News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा दैनिक ३८ लाख अन्डा उत्पादन भइरहेको र दैनिक करिब ५० लाखको माग पूरा गर्न उत्पादन बढाउनुपर्ने नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ।
- संघका अध्यक्ष विनोद पोखरेलले भारतबाट भन्सार छलेर आउने अन्डा गत वैशाखदेखि रोकिएपछि किसानहरूले राहत महसुस गरेको बताए।
- विश्व अन्डा दिवसका अवसरमा भरतपुरमा जुम्बा डान्स, एग वाक र सरोकारवालासहितको गोष्ठी आयोजना गरिएको छ।
२३ जेठ, चितवन । नेपालमा दैनिक ३८ लाख अन्डा उत्पादन हुँदै आएको छ । पछिल्लो समयमा लेयर्स कुखुरा पाल्ने किसानहरूको संख्या बढ्दै गए पनि माग अनुसारको उत्पादन पुर्याउन किसानहरूलाई अझै धौधौ देखिएको नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले जानकारी दिए ।
उनका अनुसारमा नेपालमा दैनिक करिब ५० लाख अन्डाको माग छ । पछिल्लो समयमा किसानहरूले अन्डाको उत्पादन लागत अनुसारको मूल्य पाउन थालेपछि व्यावसायिक अन्डा उत्पादन गर्ने किसानहरूको संख्या पुन: बढ्न थालेको छ ।
संघका अध्यक्ष पोखरेलका अनुसार अन्डाले लागत अनुसारको मूल्य पाउन थालेपछि किसानहरू पनि आर्कषित हुन थालेको बताए । पोखरेलले भारतबाट भन्सार छलेर आउने अन्डा गत वैशाखदेखि रोकिएपछि किसानहरूले राहात महसुस गरेको बताए ।
संघले कोरोना महामारी अगाडिकै अवस्थामा जस्तो गरी अन्डा उत्पादन पुर्याउन खोजेको छ ।
देशभरका लेयर्स पाल्न किसानहरूलाई संगठित गरेर कोराना समयभन्दा अगाडिको जस्तो दैनिक ६५ देखि ७० लाख अन्डा उत्पादन गर्ने नीति अनुरूप काम भइरहेको अध्यक्ष पोखरेलले जानकारी दिए ।
देशको मागलाई पूरा गरेर मागसँगै आपूर्ति पनि बढाउँदै लैजाने रणनीतिका साथ काम भइरहेको उनले बताए ।
आजभन्दा ४ वर्ष अगाडिसम्म १२० को हाराहारीमा रहेका लेयर्स कुखुरापालक ठूला किसानको संख्या अहिले बढेर १८० पुगेको अध्यक्ष पोखरेलले जानकारी दिए ।
अन्डाको बजारमा मुल्य प्रति क्यारेट (३० वटा) करिब ६ सयको हाराहारीमा पुगेको छ । व्यवसायीहरूको प्रति अन्डाको लागत मूल्य १९ रुपैयाँ पर्ने संघका अध्यक्ष पोखरेलले बताए ।
किसानहरूले अहिले घाटामा नभई लागत अनुसारको मूल्य राखेर अन्डा बेच्ने गरेको अध्यक्ष पोखरेलको भनाइ छ ।
किसानहरूले १९ रुपैया प्रति गोटामा अन्डा बेचे पनि उपभोक्ता समक्ष पुग्दा प्रति गोटा अन्डाको मूल्य २५ देखि ३० सम्म पर्ने गरेको छ ।
कुखुराको प्रति अन्डा उत्पादन लागत (चल्ला, खोर, स्टार्फ, मृत्युदर, बैंक ब्याजदर, औषधि, दाना सबै) १९ रुपैयाँ भन्दा बढी लाग्ने गरेको छ ।
नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेल चर्को गर्मी र रोगका कारण कुखुरामा रोग बढी लाग्ने र अन्डा उत्पादनमा कमी आउने हुँदा अब जाडो लागैसँगै उत्पादन केही बढ्ने बताए ।
गत वैशाख जेठमा फैलिएको बर्डफ्लुका कारणले अन्डा उत्पादन गरिरहेका कुखुराहरू मार्नुपर्ने अवस्था आएकोले उत्पादन केही कमी भएको उनको भनाइ छ ।
