त्यसो त रामकुमारी झाँक्री सिनेमावृत्तबाट बाह्र हात टाढा छिन्। मूलधारको राजनीतिमा फन्को लगाइरहने उनलाई सिनेमा र मनोरञ्जनतिर त्यति चासो पनि नहोला । त्यसैले कला, मनोरञ्जनको बारेमा उनले लेख्ने र बोल्ने कुरा अलि दुर्लभ जस्तो हुन्छ ।
यसपालि भने उनै झाँक्रीले विख्यात बलिउड अभिनेता नाना पाटेकरलाई सम्झिएकी छिन् । नानाको निधनको खबर सर्वत्र फैलिँदै गर्दा उनले पनि फोटोसहित लामो स्टाटस लेखेकी छिन्।
उनले ‘हार्दिक श्रद्धाञ्जली हिरो’बाट सुरु गरेर विषयमा यसरी प्रवेश गरेकी छिन्- ‘नाना पाटेकरको निधनसँगै भारतीय चलचित्रको अभिनयको एउटा युग अन्त्य भएको छ’ भनेर धेरै मिडियाले लेखेको आज बिहानैदेखि देखिरहेको छु। उनी मास्कुलिन टाइपको मान्छे भएकोले मैले उनको हाउभाउलाई भन्दा मेरो दाइसंगका केही स्मृतिहरू ताजा बनेर आए ।
मेरा लागि नाना पाटेकर केवल एक महान् अभिनेता मात्र होइनन् । उहाँसँग जोडिएका केही पुराना सम्झनाहरू पनि छन् ।
१९९० को दशकको सुरुतिर मेरो सान्दाइ (पदम) पढ्नका लागि काठमाडौं आउनुभएको थियो । त्यसको केही वर्षपछि म पनि काठमाडौं आएँ । दाइ काठमाडौं आएकै कारण म काठमाडौं, सपनाको सहर, आउने बाटो खुल्यो । मेरो उच्च शिक्षा पढ्ने ढोका खुल्यो । हामी बबरमहलमा डेरा गरेर बस्थ्यौँ ।
सबैतिरको लागि सेन्टर मानिन्थ्यो बबरमहल। डेरा भाडा अन्ततिरभन्दा अलि महँगो, तरकारी पनि महँगो थियो। पैसाको अभाव त सामान्य नै भयो । सान्दाइ नाना पाटेकरका ठूलो फ्यान हुनुहुन्थ्यो। उहाँले नानाका केही पोस्टकार्डसमेत किनेर निकै जतनसाथ राख्नुभएको थियो ।
त्यतिबेला काठमाडौंमा हिन्दी फिल्म हेर्न जानु पनि आफैँमा एउटा उत्सवजस्तै लाग्थ्यो ।
हामी गाउँका मान्छेहरूलाई नेपाली फिल्मले पनि तान्थ्यो, तर अलि पाखे भन्थे नेपाली फिल्म हेर्नेलाई । त्यो कथा पनि फेरि लेख्नेछु।
रञ्जना, जय नेपाल, विश्वज्योति, गुण सिनेमा, मनकामना, (सिनामंगलको हलको नाम बिर्सेँ), अष्टनारायण, गोपीकृष्णलगायतका हलमा नानाको फिल्म लाग्यो भने दाइ, म र गाउँबाट काठमाडौं आएका अरू दाइभाइहरू समेत हिँडेरै फिल्म हेर्न जान्थ्यौँ। लाइन बस्दाबस्दै टिकट सकिन्थ्यो, काउन्टरको खिड्की बन्द हुन्थ्यो । अब निराश हुनुबाहेक विकल्प केही हुँदैनथ्यो । छेउ लागेर बस्यो, फिल्मको समय सुरु हुने बेलातिर ब्ल्याकमा टिकट पाइन्थ्यो। हेर्नैपर्यो र । ३ रुपैयाँको टिकटलाई १० रुपैयाँसम्म हालेर हेरियो । कुनै–कुनै बेला त ।
फिल्म हेरेर फर्किएपछि नानाको अभिनय, संवाद र पात्रबारे गरिने हाम्रो आफ्नै बहस हुन्थ्यो । कहिलेकाहीँ त झगडा पनि हुन्थ्यो । आज सम्झिँदा लाग्छ, ती दिन साँच्चै क्या दिन थिए !
समय बदलियो । काठमाडौं बदलियो । फिल्म हेर्ने तरिका बदलियो । ती हलहरू, ती गल्लीहरू र ती दिनहरू धेरै पछाडि छुटे । तर नाना पाटेकरको आवाज, संवाद बोल्ने शैली र पर्दामा पात्रलाई जीवन्त बनाउने त्यो अद्भुत क्षमता भने सम्झनाबाट कहिल्यै हटेन ।
संवादमा दम, अभिनयमा गहिराइ र पात्रमा जीवन्तता, नानाको अभिनयको यही विशेषता थियो। ‘परिन्दा’, ‘अग्निसाक्षी’, ‘क्रान्तिवीर’, ‘अब तक छप्पन’देखि ‘वेलकम’सम्म आइपुग्दा उहाँले आफूलाई केवल अभिनेता होइन, भारतीय सिनेमाको एउटा अलग पहिचानका रूपमा स्थापित गर्नुभयो । उहाँले गम्भीरदेखि हास्यसम्म, नायकदेखि खलनायकसम्म हरेक पात्रलाई आफ्नै रंग दिनुभयो ।
अभिनयसँगै सामाजिक सेवामा समेत सक्रिय नानाको योगदान पनि उत्तिकै स्मरणीय रहनेछ ।
आज उहाँ हामीमाझ हुनुहुन्न। तर पर्दामा उहाँले छोडेका पात्रहरू, संवादहरू र हामीजस्ता दर्शकका मनमा छोडेका सम्झनाहरू सधैँ जीवित रहनेछन् ।
प्यारो हिरो, वरिष्ठ कलाकार नानाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।
ती दिन थिए हाम्रा संघर्षका, अभावका अनि दबाबका। आज फेरि सम्झनामा नानासँगै उसैगरी आए ।
प्रतिक्रिया 4