउन भने सिकि नसकेको बताउँछन् ।
‘कांग्रेसले लोकतान्त्रिक आन्दोलन गर्न त सिक्यो, तर संस्था कसरी चलाउने, सिस्टम कसरी बचाउने भन्ने अनुभव थिएन,’ तत्कालीन अवस्थाको सुनाउँदै प्राध्यापक नेपाल भन्छन्,‘त्यसबेला कांग्रेस संसदीय दलको विधानसमेत थिएन । सांसद नभएका अवस्थामा पनि नेतृत्वको विषय टुंग्याउने परिस्थिति बन्यो । पहिला नेता छानियो, अनि माइन्युट गरियो ।’
पार्टीमा शक्ति कायम राख्न फरक विचार राख्नेहरुलाई किनारा लगाउने प्रवृत्ति गिरिजामा रहेको भन्दै उनको आलोचना पनि हुँदै आएको थियो । कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, शेरबहादुर देउवा लगायतलाई पाखा लगाएर शक्ति आर्जन गरेको उनी माथि आरोप छ ।

पार्टीमा परिवारवाद आडमा शक्तिको दुरुपयोग गरेका गिरिजा माथि आरोप लाग्दै आएको छ । सभापतिलाई शक्तिशाली बनाउन उनले आफू अनुकूल हुने गरी विधान संशोधन गरेका थिए ।
नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक) को एकीकरणपछि सभापति शक्तिशाली हुने गरी विधान संशोधन गरिएको थियो । उपसभापति, एक महामन्त्री र सह–महामन्त्रीलाई सभापतिले मनोनीत गर्ने व्यवस्था गरियो । त्यसअघि रहेको व्यवस्थामा पदाधिकारीहरू निर्वाचित हुने वा केन्द्रीय समितिको अनुमोदन आवश्यक हुने विधि थियो । दुईपटक भन्दा बढी सभापति बन्न नपाउने विधानको व्यवस्था महाधिवेशनबाट संशोधन गराएर उनी तेस्रोपटक (२०६२) सभापति चुनिएका थिए ।
कांग्रेसको इतिहासमा बीपी र गिरिजापछि शक्तिशाली सभापतिमा शेरबहादुर देउवा चिनिन्छन् । देउवाको व्यक्तित्व विश्लेषण गर्नेहरूले उनलाई गुटगत राजनीतिमा निपूर्ण व्यक्तिका रूपमा व्याख्या गर्छन् । कांग्रेसको १० औं महाधिवेशन (२०५७) बाट सभापतिमा प्रतिस्पर्धा गर्न लागेका देउवा १३ औंमा निर्वाचित भए । विश्लेषक आचार्यको अनुसार देउवा ‘लेनदेन’को राजनीतिमा पोख्त छन् ।
पार्टीभित्र गुटको राजनीति र भागबण्डा देउवाबाट सुरु भएका आचार्य दाबी गर्छन् । ‘१०औं महाधिवेशनमा गिरिजाबाबुसँग सभापतिमा उठ्नुभयो । त्यहाँ सभापतिमा पाएको मतको प्रतिशतको आधारमा भाग खोज्न सुरु गर्नुभयो ।’
२०४८ सालदेखि २०७९ सालसम्म भएका संसदीय चुनावमा निरन्तर जित्ने देउवा एकल पात्र हुन् । शक्ति आर्जनका लागि पार्टीभित्र–बाहिर गठबन्धन र भागबण्डाको राजनीति गरेका देउवा पाँचपटक प्रधानमन्त्री बने । अन्य दलसँग गठबन्धन गरेर २०७९ सालको चुनावअघि प्रधानमन्त्री बनेका उनले त्यही बलमा कांग्रेसलाई पहिलो पार्टीपनि बनाए ।
विपक्षी भूमिका कमजोर बनाउने कार्य देउवाकै कार्यकालबाट सुरु भएको विश्लेषण हुँदै आएको छ । उपप्राध्यापक नेपाल राजनीति सत्ता, शक्ति र पैसामा केन्द्रित भएको र विपक्षीको भूमिकासमेत कमजोर बनाउने संस्कार विकसित भएको टिप्पणी गर्छन् ।
कोइराला परिवारको वरपर रहेको कांग्रेसलाई त्यसबाट बाहिर ल्याउने हिम्मत जुटाउने नेताका रुपमा देउवा परिचित छन् । गिरिजासँग द्धन्द्ध बढेपछि छुट्टै दल नेपाली कांग्रेस (प्रजातान्त्रिक) उनकै नेतृत्वमा गठन गरेका थिए ।
पार्टीभित्र प्रभुत्व कायम राख्न केन्द्रीय समिति, संसदीय दल, प्रदेश, जिल्ला लगायतका संरचनामा आफ्नो पक्षको बहुमत देउवालाई बनाईराखे । विश्लेषक आचार्यको बुझाईमा देउवाको शक्तिको मूल स्रोत संगठन निर्माण भन्दा बढी गुटगत र भागबण्डामा आधारित राजनीति हो । तथापी, विधान संशोधन गरेर तेस्रोपटक पनि सभापति बन्ने चाहना भने उनले राखेनन् ।
