+
+
Shares

दशैं लाग्यो, २४ घण्टामा ५६ हजारले छाडे काठमाडौं उपत्यका

दशैं मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन् ।

रासस रासस
२०८३ असोज २७ गते ८:३४
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दशैं मनाउन काठमाडौं उपत्यकाबाट सोमबार बिहानदेखि २४ घण्टामा ५६ हजार ८०९ यात्रु बाहिरिएका छन्।
  • काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा नाकाबाट २७ हजार ६४९ र भक्तपुर नाकाबाट २० हजार ६१५ यात्रु बाहिरिएका छन्।
  • नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले राजमार्ग बिग्रिँदा सवारीसाधन व्यवस्थापनमा समस्या परेको भन्दै यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

२७ असोज, काठमाडौं । बडादशैं नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ ।

दशैं मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन् ।

काठमाडौं उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दशैंमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किने क्रम बढेको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले दशैं मनाउनका लागि काठमाडौँका विभिन्न नाका हुँदै सोमबार बिहानदेखि आज बिहानसम्मको २४ घण्टामा ५६ हजार ८०९ यात्रु बाहिरिएको राससलाई जानकारी दिए ।

उनका अनुसार फर्पिङ नाकाबाट पाँच हजार ५१०, नागढुङ्गा नाकाबाट २७ हजार ६४९, थानकोट नाकाबाट ५६, भीमढुङ्गा नाकाबाट ५१३, तीनपिप्ले नाकाबाट ९७२, साँखु नाकाबाट ६०८, भक्तपुर नाकाबाट २० हजार ६१५ र भट्टेडाँडा नाकाबाट ८८६ यात्रु बाहिरीएका छन् ।

दशैंका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न समस्या भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बाटोको कारण यातायात व्यवस्थापनमा समस्या भएको बताए ।

“दशैंको पूर्वसन्ध्यामा विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिँदा सवारीसाधन समयमा गन्तव्यमा पुन्न तथा काठमाडौँ आउन समस्या हुँदा सवारीसाधन व्यवस्थापनमा समस्या परेको छ,” उनले भने ।

असोज २३ गते अग्रीम बस टिकट बुकिङ खुला गरेको दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भाँसिदा सवारीसाधन आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमा रोकिँदा समस्या भएको महासचिव गौतमले बताए ।

महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ ।

दशैंले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिसहरू चाडपर्व मनाउन घर फर्किने क्रम हरेक वर्ष बढ्ने गरेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?