१४ असोज, काठमाडौं। अमेरिकाको न्यूयोर्कमा बसोबास गरिरहेका उपल्लो मुस्ताङवासीले नेपालका भोटेकोशी र त्रिशूली बाढीपीडितहरूको सहायतार्थ एक लाख ४ हजार ६ सय ८८ अमेरिकी डलर (एक करोड साठी लाख ४६ हजार ५७६) रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।
न्यूयोर्कको वुडसाइड रहेको सामुदायिक संस्था लो-न्यामशिप एशोसिएसन यूएसए इंकमार्फत विशेष गरेर उपल्लो मुस्ताङको लोमान्थाङ तथा लो-घेकर दामोदरकुण्ड गाउँपालिका नागरिकहरूले देशविदेशका शुभेच्छुकहरूको सहकार्यमा संकलित भोटेकोशी र त्रिशूली बाढीपीडितहरूको सहयोगार्थ संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ट्रान्सफर गरेका छन्।
हालै आएको विनाशकारी बाढी तथा पहिरोका कारण घरबारविहीन र कष्टकर जीवन बिताइरहेका पीडित परिवारहरूलाई राहत तथा पुनरुत्थानमा यस सहयोगले केही हदसम्म भए पनि राहत पुर्याउने अपेक्षा गरिएको छ। संकटको यस घडीमा मातृभूमिको पीडामा साथ दिनु प्रवासी नेपालीहरूको साझा कर्तव्य भएको संस्थाले जनाएको छ।
लो-न्यामशिप एशोसिएसन यूएसए इंक सन् २०१४ मा स्थापित गैरनाफामुलक संस्था हो । जसले विशेष गरी उपल्लो मुस्ताङका लोमान्थाङ र लो-घेकर दामोदरकुण्ड क्षेत्रका बासिन्दाहरूको बाक्लो बसोबास रहेको न्यूयोर्कको क्वीन्समा सांस्कृतिक जगेर्ना र सामाजिक एकताको क्षेत्रमा काम गर्दै आएको छ।
आफ्नै मौलिक संस्कृति, भाषा र बौद्ध परम्परालाई जगेर्ना गर्दै आएको यस संस्थाले १ हजारभन्दा बढी सदस्यहरूलाई आप्रवासी जीवनका विभिन्न कठिनाइमा साथ दिँदै आएको छ। विशेष गरी सन् २०२० को डिसेम्बरमा कठिन महामारीकै बीच ३८ लाख डलरमा वुडसाइडमा आफ्नै सुविधासम्पन्न सामुदायिक भवन खरिद गरी यो संस्था अमेरिकामा हिमाली समुदायको पहिचानलाई बलियो बनाउन सफल भएको छ।
प्रतिक्रिया 4