व्यवसायीहरूले अन्डाको उत्पादन लागत घट्न नसक्दा त्यसको मार सबैतिर परेको बताउँदे आएका छन् । दाना बनाउने कच्चा सामग्री ९५ प्रति भारतसहितका तेस्रो देशबाट आयात गर्नुपर्ने अवस्था छ ।
व्यवसायीहरूका अनुसार दाना बनाउन प्रयोग हुने मकै ५० प्रतिशत मध्ये ७०/८० प्रतिशत भारतबाट ल्याउनुपर्छ । अन्डा उत्पादन गर्ने किसान बढेसँगै लेयर्स चल्लाको खपतसमेत बढेको छ ।
देशभर एक हप्तामा १ लाख लेयर्स चल्ला उत्पादन हुन्छन् । लेयर्स कुखुरापालक किसानले २० हप्तासम्म लेयर्सका चल्ला पालेपछि अन्डा उत्पादन गर्न थाल्छन् ।
झन्डै ९० हप्तासम्म लेयर्सले अन्डा राम्रो दिने र त्यसपछि हटाउने गरिएको संघका अध्यक्ष पोखरेलले बताए ।
नेपालमा दाउन्ने एग्रो फार्म दुम्कीवास, खिलुङकाली स्याङ्जा, जनकपुर एग्रो जनकपुरधाम, दुम्कीबास पोल्ट्री, हिमचुली पोल्ट्री रजहर, पूर्वाञ्चल पोल्ट्री विराटनगरले ३ लाखभन्दा बढी लेयर्स कुखुरा पाल्दै आएका छन् ।

अन्डा दिवसमा विविध कार्यक्रम
विश्व अन्डा दिवसको अवसरमा आज शुक्रबार भरतपुरमा ‘जुम्बा डान्स’ र ‘एक वाक’ कार्यक्रम गरिएको छ ।
नेपाल लेयर्स कुखुरापालक संघ केन्द्रीय समितिले दिवसको अवसरमा कार्यक्रमको आयोजना गरेको हो ।
नेपाल लेयर्स कुखुरापालक संघको कार्यालय (उद्योग संघ चितवन) को परिसरमा जुम्बा डान्स गरेर दिवसको शुभारम्भ गरिएको थियो । सो अवसरमा डिजे म्युजिकमा सहभागीहरू नाँचेका थिए ।
शारीरिक स्फूर्तिका लागि अन्डा आवश्यक पर्ने सन्देश दिन जुम्बा डान्स गरिएको संघका अध्यक्ष पोखरेलले बताए ।
जुम्बा डान्सपछि ‘एग वाक’ कार्यक्रम आयोजना गरिएको छ ।
संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार वाक अस्पतालरोड, चौबिसकोठी, वीरेन्द्र क्याम्पस चोकबाट पुन: चौबिसकोठी, एयरपोर्ट चोक हुँदै संघको परिसरमा आएर समापन गरिएको छ । सहभागीहरूले मानव स्वास्थ्यमा अन्डाको महत्त्व दर्साउने झाँकी प्रस्तुत गरेका थिए ।
नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्त्वबारे जनचेतना अभिवृद्धि गर्दै यस वर्षको विश्व अन्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेको छ ।
अन्डालाई सन्तुलित आहारको महत्त्वपूर्ण हिस्साका रूपमा प्रवर्द्धन गर्दै यसको पोषण र स्वास्थ्यमा पर्ने सकारात्मक प्रभावबारे आम नागरिकलाई जानकारी गराउन लागिएको अध्यक्ष पोखरेलले बताए ।
हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार मनाइने विश्व अन्डा दिवस मनाउने गरिन्छ । यस वर्ष दिवसको नारा ‘प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ’ रहेको छ । सन् १९९६ मा अस्ट्रियाको भियनाबाट सुरु भएको विश्व अन्डा दिवसले यस वर्ष ३० वर्ष पूरा गरेको छ ।
नेपाल लेयर्स कुखुरापालक संघको मूल आयोजना तथा अमेरिकी सोयाबिन एक्सपोर्ट काउन्सिल (यूएसएसईसी) को सहयोग तथा सरकारी र निजी क्षेत्रको सहकार्यमा विभिन्न विद्यालयमा अन्डाको महत्त्वबारे कक्षा सञ्चालन गरिएको थियो भने भरतपुरमा अन्डाको महत्त्वबारे सरोकारवालाको सहभागितामा प्यानल डिस्कसन सहितको गोष्ठी समेत आयोजना गरिएको छ ।
प्रतिक्रिया 4