१६ असोज, काठमाडौं । भारतका युवा क्रिकेटर वैभव सूर्यवंशी अमेरिकी पत्रिका टाइमको प्रतिष्ठित ‘TIME १०० NEXT २०२६’ को सूचीमा परेका छन् ।
यो सूचीले विश्वभरका ती १०० उदीयमान प्रतिभालाई सम्मान गर्छ, जसले आफ्नो क्षेत्रमा भविष्यलाई प्रभाव पार्ने सम्भावना बोकेका छन् ।
१५ वर्षीय वैभव यस सूचीमा परेका एकमात्र भारतीय खेलाडी हुन् भने सूचीमा समावेश भएका सबै व्यक्तिमध्ये सबैभन्दा कम उमेरका पनि हुन् ।
उनी ‘फेनम्स (Phenoms)’ श्रेणीमा राखिएका छन् । यसले असाधारण प्रतिभा भएका र कम उमेरमै ठूलो सम्भावना देखाएका उदीयमान व्यक्तिहरू भन्ने अर्थ लाग्छ ।
बिहारका वैभवले सन् २०२४ मा मात्र १२ वर्षको उमेरमा रणजी ट्रफीमार्फत प्रथम श्रेणी क्रिकेटमा डेब्यु गर्दै क्रिकेट जगतको ध्यान खिचेका थिए । त्यसपछि राजस्थान रोयल्सले उनलाई आईपीएलका लागि १ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो ।
आईपीएल २०२५ को आफ्नो पहिलो सिजनमै वैभवले सात इनिङ्समा २५२ रन बनाएर आफ्नो क्षमता देखाएका थिए । गुजरात टाइटन्सविरुद्ध ३५ बलमै शतक प्रहार गरेको उनको इनिङ्स विशेष चर्चामा रह्यो ।
भारतका पवन कुमार पनि सूचीमा
‘टाइम १०० नेक्स्ट २०२६’ को सूचीमा भारतका पवन कुमार चन्दना पनि परेका छन् । उनी भारतको अन्तरिक्ष प्रविधि क्षेत्रमा परिचित नाम हुन् ।
उनी निजी अन्तरिक्ष कम्पनी स्काइरुट एयरोस्पेसका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन् । उनी यसअघि भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) मा वैज्ञानिकका रूपमा कार्यरत थिए ।
चन्दनाको नेतृत्वमा स्काइरुट एयरोस्पेसले भारतको निजी अन्तरिक्ष क्षेत्रमा महत्वपूर्ण काम गरेको छ । कम्पनीले विकास गरेको ‘विक्रम–१’ रकेट अभियानले भारतको निजी अन्तरिक्ष उद्योगमा नयाँ अध्याय सुरु गरेको बताइएको छ ।
प्रतिक्रिया 4