६ असार, नारायणगढ (चितवन) । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मुलुकको भविष्य कृषिको विकासबाट उज्ज्वल हुने बताउँदै सरकारले यस क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेको बताएका छन् ।
शनिबार कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् । उनले चितवनको परिचय कृषि तथा वन विज्ञान विश्वविद्यालय भएको पनि बताए ।
मन्त्री पोखरेलले दीक्षित विद्यार्थीलाई प्राप्त शैक्षिक उपाधि केवल प्रमाणपत्र मात्र नभई राष्ट्रप्रतिको जिम्मेवारी, समाजप्रतिको उत्तरदायित्व र भावी पुस्ताप्रतिको प्रतिबद्धताको प्रतीक मानेर तदनुरुप काम गर्न अनुरोध गरे ।
‘विश्वविद्यालयबाट आर्जित ज्ञान, सीप, अनुसन्धान क्षमता र व्यावसायिक दक्षताले देशको कृषि, पशुपालन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा नयाँ युगको सुरु गर्न सहयोग पुग्ने मेरो विश्वास छ,’ उनले भने, ‘मुलुकको आर्थिक रूपान्तरणका लागि कृषि क्षेत्र नै मुख्य आधार भएकाले कृषि रूपान्तरणको आधार विज्ञान, प्रविधि र दक्ष जनशक्ति हो ।’
शनिबार सम्पन्न दीक्षान्त समारोहकाबीच विश्वविद्यालयबाट दुई हजार १९३ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका रजिष्ट्रार प्रा. सुवीर सिंहका अनुसार त्यसमध्ये स्नातक तहमा एक हजार ८३६, स्नातकोत्तर तहमा ३२७ र ३० जनाले विद्यावारिधि उपाधि हासिल गरेका छन् । –रासस
प्रतिक्रिया 4