News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले चाडपर्वमा स्वास्थ्य, खानेपानी, विद्युत्, दूरसञ्चार, विमानस्थल, यातायात र अस्पताललगायत अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ।
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक जनशक्ति, औषधि, उपकरण र आकस्मिक सेवा तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई पत्राचार गरेको छ।
- सरकारले स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धनका लागि ‘राष्ट्रिय एक्सप्रेस लगानी प्रणाली सञ्चालन तथा व्यवस्थापन कार्यविधि’को मस्यौदा तयार गरिरहेको छ।
२३ असोज, काठमाडौं । सरकारले चाडपर्वका बेला स्वास्थ्य, खानेपानी, विद्युत्, दूरसञ्चार, विमानस्थल, यातायात र अस्पताललगायत अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रेस ब्रिफिङको आयोजना गर्दै सो निर्देशन दिइएको जनाएको हो ।
प्रेस ब्रिफिङमा बोल्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले चाडपर्वका बेला अत्यावश्यक सेवामा अवरोध हुन नदिन आवश्यक जनशक्ति, औषधि र उपकरण तयारी अवस्थामा राख्न निर्देशन दिइएको बताए ।
‘स्वास्थ्य, खानेपानी, विद्युत्, दुरसञ्चार, विमानस्थल, यातायात, अस्पताल तथा अन्य अत्यावश्यक सेवाहरुमा चाडपर्वको बेला पनि निरन्तर रुपमा सेवा सञ्चालन गर्नको लागि आवश्यक जनशक्ति, औषधि, उपकरण तथा आकस्मिक सेवा तयारी अवस्थामा राख्ने र नागरिकलाई अत्यावश्यक सेवाका लागि अनावश्यक सास्ती नदिने भन्ने निर्णय भएको छ । यो विषयमा हामीले पत्रारचार गरेर सम्बन्धीत निकायमा पठाएका छौं,’ उनले भने ।
उनका अनुसार नागरिकलाई अत्यावश्यक सेवा लिन अनावश्यक सास्ती नदिन समेत निर्देशन दिइएको छ । यसैगरी सरकारले स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धन गर्न लगानीसम्बन्धी सेवालाई सरल, पारदर्शी, समयवद्ध र पूर्वानुमानयोग्य बनाउन कार्यविधिको मस्यौदा तयार भइरहेको प्रवक्ता अर्यालले बताए ।
स्वेदशी तथा विदेशी लगानी अभिवृद्धि गर्ने उद्देश्यले ‘राष्ट्रिय एक्सप्रेस लगानी प्रणाली सञ्चालन तथा व्यवस्थापन कार्यविधि’को मस्यौदा तयार भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए ।
‘स्वदेशी तथा विदेशी लगानीको प्रवर्द्धन गर्ने, लगानीसम्बन्धी सेवालाई सरल, पारदर्शी र पूर्वानुमानयोग्य, समयबद्ध बनाउन एउटा ‘राष्ट्रिय एक्सप्रेस लगानी प्रणाली सञ्चालन तथा व्यवस्थापन कार्यविधि’को मस्यौदा हुँदैछ । यसले लगानी गर्ने प्रणालीलाई सुधार गर्ने र जसको कारणले गर्दा स्वदेशी तथा विदेशी लगानीमा अभिवृद्धि हुने अपेक्षा र विश्वास गरिएको छ,’ अर्यालले भने ।
उक्त कार्यविधिले लगानी प्रक्रियालाई व्यवस्थित र सहज बनाउँदै स्वदेशी तथा विदेशी लगानी वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको प्रवक्ता अर्यालको भनाइ छ ।
प्रतिक्रिया 4