News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुढानीलकण्ठको घरमा छापा मारेर २१ किलो ७५०.६८ ग्राम सुन बरामद गरेको छ।
- छापामा चीनका २७ वर्षीय हान फिई, ४७ वर्षीय चोउ लङसिन र ३७ वर्षीय वाङ जियान्जेन पक्राउ परेका छन्।
- प्रहरीका अनुसार चीनमा बसेका चिनियाँ नागरिकको निर्देशनमा काठमाडौंमा अवैध सुन कारखाना सञ्चालन गरी बजारमा सप्लाइ गर्ने तयारी भइरहेको थियो।
२३ असोज, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का जघन्य अपराध अनुसन्धान गर्ने मुख्य जिम्मेवारी पाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई एउटा सूचना आयो– तस्करीको सुनको अवैध कारखाना चलिरहेको छ ।
बुढानीलकण्ठ क्षेत्रमा चिनियाँ नागरिकले अवैध कारखाना सञ्चालन गरी तस्करीको सुन कारोबार गरिरहेको सूचना आएपछि अपराध अनुसन्धान कार्यालयको टोलीले त्यसलाई थप भेरिफाइ गर्दै निगरानी बढायो ।
सूचनाअनुसार तस्करीको सुन कारोबार हुने गरेको पुष्टि भएपछि अपराध अनुसन्धान कार्यालयको ४ नम्बर पिलरले अपरेसनको तयारी गर्यो । अपरेसन ‘ब्राभो गोल्फ’ नाम दिएर प्रहरीले अपरेसन सुरु गर्यो । सामान्यतया ठूला प्रकृतिका, अनुसन्धानमा मिहिनेत लागेका र जनचासो बढी भएका विषयहरूमा अपरेसन गर्दा प्रहरीले त्यसलाई विशेष नाम दिने गरेको छ ।
बिहीबार ५ बजेतिर सुन कारखाना खोलिएको बुढानीलकण्ठ नगरपालिका–२ माथिल्लो भंगालस्थित घरमा अपराध अनुसन्धान कार्यालयको टोली पुगिसकेको थियो । पहिल्यै रेकी गरिसकेको घर कर्डन गरेर प्रहरीले अपरेसन चलायो ।
घरको ढोका खोल्ने बेलामा चिनियाँ नागरिकसँग प्रहरीको सामान्य धकेलाधकेल भयो । त्यसपछि घरभित्र प्रवेश गरेर प्रहरीले ठूलो मात्रामा सुन बरामद गर्यो । ‘हामीलाई ४ किलो सुनको सूचना आएको थियो । तर छापा मार्दा ठूलो परिमाणमा सुन भेटियो,’ अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले अनलाइनखबरसँग भने ।

४ किलो सुनको सूचनाका आधारमा छापा मार्दा २१ किलो ७५०.६८ ग्राम सुन बरामद भएको छ । बरामद भएको दिनको बजार मूल्यअनुसार उक्त सुनको मूल्य ५४ करोड ६० लाख, ७ हजार ३२० रुपैयाँ हुन आउँछ ।
माथिल्लो भंगालस्थित एक घरबाट प्रहरीले सुनका टुक्रा, बिस्कुट आकारका ढिक्का, लेसिलो अवस्थाको सुन, लेसिलो अवस्थाका धातुका टुक्रा गरी साढे २१ किलो बढी सुन बरामद गरेको छ ।
यो सुनसँग तीन चिनियाँ नागरिक पक्राउ परेका छन् । जसमा चीनको जियाङ्सु ग्वाङडोङका २७ वर्षीय हान फिई, सोही ठाउँका ४७ वर्षीय चोउ लङसिन र सोही ठाउँका ३७ वर्षीय वाङ जियान्जेन छन् ।
मासिक ३ लाख ३० हजार भाडामा घर
तस्करीको सुन ल्याई गालेर विभिन्न आकारमा बेच्नका लागि चिनियाँ नागरिकले घर नै भाडामा लिएको पाइएको छ ।
चिनियाँ नागरिक मिस्टर छु क्यानले हाल अमेरिका बस्ने बिष्ट थरका व्यक्तिको घर मासिक ३ लाख ३० हजार भाडामा लिएर सुनको कारखाना सञ्चालन गरेको पाइएको छ । घर भाडामा लिने ती चिनियाँ नागरिक भने अहिले पक्राउ परेका छैनन् । अध्यागमनको रेकर्डअनुसार ३० साउनमा उनी चीन फर्केको र अहिलेसम्म नेपाल आएको देखिँदैन ।
