कलियुग कुनै विशेष समय अवधिको संज्ञा होइन । जब कुनै मानिस मानिसको प्रतिकूलतालाई द्रव्य कमाउने अवसरको रूपमा लिन्छ, कसैको अवरोहलाई आफू उक्लिने सिंढी बनाउँछ या संवेदनामा नाफा खोज्छ ।
त्यसैलाई कलियुग भनिदो हो ।
मानवीय प्रवृतिको बडो विष्मयप्रद छ । जीवित र जीवन्त कुराहरूलाइ त छाडौं, लासलाई समेत मानिस आफ्नो नाफाको साधन बनाउन पछि हट्दैन ।
यही ‘वैश्य चरित्र’ लाई प्राथमिक प्रवृति बनाएको समाजको कथा हो, सर्टफिल्म – ‘द एपिटाफ’ ।
सन् १९६९ मा बनेको एउटा अत्यन्तै प्रभावशाली, दार्शनिक र प्रयोगात्मक यस स्टुडेन्ट सर्ट फिल्म मात्र १७ मिनेटको छ तर यसले मानव स्वभाव, राजनीतिक अवसरवाद र आधुनिक समाजको मृत संवेदनामाथि गहिरो व्यङ्ग्य प्रहार गरेको छ । यो फिल्म युवा निर्देशक गुरु चरण सिंहले निर्देशन र लेखन गरेका हुन् ।
फिल्मको कथावस्तु निकै सरल तर गम्भीर छ । फिल्मको सुरुवात एउटा सुनसान सार्वजनिक जमिनमा लडिरहेको एउटा बेवारिसे मानिसको लासबाट हुन्छ। ऊ को हो र कसरी मर्यो भन्ने जवाफ निर्देशकले दिँदैनन् ।
त्यो फिल्मको प्रयोजन पनि होइन । त्यो लास वास्तवमा समाजको अगाडि एउटा प्रश्न बनेर तेर्सिएको छ। कथा अघि बढ्दै जाँदा त्यो लासको वरिपरि समाजका विभिन्न वर्ग, मानसिकता र प्रवृत्तिका मानिसहरूको घचारो जम्मा हुन थाल्छ ।
लासप्रति ती मानिसहरूका प्रतिक्रियाहरू नै यो चलचित्रको मुख्य कथा बन्न पुग्छन्।
लासको नजिकै एउटा व्यक्ति छ, जो आफ्नो ह्याट टोपी फैलाएर लासको दाहक्रियाको लागि चन्दा संकलन गरिरहेको छ । तर जब धेरै रकम बटुलिन्छ, त्यो रकम मृतकको सद्गतिका लागि नभई आफ्नै खल्ती भर्छ । त्यस्तै चुनाव नजिकिँदै गरेको बेला एउटा नेता त्यहाँ झुल्किन्छ जसलाई त्यो लासप्रति कुनै भावना छैन ।
तर निस्प्रभ अनुहारमा दुःख टाँसेर उसले लासलाई आफ्नो चुनावी प्रचार र एजेन्डाको हतियार बनाउँदै विपक्षीमाथि प्रहार गर्ने राजनीतिक दाउपेच सुरु गर्छ ।
भीडमा अर्को एकजना यस्तो युवा पनि देखिन्छ जो वर्तमान व्यवस्थाप्रति चरम आक्रोशित छ र लासलाई देखेर भावुक हुनुको साटो सरकारको कडा आलोचना गर्न थाल्छ ।
यद्यपि, उसको क्रान्ति केवल शब्दहरूमा सीमित हुन्छ। उसकै छेउमा आफूलाई अजासु ( अति जान्ने सुन्ने ) र सामाजिक रूपमा उच्च दर्जाको ठान्ने अहंकारी बौद्धिक वर्गको प्रतिनिधित्व गर्ने पात्र पनि छ ।
उसले लासमाथि बौद्धिक गफ त छाँट्छ, समाजको संवेदनहीनतामा प्रश्न त उठाउछ । तर उसको मनमा झिनो सहानुभूति समेत हुँदैन ।
