१५ असोज, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रलाई उद्योग र बजारसँग जोड्दै उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्ने नीतिगत सुधारमा सरकार केन्द्रित रहेको बताएकी छन् ।
कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा उनले रासायनिक मलको तत्कालीन व्यवस्थापनसँगै प्राङ्गारिक तथा जैविक मल प्रवर्द्धनका लागि आवश्यक कार्यविधि निर्माणको काम भइरहेको जानकारी दिइन् ।
मन्त्री चौधरीले रासायनिक मलको आपूर्ति अन्तरराष्ट्रिय बजारमा निर्भर रहेकाले अन्तर्राष्ट्रिय बजारको उतारचढावले नेपालमा समेत असर पर्ने बताइन् ।
यस वर्षका लागि उपलब्ध रासायनिक मललाई व्यवस्थित गर्ने र आगामी दिनमा उद्योग स्थापना तथा स्वदेशमै उत्पादनको सम्भावनालाई अघि बढाउने गरी काम भइरहेको उनको भनाइ छ ।
मन्त्री चौधरीले कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने, वन क्षेत्रलाई उद्योगसँग आबद्ध गर्ने तथा काठको वैज्ञानिक उत्पादन र प्रवर्द्धन गर्ने भन्ने विषयमा सम्बन्धित निकाय तथा संयुक्त राष्ट्रसङ्घीय निकायसँग समेत छलफल भइरहेको बताइन् ।
यस्तै, काठका लागि काठको खेती’ को अवधारणालाई समेत अघि बढाउन सकिने उल्लेख गर्दै मन्त्री चौधरीले ती विषयलाई सम्बन्धित ऐनमा समेट्ने गरी काम भइरहेको स्पष्ट पारिन् ।
प्रतिक्रिया 4