८ साउनदेखि घरबेटीसँग सम्झौता गरेर ४ महिनाको भाडा एकै पटक १३ लाख २० हजार रुपैयाँसमेत दिएको एसएसपी खड्का बताउँछन् ।
भाडामा लिएको घरको चाबी छु क्यानले चीनमा मिस्टर जेन जिया लीलाई दिएको अनुसन्धान अधिकृत बताउँछन् । त्यसपछि जेन जिया लीले उक्त चाबी अहिले पक्राउ परेका हान फिईलाई दिएर नेपाल पठाएको प्रारम्भिक अनुसन्धानमा देखिन्छ ।
चीनमा जेन जिया लीले दिएको चाबी लिएर नेपाल आएका फिईसहित तीन जनाले भाडामा लिएको साढे दुई तले घर सुन कारखाना सञ्चालन गरेका थिए ।

ठूलो कम्पाउन्डसमेत भएको घरमा उनीहरूले सुन गाल्ने, विभिन्न आकारमा ढाल्ने र त्यहाँबाट अर्डरअनुसार गन्तव्यसम्म पुर्याउने काम गरेको प्रहरीको बुझाइ छ ।
नेपालमा सुन भित्र्याउँदा लेसिलो बनाएर बाहिर प्लास्टिकले र्याप गर्ने गरेको देखिन्छ । लेसिलो आएको सुनलाई भाडा लिएको घरमा खडा गरिएको ड्रायर मेसिनमा राखेर सुकाउने, त्यसपछि मेल्टिङ मेसिनमा राखेर पगाल्ने काम चिनियाँ टिमले गर्थे । त्यसपछि बिस्कुटलगायतको आकार बनाएर बजारमा सप्लाई गर्ने शैली रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
कारमा सप्लाइ गर्दागर्दै बरामद
प्रहरीले चिनियाँ नागरिकले भाडामा लिएको घरको कम्पाउन्डबाटै एउटा कार बरामद गरेको छ । उक्त कार उनीहरूले भाडामा लिएर प्रयोग गर्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । दैनिक ८ हजार रुपैयाँ तिर्ने गरी यो कार ११ असोजदेखि २५ असोजसम्मका लागि भाडामा लिएको खुलेको छ ।
घरको चाबी बोकेर चीनबाट ११ असोजमा मात्रै हान फिई काठमाडौं आएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनासाथ कार उनले भाडामा लिएका थिए । प्रहरीले बताएअनुसार उक्त कार व्यक्तिसँग नभई रिकन्डिसन तथा रेन्टल हाउसबाट भाडामा लिएका हुन् ।
बिहीबार बिहान प्रहरी घरमा छापा मार्न पुग्दा उक्त कारबाट पनि सुनका दुई वटा बिस्कुट बरामद भएका थिए । एक/एक किलोको दुई वटा बिस्कुट कागजमा र्याप गरेको अवस्थामा चालक सिट नजिकको बक्समा फेला परेको थियो ।
तयारी अवस्थाका सुनका बिस्कुट कारबाट बरामद हुनुले उक्त सुन निश्चित गन्तव्यमा पुर्याउने तयारीमा रहेको प्रहरीको विश्लेषण छ । यद्यपि, यो सुन पुर्याउने गन्तव्य कहाँ हो भन्नेबारे प्रहरी अनविज्ञ छ । ‘यो सुनको पिन पोइन्ट कहाँ थियो भन्ने खुल्न बाँकी नै छ । तर तयारी अवस्थाको सुन कारबाट बरामद हुनुले बजार लगिँदै थियो भन्ने हाम्रो बुझाइ छ,’ एसएसपी खड्का भन्छन् ।
चीनबाट निर्देशन, नेपालमा कारोबार
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चीनमा बसेका चिनियाँ नागरिकको निर्देशनमा नेपालमा सुन तस्करीको धन्दा र बजार सप्लाइसम्मको काम हुने गरेको छ ।
अहिले हिरासतमा रहेका हान फिईलाई उद्धृत गर्दै एक अनुसन्धान अधिकृत भन्छन्, ‘चीनको ग्वान्जाओमा रहेका मिस्टर जेन जिया लीको निर्देशनअनुसार अहिले पक्राउ परेकाहरूले काठमाडौंमा बसेर काम गरेको देखिन्छ ।’

