+
+
Shares

दसैं सपिङ : छुटको लोभमा नफस्ने ९ स्मार्ट तरिका

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते ११:२०

दसैंको सिजन सुरु भएसँगै बजारमा ‘फ्ल्याट ५० देखि ७० प्रतिशत छुट’, ‘बाइ वन गेट वन फ्री’, ‘लास्ट चान्स’ जस्ता बोर्ड र विज्ञापन देखिन थाल्छन् ।

मोबाइल खोल्यो, फ्ल्यास सेलका सूचना आउँछन् । पसलमा गयो, मनपर्ने सामानमा छुटको ट्याग झुन्डिएको हुन्छ ।

छुट देखेपछि ‘यति सस्तोमा पाइरहेको बेला किन नकिन्ने ?’ भन्ने लाग्नु स्वाभाविक हो । तर यही सोचले कतिपय अवस्थामा आवश्यकताभन्दा बढी सामान किन्न बाध्य बनाउँछ । छुट पाएको खुसीमा बजेटभन्दा बढी खर्च हुन्छ र पछि ‘यो सामान किन किनेँ होला ?’ भन्ने पछुतो हुन सक्छ ।

वास्तवमा सेल र डिस्काउन्ट केवल सामान सस्तोमा बेच्ने तरिका मात्र होइन, उपभोक्ताको मनोविज्ञानसँग पनि जोडिएको हुन्छ । ‘अहिले नकिने मौका गुम्छ’ भन्ने डर, सीमित समयको अफर र ठूलो प्रतिशत छुट देखाउने रणनीतिले हामीलाई छिटो निर्णय गर्न प्रेरित गर्न सक्छ ।

त्यसैले किनमेल गर्दा सस्तो सामान खोज्नु मात्र पर्याप्त हुँदैन । आवश्यकता, बजेट र सामानको वास्तविक मूल्य हेरेर किनमेल गर्न जान्नु नै स्मार्ट सपिङ हो।

१. किनमेल गर्नुअघि मूल्य तुलना गर्ने

कुनै सामान किन्न बजार जानुअघि त्यसको मूल्य अनलाइन पनि हेर्नुपर्छ । एउटै सामान फरक पसल वा वेबसाइटमा फरक मूल्यमा उपलब्ध हुन सक्छ । यसरी मूल्य तुलना गर्दा छुट वास्तवमै कति हो भन्ने पनि थाहा हुन्छ ।

अनलाइनमा कतिपय सामान अझ सस्तोमा भेटिन सक्छन् । तर कपडा, जुत्ता जस्ता सामान किन्दा साइज र फिटिङको समस्या आउन सक्छ । त्यसैले अनलाइन खरिद गर्दा रिटर्न तथा एक्सचेन्जको सुविधा छ कि छैन भन्ने पनि हेर्नुपर्छ ।

२.बजार जानुअघि बजेट तय गर्ने

बजार पुगेपछि मन परेको सामान देखेर बजेट अवस्था बिर्सिन सकिन्छ । कहिलेकाहीँ आवश्यक नभएको सामान पनि ‘यति राम्रो छुट छ’ भनेर किन्न मन लाग्छ । त्यसैले घरबाट निस्कनुअघि नै कति रकम खर्च गर्ने भन्ने सीमा तय गर्नुपर्छ । किनमेलको सूची बनाउनुपर्छ् र सकेसम्म त्यही सूचीमा रहेका सामानलाई प्राथमिकता दिनुपर्छ । ‘छुट छ, त्यसैले किन्नुपर्छ’ भन्दा ‘मलाई यसको आवश्यकता छ कि छैन ?’ भन्ने प्रश्नलाई प्राथमिकता दिनुपर्छ ।

३.‘अहिले नकिने मौका गुम्छ’ भन्ने हतारबाट बच्नुपर्छ

अनलाइन सपिङमा ‘केवल दुईवटा सामान बाँकी’, ‘अफर सकिन केही मिनेट मात्र बाँकी’ वा काउन्टडाउन टाइमर देखाउने गरिन्छ । यस्ता सूचनाले सामान छुट्ने डर अर्थात् ‘फोमो’ बढाउन सक्छ ।

यसले हामीलाई धेरै सोचविचार नगरी तत्काल खरिद गर्ने अवस्थामा पुर्‍याउन सक्छ । त्यसैले यस्तो सूचना देख्दा तुरुन्तै ‘बाइ नाउ’ थिच्नुको सट्टा केही समय रोकिएर सोच्नुपर्छ । कम्तीमा ३० सेकेन्डको ‘पज’ लिनुपर्छ र आफैंलाई सोध्नुपर्छ ‘यो सामान मलाई साँच्चै आवश्यक छ कि छुट देखेर मात्र किन्न मन लागेको हो ?’

४. २४ घण्टाको ‘विशलिस्ट रुल’ अपनाउने

कुनै सामान असाध्यै मन पर्‍यो भन्दैमा तुरुन्तै किन्नुपर्दैन । अनलाइन भए कार्ट वा विशलिस्टमा राखेर एप बन्द गर्न सकिन्छ । कम्तीमा २४ घण्टापछि फेरि हेर्नुपर्छ ।

तत्कालको उत्साह कम भएपछि धेरै सामानप्रतिको रुचि आफैं घट्न सक्छ । विशेषगरी महँगा सामान किन्दा यो नियम उपयोगी हुन्छ । एक दिन पर्खिंदा सामान वास्तवमै आवश्यक छ कि तत्कालको आकर्षण मात्र हो भन्ने छुट्याउन सजिलो हुन्छ ।

