१५ असोज, रूकुमपूर्व । नेपाली कांग्रेस रुकुमपूर्वले पार्टीको १५औँ महाधिवेशनका लागि सरकारी सेवामा कार्यरत दुई कर्मचारीसहित ३६ जनाको नाम सिफारिस गरेको छ ।
जिल्ला कार्यसमितिले गरेको सिफारिसमा पार्टीका विभिन्न तहका नेता–कार्यकर्तासँगै सरकारी सेवामा कार्यरत दुई कर्मचारीको नामसमेत समावेश गरिएको हो ।
सिस्ने गाउँपालिकाको कृषि शाखाअन्तर्गत करार सेवामा कार्यरत करुणा पुनमगरलाई युवा महिलातर्फ महाधिवेशन प्रतिनिधिका लागि सिफारिस गरिएको छ ।
त्यसैगरी, पुथा उत्तरगंगा गाउँपालिका–१३, पिपलतुङमा वडा सहायक पदमा कार्यरत चमेली छन्त्याललाई अल्पसंख्यकतर्फ सिफारिस गरिएको छ ।
प्रचलित कानुनले सरकारी कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन तथा राजनीतिक गतिविधिमा संलग्न हुन प्रतिबन्ध लगाएको छ ।
नेपाली कांग्रेस रुकुमपूर्वको कार्यसमितिले भने ती कर्मचारीको सेवा अवस्था, राजनीतिक दलको सदस्यता तथा महाधिवेशन प्रतिनिधिका रूपमा सिफारिस गर्ने आधारबारे विस्तृत जानकारी सार्वजनिक नगरी नेपाली कांग्रेसले आफ्नो आधिकारिक लेटरप्याडमा सार्वजनिक गरेको हो ।
प्रतिक्रिया 4