News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवा बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार दिने व्यवस्था गर्न निर्देशन दिएका छन्।
- शुक्रबार अर्थ मन्त्रालयको राजस्व समीक्षा बैठकमा उनले बिल दिने संस्कार विकास गर्न कार्यविधि संशोधनको प्रस्ताव ल्याउन आन्तरिक राजस्व विभागलाई भनेका छन्।
- साउन १ देखि असोज १५ सम्म उपभोक्तालाई दिइएको प्रोत्साहनअन्तर्गत ७४ जनाले जनही १ लाख र ५ जनाले बम्परमा ७ लाख ५० हजार रुपैयाँ जितिसकेका छन्।
२३ असोज, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवा बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार दिने व्यवस्था गर्न निर्देशन दिएका छन् ।
शुक्रबार अर्थ मन्त्रालयमा आयोजित राजस्व समीक्षा बैठकमा बोल्दै उनले आन्तरिक राजस्व विभागलाई यस्तो निर्देशन दिएका हुन् ।
बिल लिने र दिने संस्कार विकास गरी औपचारिक अर्थतन्त्र निर्माण गर्न भन्दै सरकारले यसै आर्थिक वर्षदेखि उपभोक्तालाई बिल लिएबापत नगदमार्फत पुरस्कृत गर्दै आएको छ ।
सो कार्यक्रमका कारण बिल लिने संस्कार विकास भएको र राजस्व सङ्कलनमा प्रत्यक्ष फाइदा पुगेको भन्दै अर्थमन्त्री डा. वाग्लेले शुक्रबार विभागलाई यस्तो निर्देशन दिएका हुन् ।
प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको छ । उनले व्यापारीहरुलाई समेत प्रोत्साहन गर्न जरुरी रहेको बताए ।
‘बिल लिनुपर्छ भन्ने त व्यापक देखियो। तर, बिल जारी गर्नुपर्छ भन्नेलाई पनि प्रोत्साहनको नीति लिन जरुरी देखियो,’ उनले मातहतका उच्च अधिकारीहरूलाई भने, ‘कार्यविधि संशोधन गरेर प्रस्ताव लिएर आउनुहोस् । कति रकम कसरि दिन सकिन्छ । जसले उहाँहरुलाई पनि बिल जारी गर्न झन्झट नहोस् ।’
बिल लिनुपर्छ भन्दै गर्दा बिल दिनुपर्छ भन्ने संस्कारको विकास गर्न पनि जरुरी रहेको उनले बताए । साउन १ गतेदेखि सुरु भएको करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमअन्तर्गत बिल नम्बरका आधारमा हरेक १५–१५ दिनमा दैनिक एक जनालाई एक लाख ३४ हजार र एक–एक जनालाई बम्पर उपहारमा १० लाख रुपैयाँ नगद प्रदान गरिँदै आएको छ। जसमा आकस्मिक लाभकर कट्टी हुँदा विजेताले क्रमश: दैनिक एक–एक लाख र बम्परमा सात लाख ५० हजार रुपैयाँ नगद प्राप्त गर्छन् ।
हालसम्म साउन १ गतेदेखि असोज १५ गतेसम्म पाक्षिक रुपमा पाँच वटा उपहार घोषणा भएर विजेतालाई नगद उपहार प्रदान गरिसकिएको छ । जसमा ७४ जनाले जनही एक लाख रुपैयाँ र पाँच जनाले बम्पर उपहारमा ७ लाख ५० हजार रुपैयाँ जितिसकेका छन् । अब विभागले बेलैमा कार्यविधिमा व्यवस्था गरेको अवस्थामा असोजको दोस्रो पाक्षिक (असोज १६ देखि मसान्त) को पुरस्कार घोषणामा विक्रेताका लागि पनि पुरस्कार घोषणा हुने अर्थ मन्त्रालयले जनाएको छ । पुरस्कार प्रोत्साहन रकम उपभोक्ताको जत्तिको ठूलो नहुने स्पष्ट छ तर रकम कति हुने भन्ने यकिन भइसकेको छैन ।
प्रोत्साहन पुरस्कारमा सहभागी हुन उपभोक्ताले वस्तु खरिद गर्दा अनिवार्य रुपमा सक्कल प्यान वा भ्याट बिल लिनुपर्छ । अनलाइनबाट खरिदको रकम भुक्तानी गरेका उपभोक्ता स्वत: पुरस्कारका लागि योग्य हुन्छन् । नगदमा कारोबार गरेर बिल लिएका उपभोक्ताले आन्तरिक राजश्व विभागको करदाता पुरस्कार पोर्टलमा दिइएको लिङ्क खोलेर बिल अपलोड गर्न सकिन्छ ।
प्रतिक्रिया 4