१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन समारोह आज खुलामञ्चमा हुँदैछ । उद्घाटन समारोहमा सहभागिताका लागि कांग्रेसले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुलाई निम्तो पठाएको छ । तर, निम्तो पठाइएका सबै दलका शीर्ष नेताहरु भने सहभागी नहुने भएका छन् ।
रास्वपाबाट सभापति रवि लामिछाने आफैं सहभागी हुने तयारी छ । पार्टी प्रवक्ता जगदिश खरेलले अनलाइनखबरसँग भने, ‘अहिलेसम्म सभापति आफैं जाने कुरा छ ।’
नेकपा एमालेबाट पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् । उनको सट्टा महासचिव शंकर पोखरेल सहभागी हुने छन् । अध्यक्ष ओली बुवाको निधनको शोकमा बरखीमा रहेकाले उनी सहभागी नहुने र महासचिव पोखरेलले शुभकामना मन्तव्य राख्ने उनको सचिवालयले जनाएको छ ।
यसैगरी नेपाली कम्युनिष्ट पार्टीबाट भने संयोजक पुष्पकमल दाहाल प्रचण्ड नै सहभागी हुने तयारी छ । पार्टी प्रवक्ता प्रकाश ज्वालाले संयोजक प्रचण्डले नै कांग्रेस महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने बताए ।
प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार प्रचण्डको दैनिक कार्यतालिकामा कांग्रेस महाधिवेशनमा सहभागी हुने उल्लेख छ ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुने छन् । गृहजिल्ला झापामा रहेका लिङ्देन आजै काठमाडौं आउने र कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुने छैनन् । अध्यक्ष यादवले सहअध्यक्ष शरतसिंह भण्डारीलाई कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन भनेको उनको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रिया 4