ग्वान्जाओबाट निर्देशन दिने भनिएका जेन जिया ली तिनै व्यक्ति हुन् जसले सुन कारखानाकै लागि माथिल्लो भंगालमा भाडामा लिएको सिंगो घरको चाबी छु क्यानमार्फत चीनमै बुझेका थिए । उनै जेन जिया लीले नेपालमा रहेका चिनियाँलाई निर्देशन दिने र उनैले भनेअनुसारको ठाउँमा लगेर सुन दिने गरेको पक्राउ परेकाहरूले प्रहरीसमक्ष बताएका छन् ।
‘कारखानामा प्रशोधत गरी सुन तयार गरिसकेपछि काठमाडौंमा कहाँ, के–कसरी, कसलाई दिने, पुर्याउने निर्देशन भने वी–च्याटमार्फत ग्वान्जाओमा रहेका जेन जिया लीले दिने गरेको देखिन्छ,’ एसएसपी खड्का भन्छन् ।
बजार बुझेपछि चीन फर्केर सुन तस्करी
अहिले ग्वान्जाओमा बसेर सुन कारोबार गर्ने जेन जिया लीकै निर्देशनमा काठमाडौं आएर सुरुमा छु क्यानले यहाँको सुनको बजार र कारोबार अवस्थाबारे बुझेको प्रहरीको बुझाइ छ ।
चाडपर्वमा सुन बढी खपत हुने भएकाले त्यसैलाई लक्षित गरी नेपाली बजारमै खपत गर्ने उद्देश्यले सुन तस्करी गरेको हुनसक्ने प्रहरीले विश्लेषण गरेको छ ।
छु क्यान काठमाडौं आएर यहाँको सुन बजार बुझेर सबै व्यवस्थापन गर्दै घरसमेत भाडामा लिएर ३० साउनमा चीन फर्केका थिए । उनी त्यसपछि भने काठमाडौं आएका थिएनन् ।
‘छु क्यानले काठमाडौंको सुन बजार र ग्राहक खोजिसकेपछि घर भाडामा लिएर चीन फर्केको देखिन्छ । त्यसपछि अर्को टोली काठमाडौं आएर सुन कारखाना सञ्चालन गरेको देखिन्छ,’ एक अनुसन्धान अधिकृत भन्छन् ।
बजार बुझेर चीन पुगेका उनी १५ असोजमा फेरि काठमाडौं आएका हुन् । अहिले पक्राउ परेका बाँकी २ चिनियाँ भने पहिलो पटक काठमाडौं आएका व्यक्ति हुन् । उनीहरू सबै जना पर्यटन भिसामा नेपाल आएका थिए ।

हवाई रुटबाट सुन भित्रिएको आशंका
अहिले बरामद भएको सुन हवाई रुटबाट काठमाडौं भित्रिएको आशंका प्रहरीले गरेको छ । पक्राउ परेका तीनै जना चिनियाँ नागरिक पनि हङकङ हुँदै काठमाडौं आएका थिए ।
उनीहरूमध्ये २ जना ११ असोजमा र १ जना १५ असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको अध्यागमनको रेकर्डमा देखिन्छ ।
काठमाडौं ओर्लिएपछि उनीहरू तीन/चार पटक एअरपोर्ट जाने/आउने गरेकोसम्म प्रहरीले पत्ता लगाएको छ । काठमाडौंमा रहँदा पनि विमानस्थलमा ओहोर–दोहार भइरहेको र उनीहरू हवाई रुट हुँदै काठमाडौं भित्रिएकाले बरामद सुन पनि हवाई रुटबाटै काठमाडौं भित्रिएको आशंका प्रहरीको छ ।
लेसिलो आकार बनाएर सुन ल्याउँदा सहज हुने, लुकाउन मिल्ने भएकाले उनीहरूले उक्त स्वरूपमा हवाई रुटबाटै सुन ल्याएको हुनसक्ने आशंका प्रहरीको छ ।
यद्यपि, विस्तृत अनुसन्धानपछि बल्ल यसको यकिन पत्ता लाग्ने प्रहरीले बताएको छ । ‘कहाँबाट सुन आयो र यसको गन्तव्य कहाँ हो भन्ने अनुसन्धान गरेर पुष्टि गर्न बाँकी नै छ,’ एसएसपी खड्का भन्छन् । अहिले दोभाषेमार्फत सोधपुछ तथा अनुसन्धानको काम भइरहेको छ ।
तस्वीरहरू: आर्यन धिमाल
प्रतिक्रिया 4