५. छुटको प्रतिशतभन्दा वास्तविक मूल्य हेर्ने

सेलमा पुरानो मूल्य काटेर नयाँ मूल्य देखाइन्छ । उदाहरणका लागि, ५ हजार रुपैयाँको सामानलाई २ हजार ५०० रुपैयाँमा झारिएको देख्दा ‘२ हजार ५०० रुपैयाँ बचत भयो’ भन्ने लाग्न सक्छ । यसलाई ‘एंकरिङ इफेक्ट’ सँग जोडेर बुझ्न सकिन्छ ।

तर अर्को तरिकाले सोच्दा तपाईंले २ हजार ५०० रुपैयाँ खर्च गर्नुभएको छ । त्यो सामान आवश्यक नै थिएन भने त्यो रकम बचत होइन, खर्च हो । त्यसैले छुट देख्दा आफैंलाई सोध्नुपर्छ ‘छुट नभएको भए पनि म यो सामान किन्थें ?’ उत्तर ‘किन्दिनँ’ हो भने छुटको लोभमा सामान नकिन्नु नै राम्रो हुन्छ ।

६. पसलेको ‘विशेष ग्राहक’ भन्ने कुरामा नपर्ने

‘यो छुट तपाईंका लागि मात्र हो’, ‘तपाईं हाम्रो विशेष ग्राहक हो’, ‘यस्तो सामान फेरि आउँदैन’ जस्ता कुरा पसलमा सुन्न पाइन्छ । यस्ता कुराले ग्राहकलाई तत्काल निर्णय गर्न प्रभावित गर्न सक्छ ।

त्यसैले पसलेले भनेको कुरामै भर पर्नुभन्दा सामानको मूल्य, गुणस्तर र आफ्नो आवश्यकताबारे आफैं निर्णय गर्नुपर्छ । समय लिएर अर्को पसलमा पनि मूल्य बुझ्न सकिन्छ ।

७. सेल सुरु भएको पहिलो र अन्तिम समयको फरक बुझ्ने

सेल सुरु भएको पहिलो केही दिनमा सामानको छनोट बढी हुन सक्छ । विभिन्न साइज, रङ र डिजाइन उपलब्ध हुने भएकाले आफूलाई मन परेको सामान भेटिने सम्भावना पनि बढी हुन्छ ।

तर सेलको अन्तिमतिर थप छुट आउन सक्छ । त्यसैले धेरै विकल्प चाहिने हो भने सेलको सुरुवाततिर र अधिक छुटलाई प्राथमिकता दिने हो भने अन्तिमतिर किनमेल गर्न सकिन्छ । यद्यपि ठूलो छुटका नाममा गुणस्तरहीन वा आवश्यक नभएको सामान किन्नु भने स्मार्ट सपिङ होइन ।

८.साइजमा लोभ नगर्ने

सेलमा लोकप्रिय साइजका सामान छिटो सकिन सक्छन् । विशेषगरी मिडियम साइजका कपडा चाँडै बिक्री हुने सम्भावना हुन्छ । आफ्नो साइज नपाउँदा अलि ठूलो साइज लिएर पछि घटाउने सोच आउन सक्छ।

तर सबै कपडा त्यसरी मिलाउन सकिँदैन । त्यसैले साइज नमिल्ने सामान केवल छुट छ भन्दैमा किनिहाल्नु हुँदैन । फिटिङ राम्रो नभएको कपडामा जति नै छुट भए पनि त्यो राम्रो खरिद नहुन सक्छ ।

९. एक क्लिकमा हुने भुक्तानीले खर्च बढाउन सक्छ

मोबाइल वा कार्डबाट एक क्लिकमै पैसा तिर्न सकिने भएकाले खर्च भएको त्यति धेरै महसुस नहुन सक्छ । व्यवहारगत अर्थशास्त्रमा यसलाई ‘पेन अफ पेइङ’ अर्थात् पैसा तिर्दाको अनुभूतिसँग जोडेर हेरिन्छ ।

नगद पैसा दिँदा खर्च भइरहेको प्रत्यक्ष महसुस हुन्छ । डिजिटल भुक्तानीमा त्यो अनुभूति कम हुन सक्छ । त्यसैले अनलाइन वा डिजिटल माध्यमबाट किनमेल गर्दा बजेटको सीमा पहिल्यै तय गर्नुपर्छ ।

आफ्नो खर्च ट्र्याक गर्ने, कार्टमा सामान थप्दै जाँदा कुल रकम हेर्ने र आवश्यकताभन्दा बढी सामान हटाउने बानीले पनि खर्च नियन्त्रण गर्न मद्दत गर्छ ।

सेलमा जाँदा यी कुरा सम्झनुपर्छ

सेलको अर्थ सधैं बचत होइन । आवश्यक नभएको सामान ५० प्रतिशत छुटमा किन्नु पनि खर्च नै हो । त्यसैले किनमेल गर्नुअघि सूची बनाउनुपर्छ । बजेट तय गर्नुहोस् र मूल्य तुलना गर्नुपर्छ ।

सामान मन परेपछि तुरुन्तै नकिनी केही समय सोच्नुपर्छ । छुटको प्रतिशतभन्दा सामानको वास्तविक मूल्य र आफ्नो आवश्यकता हेर्नुपर्छ ‘अहिले नकिने मौका गुम्छ’ भन्ने दबाबमा निर्णय गर्नु हुँदैन ।

स्मार्ट सपिङ भनेको धेरै छुटमा धेरै सामान घर ल्याउनु होइन । आफूलाई आवश्यक, उपयोगी र गुणस्तरीय सामान उचित मूल्यमा, आफ्नो बजेटभित्र रहेर किन्न सक्नु नै स्मार्ट सपिङ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?