+
+
Shares

हवाई भाडाबारे एआई प्रयोग गरिएका सामग्रीबाट भ्रम फैलाइयो : बुद्ध एयर

न्यूनतम भाडादरमा टिकट उपलब्ध गराइएकै कारण अधिकांश दिनका उडानमा टिकट बिक्री भइसकेको बुद्धले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते १७:२८

२२ असोज, काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल र केही अनलाइन सञ्चारमाध्यममा फोटोसप तथा एआई प्रयोग गरी भ्रामक स्क्रिनसट र सामग्री मार्फत हवाई भाडादर सम्बन्धी भ्रम फैलाइएको बताएको छ ।

कम्पनीले यसमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुद्ध एयरले आज जारी गरेको विज्ञप्ति मार्फत विशेषगरी धनगढीको एकतर्फी हवाई भाडा १० हजार ८ सय रुपैयाँमै उपलब्ध गराउँदै आएको बताएको छ ।

न्यूनतम भाडादरमा टिकट उपलब्ध गराइएकै कारण अधिकांश दिनका उडानमा टिकट बिक्री भइसकेको कम्पनीले जनाएको छ ।

रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण राजमार्गमा ठूलो क्षति पुगेपछि लामो समयसम्म सडक यातायात अवरुद्ध भएको थियो ।

उक्त विपद्को अवस्थामा यात्रुलाई सहज र किफायती हवाई सेवा उपलब्ध गराउने उद्देश्यले बुद्धले बाटोघाटो सहज नहुन्जेल (दसैंदेखि तिहारसम्म) न्यूनतम भाडा दरमा टिकट उपलब्ध गराउने घोषणा गरी सोही अनुसार कार्यान्वयन गर्दै आएको जनाएको छ ।

बुद्धले आफ्नो आधिकारिक प्रणाली तथा बिक्री माध्यमबाट कायम गरिएको भाडा दरबाहेक कुनै व्यक्ति, ट्राभल एजेन्सी वा अन्य माध्यमबाट अनधिकृत रूपमा बढी मूल्यमा टिकट बिक्री गरेको पाइए त्यस्ता कार्यप्रति कडा आपत्ति जनाउँदै प्रचलित कानुन बमोजिम आवश्यक कानुनी कारबाही अघि बढाउने स्पष्ट पारेको छ ।

कम्पनीले यात्रुलाई सामाजिक सञ्जाल वा अन्य अनधिकृत माध्यमबाट प्रसारित भ्रामक सूचना तथा स्क्रिनसटका आधारमा हवाई भाडासम्बन्धी धारणा नबनाउन आग्रह गर्दै बुद्धका आधिकारिक बिक्री माध्यम तथा कम्पनीको वेबसाइट एवं मोबाइल एपबाट आधिकारिक सूचना स्रोतबाट मात्र भाडा दर तथा टिकट सम्बन्धी जानकारी लिन अनुरोध गरेको छ ।

काठमाडौंबाट बाहिरिने यात्रु संख्या अहिले बढी देखिएको र भित्रिने कमै छ । बुद्धले काठमाडौं आउने यात्रुका लागि न्यूनतम भाडा दरमा प्रोमो कोडमार्फत अफर पनि उपलब्ध गराएको छ ।

प्रोमोकोड अफर बुद्धको वेबसाइट, मोबाइल एपबाट सजिलै लिन सकिन्छ । बुद्धले विपद्का बेला यात्रु तथा आम नागरिकलाई सहज, सुरक्षित र किफायती हवाई सेवा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता निरन्तर कायम राख्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?