२२ असोज, काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको जेलमुक्तिको माग गर्दै इस्लामाबादका लागि सुरु भएको लङ मार्च बिहीबार पेशावर शहर पुग्दै छ। यसलाई ध्यानमा राखेर पेशावर शहरको सुरक्षा व्यवस्था कडा बनाइएको छ।
पाकिस्तान तहरीक-ए-इंसाफको मार्चका कारण पेशावरका केही निजी शिक्षण संस्थाहरूले बिहीबार बिदा दिने घोषणा गरेका छन्। बुधबार साँझ अभिभावकहरूलाई सन्देश पठाएर बिदाको जानकारी दिइएको थियो।
बिहीबार पाकिस्तान तहरीक-ए-इंसाफको मार्च पेशावर शहर हुँदै पेशावर र चारसद्दाको सीमासम्म पुग्नेछ। बिबीसी उर्दूका अनुसार मार्चका कारण केही निजी स्कूलहरूले विद्यार्थीलाई बिदा दिएका छन्। सरकारी स्कूलहरू बन्द हुने विषयमा अहिलेसम्म कुनै आधिकारिक जानकारी आएको छैन।
अर्कोतर्फ पेशावरका केही क्षेत्रमा मोबाइल फोन सेवा बन्द भएको खबर छ। यद्यपि यसको आधिकारिक पुष्टि वा खण्डन भएको छैन।
इमरान खानको पार्टी र पाकिस्तानको नेतृत्वबीच गम्भीर मतभेद रहेकै समयमा यो मार्च निकालिएको हो। यो र्याली आइतबार उत्तर-पश्चिमी प्रान्त ख़ैबर पख़्तूनख़्वाबाट सुरु भएको थियो। यो प्रान्तमा इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इंसाफको सरकार छ। इस्लामाबाद पुग्नुअघि यो मार्च धेरै स्थानहरूमा रोकिनेछ।
प्रतिक्रिया 4