News Summary
Generated by OK AI. Editorially reviewed.- वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले काठमाडौं उपत्यकामा डेरा गर्ने लोपोन्मुख आदिवासी जनजाति र दलित करिब २५० विद्यार्थीलाई विद्युतीय चुलो वितरण सुरु गरेको छ ।
- ऊर्जा र उद्योगमन्त्रीको संयुक्त पहलमा असोज २२, २३ र २६ गते स्वच्छ ऊर्जा कार्यक्रमअन्तर्गत चुलो वितरण गरिने केन्द्रले जनाएको छ ।
- केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले चुलो प्रयोगले स्वच्छ ऊर्जा खपत बढ्ने, खनिज इन्धन आयात घट्ने र विद्यार्थीको मासिक खर्च बचत हुने बताए ।
२३ असोज, काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले काठमाडौं उपत्यकामा डेरा गरी बस्ने लोपोन्मुख आदिवासी जनजाति र दलित विद्यार्थीलाई विद्युतीय चुलो वितरण गर्न थालेको छ ।
काठमाडौं बाहिरबाट आएर स्नातक वा त्यसभन्दा माथिल्लो तहमा अध्ययनरत करिब २ सय ५० विद्यार्थीलाई लक्षित गर्दै केन्द्रले स्वच्छ ऊर्जा कार्यक्रम अन्तर्गत मंगलबारदेखि चुलो वितरण सुरु गरेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको संयुक्त पहलमा यो कार्यक्रम अघि बढाइएको हो ।
केन्द्रका अनुसार असोज २२, २३ र २६ गते यो वितरण कार्यक्रम सञ्चालन हुनेछ । एलपी ग्यासको मूल्यवृद्धि र सहज उपलब्धता नहुँदा विद्यार्थीले भोग्नुपरेको समस्या मध्यनजर गर्दै राहत स्वरूप विद्युतीय चुलो वितरण गरिएको केन्द्रले जनाएको छ ।
यसले स्वदेशमा उत्पादित स्वच्छ ऊर्जा खपत बढाउनुका साथै विद्युतीय चुलो प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा छ ।
कार्यक्रम सुरुवात गर्दै केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले विद्युतीय चुलो प्रयोगले स्वच्छ ऊर्जाको खपत बढाउनुका साथै खनिज इन्धन आयात घटाउन मद्दत पुग्ने बताए ।
उनले विद्युतीय चुलो प्रयोगबाट विद्यार्थीको मासिक खर्चमा समेत उल्लेख्य बचत हुने दाबी गरे ।
यसअघि पनि केन्द्रले विद्यार्थीलाई लक्षित गर्दै ७ हजारभन्दा बढी विद्युतीय चुलो वितरण गरिसकेको छ भने स्थानीय तहसँगको साझेदारीमा १ लाख ७० हजार घरधुरीमा विद्युतीय चुलो प्रवर्द्धन गरेको छ ।
त्यस्तै हरित जलवायु कोषको सहयोगमा तराईका २२ जिल्लामा ‘क्लिन कुकिङ सोलुसन’ कार्यक्रम मार्फत थप ५ लाख विद्युतीय चुलो वितरण गर्ने केन्द्रको लक्ष्य छ ।
सरकारले तेस्रो राष्ट्रिय निर्धारित योगदान (एनडीसी) मार्फत कार्बन उत्सर्जन घटाउन सन् २०३५ सम्ममा २१ लाख घरधुरी र १५ हजार संस्थागत भान्सामा विद्युतीय चुलो पुर्याउने लक्ष्य लिएको छ ।
नेपालमा अझै पनि उल्लेख्य परम्परागत ऊर्जा प्रयोग हुने गरेको छ । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार कुल ऊर्जा खपतमा परम्परागत ऊर्जा हिस्सा ५८ प्रतिशत, व्यापारिक ऊर्जा ३९ प्रतिशत र नवीकरणीय ऊर्जा ३ प्रतिशत छ ।
हाल कुल खपतमध्ये विद्युत् (८ प्रतिशत) र नवीकरणीय ऊर्जा (३ प्रतिशत) गरी जम्मा ११ प्रतिशतमात्र स्वच्छ ऊर्जा प्रयोग भइरहेको छ ।
बाँकी ८९ प्रतिशत ऊर्जालाई स्वच्छ ऊर्जामा रूपान्तरण गर्नुपर्ने चुनौती सरकारसामु छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार नेपालमा खाना पकाउन ५१ प्रतिशतले दाउरा र ४४ प्रतिशतले एलपी ग्यास प्रयोग गर्छन् भने विद्युतीय चुलो प्रयोग जम्मा ०.५ प्रतिशतमा सीमित छ ।
प्रतिक्रिया 4