कोइराला परिवारबाट पछिल्लो सभापति सुशील कोइराला बने । कोइराला परिवारका त्यसअघिका सभापति सरह उनी प्रभावशाली भने हुन सकेनन् । कांग्रेसका सभापतिहरूमा मध्यम तहका सभापतिका रुपमा उनको गणना हुने गर्दछ । गिरिजाका उत्तराधिकारी सुशीलले २०७२ को संविधान जारी गरेको जस प्राप्त गरेका छन् । नैतिक निष्ठा, साधारण जीवनशैली लगायत सुशीलका गुण थिए । आफू अनुकूल हुने गरी सुशीलले विधान संशोधन गरेर शक्ति केन्द्रित गरेनन् ।
सन्त नेताको पहिचान बनाएका कृष्णप्रसाद भट्टराईले पार्टीभित्र गुट बनाएनन् । उनको पक्षमा नेता कार्यकर्ता भएपनि त्यही बलमा गुटलाई प्रश्रय दिने कार्य भट्टराईले गरेनन् ।
कांग्रेसका सभापतिहरूमा भट्टराईलाई मध्यमस्तरको सभापतिका रुपमा व्याख्या गरिन्छ । संगठनमा कमजोर रहेका भट्टराई आध्यात्मिक नेता थिए । २०३४ सालमा कार्यवाहक सभापति बनेका भट्टराई २०४८ सालमा भएको ८औं महाधिवेशनबाट निर्विरोध सभापति बनेका थिए ।
भट्टराई कार्यवाहक सभापति संगठनको बलमा नभई बीपीले अगाडि सारेका कारणले सम्भव भएको विश्लेषक आचार्य स्मरण गर्छन् । संस्थापक नेता एवं सभापति मातृकाप्रसाद कोइरालाले सभापति पदमा दुईवर्षे कार्यकाल मात्रै बिताए । बीपीसँग विवाद भएसँगै उनको प्रभाव घट्यो । बीपी र मातृकामा वैचारिक मतभिन्नता भएपनि भागबण्डाको लागि गुटको राजनीति नभएको इतिहासकारले बताउँदै आएका छन् ।
राणा शासनको अन्त्यपछि बनेको सरकारमा बीपी लगायत कांग्रेसका मन्त्रीहरूको मातृकाले आलोचना गरेपछि विवाद भएको थियो । २००९ सालमा भएको पाँचौ महाधिवेशनमा मातृका बीपी विरुद्ध नै सभापतिमा उठे । विवाद बढ्दै गएपछि मातृकालाई प्रधानमन्त्रीबाट राजीनामा गर्न पार्टीले निर्देशन दियो ।
राजीनामा दिन अस्वीकार गरेका मातृकाले २०१० सालमा राष्ट्रिय प्रजा पार्टी गठन गरे । बीपी र मातृका विवाद हुनुको कारणबारे उपप्राध्यापक डा. नेपाल भन्छन्,‘बीपीको राजनीतिक स्कुलिङ भारतमा भएको थियो । उहाँ उच्च तहको लोकतान्त्रिक अभ्यास र मानव अधिकारको पक्षमा हुनुहुन्थ्यो। मातृकाप्रसाद कोइराला भने राणाकालमा नेपालमै बसेर शासन संयन्त्र र यहाँको शक्ति संरचना बुझ्नुभएको थियो । उहाँ स्थानीय शक्ति र राजासँग मिलेर अघि बढ्नुपर्छ भन्ने दिशामा बढी देखिनुहुन्थ्यो ।’
२०१२ सालमा सभापति बनेका सुवर्ण शमशेर राणाले कार्यकाल पुरा नगरी बीचमै (२०१४ सालमा) विशेष महाधिवेशन आव्हान गरेर सभापति पद बीपीलाई सुम्पिए । पार्टीलाई आर्थिक रुपमा सहयोग गर्ने राणा सभापतिका रुपमा शक्तिशाली हुने र आफूमा शक्ति केन्द्रि गर्ने कार्यमा भने लागेनन् ।
गत पुसमा भएको विशेष महाधिवेशनबाट सभापति चुनिएका थापाको परीक्षण हुन बाँकी छ । कांग्रेसको मूल्य, मान्यता पुर्नस्थापित गर्ने दाबी सहित पार्टीमा गुटगत राजनीति अन्त्य गर्ने उनले बताउँदै आएका छन् । पार्टीभित्र सुधार र पुस्तान्तरणको एजेन्डा लिएर उनकै अगुवाई विशेष महाधिवेशन भएको थियो । कार्यकर्तालाई नेतामुखी नभई कार्यकर्तामुखी बनाउने विशेष महाधिवेशनबाट आएको समितिको दाबी छ । कांग्रेस हाल कमजोर अवस्थामा रहेको उपप्राध्यापक नेपाल बताउँछन् । ‘कांग्रेसका लागि अहिले ठूलो परीक्षा हो । ‘हामी फेरि उठ्यौँ’ भनेर मात्र पुग्दैन । जनताबाट अनुमोदित हुनुपर्छ,’ प्राध्यापक नेपाल भन्छन्,‘भोलि कांग्रेस फेरि ठूलो पार्टीको रूपमा स्थापित भयो भने त्यो नेतृत्वको सफलता हुनेछ । तर त्यो जनताले निर्णय गर्ने कुरा हो ।’
पार्टी सुधारका लागि पदावधिको समय सीमा निर्धारण, ‘प्राइमरी इलेक्सन’, विषय विज्ञलाई ल्याट्ररल इन्ट्री, युवा कोटा, जनप्रतिनिधि फिर्ता बोलाउने लगायतका प्रावधान विधानमा राखिएको छ ।
प्रतिक्रिया 4