यी सबै ढोंगी भीडका बीचमा अन्ततः एउटा यस्तो साधारण मानिस आउँछ । उसलाई न राजनीतिको मतलब छ, न पैसाको, न तो बौद्धिक आडम्बर देखाउनु छ। उसले शान्त भएर लासको नजिक जान्छ, झुक्छ र मृतकका खुला रहेका आँखाहरूलाई बिस्तारै बन्द गरिदिन्छ। यो एउटा सानो क्रिया नै फिल्मको चरमोत्कर्ष मान्न सकिन्छ ।
फिल्मको शीर्षक एपिटाफको अर्थ हुन्छ – अर्थ चिहानमाथि लेखिने स्मृतिका हरफहरू । तर यो फिल्मको एपिटाफ मृत मानिसको भने होइन । जीवित भनिएकाहरूको मृत संवेदनाको एपिटाफ हो । फिल्ममा देखाइएको बेवारिसे लासको माध्यमबाट जीवित मानिसहरूले आफूभित्र छिपेको स्वार्थ, डर र महत्वाकांक्षालाई बाहिर निकाल्छन् ।
जुन आधुनिक संसारमा मानिस कतिसम्म आत्मकेन्द्रित भइसकेको छ भन्ने कुराको उत्कृष्ट बिम्ब हो। मृत्युजस्तो चरम सत्य र दुःखको क्षणलाई पनि कसरी व्यापार र राजनीतिको साधन बनाउन सकिन्छ भन्ने कुरा फिल्मले निकै सटिक रूपमा उजागर गरेको छ।
यो प्रवृत्ति सन् १९६९ मा जति सान्दर्भिक थियो, आजको सामाजिक सञ्जाल र भाइरल संस्कृतिको युगमा झनै डरलाग्दो रूपमा सत्य साबित भएको छ । चलचित्रभरि विभिन्न पात्रहरू ठूलो स्वरमा बोल्छन् र विवाद गर्छन् । आफूलाई मानवतावादको संवाहक झैँ ठान्छन् । तर उनीहरूका ती सबै कोलाहल निरर्थक लाग्छन्।
***
सर्ट फिल्म विधामा प्राविधिक पक्षले निकै ठूलो भूमिका खेल्छ र यस फिल्ममा एफ. आर. खानको छायाङ्कन उत्कृष्ट देखिएको छ। ब्ल्याक एन्ड व्हाइट फर्म्याटमा खिचिएको यो फिल्मले छाया र उज्यालोको सुन्दर प्रयोग गरेका छन् ।
भीडका पात्रहरूको अनुहारका स्वार्थी भाव र लासको निश्चलतालाई क्लोज–अप सटहरू मार्फत निकै नजिकबाट समातेको छ। फिल्मको गतिलाई निकै संयमित छ जसले गर्दा १७ मिनेटको अवधिमा दृश्यहरू कतै पनि तन्किएका लाग्दैनन्।
ओ. पी. शर्माको ध्वनि संयोजनले फिल्मको गम्भीरतालाई झनै बढाएको छ । ब्याकग्राउन्ड संगीतको अनावश्यक प्रयोग नगरी प्राकृतिक ध्वनि र संवादको बीचको खालीपनलाई पनि स्थान दिइएको छ।
फिल्म स्कूलका प्रखर कलाकारहरू भास्कर चौधरी, कुँवर पेन्टल र किशन शर्मा लगायतले आ-आफ्नो भूमिकामा पूर्ण न्याय गरेका छन्।
विशेष गरी राजनीतिक नेता र चन्दा उठाउने ठगको भूमिकामा रहेका कलाकारहरूको अनुहारको हाउभाउ निकै स्वभाविक र घृणा पैदा गर्ने खालको छ।
यो फिल्म आजको पुस्ताका फिल्म मेकर र सिनेमा प्रेमीहरूका लागि एउटा पाठ्यपुस्तक जस्तै हो, जसले न्यूनतम स्रोत र सानो क्यानभासमा पनि विशाल वैचारिक कुरा व्यक्त गर्न सकिन्छ भन्ने प्रमाणित गर्छ।
गुरु चरण सिंहको यो चलचित्रले झण्डै छ दशक अगाडि उठाएको सामाजिक र मानवीय प्रश्न आज पनि उत्तिकै आलो र चुनौतीपूर्ण रहेको छ ।
प्रतिक्रिया 4