१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले विगत दुई दशकको आफ्नो भूमिकाको निर्मम समीक्षा गर्दै सत्ता र पदमुखी राजनीतिले नागरिकसँगको दूरी बढाएको स्वीकार गरेको छ।
काठमाडौंमा जारी १५औं महाधिवेशनको दोस्रो दिन सोमबार राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टी सभापति गगन थापाले २०८२ भदौको युवा विद्रोहलाई नेतृत्वकै असफलताको परिणाम भएको बताएका छन्। सभापति थापाले प्रस्तुत गरेको दस्ताबेजमा पार्टीको सङ्गठन, नीति र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाइएको छ।
दस्ताबेजमा २०६२/६३ को आन्दोलनपछिको शान्ति प्रक्रिया, समावेशिता, नयाँ संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। तर न्यायमा पहुँच, गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य सेवा, सम्मानजनक काम र देशमै भविष्य निर्माण जस्ता नागरिकका अपेक्षाहरू पूरा गर्न नसकिएको कुरा प्रतिवेदनले स्पष्ट रूपमा स्विकारेको छ।
‘संविधान निर्माणपछिको दशकमा हाम्रो ऊर्जा कार्यान्वयन, सार्वजनिक सेवा र आर्थिक रूपान्तरणमा केन्द्रित हुनुपर्थ्यो,’ प्रतिवेदनमा भनिएको छ, ‘हामीले त्यसअनुसार प्राथमिकता, कार्यशैली र संस्थागत क्षमता बदल्न सकेनौं।’
‘भ्रष्टाचारमा आफ्नैलाई जोगाउँदा विश्वसनीयता घट्यो’
कांग्रेसले शासनगत कमजोरीहरूको जिम्मेवारी अरूको टाउकोमा पन्छाउन नमिल्ने निष्कर्ष निकालेको छ। उद्देश्यभन्दा पद र सत्तालाई महत्त्व दिँदा नीतिगत सहकार्य लेनदेनमा सीमित भएको र भ्रष्टाचार तथा अनियमितताका प्रश्नमा आफ्नै पक्षलाई जोगाउने प्रवृत्तिले पार्टीको नैतिक विश्वसनीयता कमजोर बनाएको ठहर गरिएको छ।
‘सार्वजनिक नियुक्तिमा भागबन्डा गर्ने प्रवृत्तिले संस्थाको स्वायत्तता र योग्यताको सम्मानलाई कमजोर बनायो,’ प्रतिवेदनमा उल्लेख छ, ‘पार्टी जीवन नागरिकको सरोकारभन्दा टिकट वितरण र गुटीय समीकरणमा खुम्चियो।’
भदौको विद्रोह : युवाको जायज आक्रोश
वि.सं. २०८२ भदौमा भएको युवा विद्रोहलाई कांग्रेसले ‘कुशासन, भ्रष्टाचार र जनअपेक्षा पूरा नभएको कारण उब्जिएको नागरिक असन्तोषको अभिव्यक्ति’ का रूपमा अथ्र्याएको छ।
नयाँ पुस्ताले ऐतिहासिक योगदानभन्दा वर्तमानको नतिजा खोजेको तथ्यलाई आत्मसात् गर्दै दस्ताबेजमा भनिएको छ- ‘युवालाई पर्याप्त सहभागिता नदिँदा र अल्पकालीन सत्ताका लागि मूल्यमान्यतामा सम्झौता गर्दा लोकतन्त्रमा विश्वास राख्ने नागरिकको भरोसा घट्दै गयो। समयमै सुन्न र सम्बोधन गर्न नसकिएको यही असन्तोष भदौ २३ र २४ मा प्रस्फुटन भएको हो।’
‘यी स्वीकारोक्तिको अर्थ आत्मनिन्दा वा कसैमाथि दोष थोपर्नु होइन; गलत अभ्यास दोहोर्याउन बल पुर्याउने संस्थागत कमजोरी पहिचान गरेर तिनलाई बदल्नु हो,’ सभापति थापाले दस्ताबेजमार्फत भनेका छन्, ‘पार्टीको सङ्गठन, उम्मेदवार छनोट, सार्वजनिक नियुक्ति, सरकार सञ्चालन र नागरिकसँगको सम्बन्धमा देखिने परिवर्तन नै हाम्रो इमानदारीको परीक्षा हुनेछ।’
प्रतिक्रिया 4