२३ असोज, काठमाडौं । वायुमण्डल अझै अस्थिर रहेकाले आज पनि केही ठाउँमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज पनि एक–दुई स्थानमा छोटो समय भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेकाले अझै एक–दुई दिन वर्षाको सम्भावना कायम रहेको हो ।
मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ ।
मधेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साथै कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आइतबारदेखि आकाश खुल्ने सम्भावना
मौसमविद डा. विनोद पोखरेलका अनुसार शनिबारसम्मै वर्षाको क्रम जारी रहने सम्भावना छ । त्यसपछि एक–दुई स्थानमा छिटपुट वर्षा भए पनि अधिकांश ठाउँमा मौसम खुल्दै जाने उनको पूर्वानुमान छ ।
अस्तीको तुलनामा हिजो वर्षा केही कम भए पनि आज पुन: वर्षाको मात्रा केही बढ्ने सम्भावना रहेको छ । भोलि फेरि वर्षा हुने स्थान मात्रा दुवै घट्ने पूर्वानुमान छ ।
दशैंको घटस्थापनाको दिन अर्थात् असोज २५ गतेदेखि अहिलेको तुलनामा मौसममा केही सुधार देखिने सम्भावना रहेकाले बाटोको अवस्था बुझेर यात्राको योजना बनाउन सकिने मौसमविद पोखरेल बताउँछन् ।
प्रतिक्रिया 4