२१ असोज, रसुवा । उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा बाढी प्रभावित तथा जोखिममा रहेका ६० परिवारलाई राहत सामग्री वितरण गरिएको छ।
आइतबार र सोमबार स्टार्ट फन्ड एन–३० अन्तर्गत सञ्चालित एकीकृत मानवीय तथा प्रारम्भिक पुनःप्राप्ति कार्यक्रममार्फत राहत सामग्री वितरण गरिएको हो। प्रभावित परिवारलाई राहत तथा जाडोयामका लागि आवश्यक सामग्रीसँगै खानेपानी र सरसफाइसम्बन्धी सामग्री उपलब्ध गराइएको छ।
राहत वितरणका क्रममा प्रभावित परिवार तथा एकल महिलासँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्था, तत्कालीन आवश्यकता र समस्याबारे जानकारीसमेत लिइएको थियो।
आगामी हप्ता उत्तरगया–१ र ५ मा पनि प्रभावित समुदायको आवश्यकता अवलोकन गरी त्यसका आधारमा राहत सामग्री वितरण गर्ने योजना रहेको रोयम नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानले बताए।
यूएन वुमनको आर्थिक सहयोग तथा रोयम नेपालको सहजीकरणमा रसुवा र नुवाकोटको विदुरमा गरी तीन स्थानमा एक महिनादेखि सामुदायिक भान्सा सञ्चालन भइरहेको छ। भान्सामार्फत बाढी प्रभावित तथा विस्थापित परिवारलाई बिहानको चिया–नास्ता, खाना, दिउँसोको खाजा र साँझको खाना उपलब्ध गराइँदै आएको छ।
वडाको समन्वयमा सञ्चालित सामुदायिक भान्सामा प्रभावित परिवारका सदस्यलाई कामको अवसरसमेत दिइएको छ। यसबाट उनीहरूलाई तत्काल आयआर्जनको अवसर मिल्नुका साथै दैनिक जीवनयापनमा सहयोग पुगेको छ। भान्सामा स्थानीय तथा प्रभावित महिलाको सहभागितालाई प्राथमिकता दिइएको छ।
उत्तरगया–२ का वडा अध्यक्ष टुकु सुवेदीले राहत तथा सहयोगले प्रभावित समुदायको दैनिक जीवन सहज बनाउन महत्वपूर्ण सहयोग पुगेको बताए। उनले आगामी दिनमा पनि आवश्यकताका आधारमा सहयोग निरन्तरता दिन आग्रह गर्दै विद्यालयमा खानेपानीको सहज व्यवस्थाका लागि सहजीकरण गर्न अनुरोध गरे।
डाँडागाउँ माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज घिमिरेले सामुदायिक भान्सा तथा राहत सहयोगबाट विद्यालयको छात्रावासमा बस्दै आएका विद्यार्थीलाई कठिन समयमा ठूलो सहयोग पुगेको बताए।
प्रतिक्रिया 4