+
+
Shares

२०२७ अक्टोबरसम्म पोखरा–दुबई उडानको बुकिङ खुला, १९ दिनमा कति आए ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १६:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फ्लाई दुबईले पोखरा–दुबई सिधा उडानका लागि सन् २०२७ अक्टोबर ३० सम्मको टिकट बुकिङ खुला गरेको छ।
  • फ्लाई दुबईले सेप्टेम्बर २३ देखि अक्टोबर १२ सम्म १९ दिन उडान गरी ४ हजार ५३६ यात्रुको आवागमन गराएको छ।
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले पोखरा–दुबई उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्ने अवसर भएको बताए।

२७ असोज, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईमा सिधा उडान सञ्चालन गरिरहेको फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मको टिकट बुकिङ खुला गरेको छ ।

यसले पोखरा–दुबई उडान नियमित हुने आशा जगाएको छ भने पोखरेली पर्यटन व्यवसायीमा उत्साह थपेको छ ।

फ्लाई दुबईले गत सेप्टेम्बर २३ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गरेको हो । विमानस्थलको तथ्यांकअनुसार सेप्टेम्बर २३ देखि अक्टोबर १२ सम्मको २० दिनमा १९ दिन उडान भएको छ । एक दिन मौसमका कारण उडान अवरुद्ध भएको थियो । यस अवधिमा फ्लाई दुबईमार्फत ३ हजार ११३ जना पोखरा आएका छन् भने १ हजार ४२३ जना पोखराबाट दुबई गएका छन् ।

पोखरा आएका यात्रुमध्ये २ हजार ८१५ जना नेपाली, २८१ जना विदेशी र १७ जना शिशु छन् । त्यसैगरी पोखराबाट दुबई जानेमध्ये १ हजार २४८ जना नेपाली, १७० जना विदेशी र ५ जना शिशु छन् ।

यसरी १९ दिनमा पोखरा आएका र पोखराबाट दुबई गएका यात्रुको संख्या छुट्टाछुट्टै जोड्दा कुल ४ हजार ५३६ यात्रुको आवागमन भएको छ ।

सेप्टेम्बर २३ देखि ३० सम्मको आठ दिनमा १ हजार १०२ जना पोखरा आएका थिए भने ६६५ जना दुबई गएका थिए । त्यस्तै, अक्टोबर १ देखि १२ सम्मको १२ दिनमा २ हजार ११ जना पोखरा आएका छन् भने ७५८ जना दुबई गएका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाका अनुसार पोखरा–दुबई सिधा उडान पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्ने महत्त्वपूर्ण अवसर हो । यसले पोखराको पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय आवागमनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मको बुकिङ खुला गरेपछि पोखराका पर्यटन व्यवसायीमा थप उत्साह जागेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । लामो समयसम्मको बुकिङ खुल्नुले पोखरा–दुबई उडान निरन्तर हुने आशा जगाएको र पोखरेलीमा उत्साह थपेको उनले बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि नियमित अन्तर्राष्ट्रिय उडानको अभावमा यसको पूर्ण उपयोग हुन नसकेको गुनासो हुँदै आएको छ । फ्लाई दुबईको उडानले पोखरालाई दुबईसँग सिधै जोड्नुका साथै दुबई हुँदै अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा यात्रा गर्ने यात्रुलाई समेत सहजता प्रदान गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय हवाई सञ्जालको महत्त्वपूर्ण केन्द्र भएकाले पोखराबाट त्यहाँको सिधा उडानले पर्यटन, व्यापार र वैदेशिक यात्रामा सकारात्मक प्रभाव पार्न सक्ने श्रेष्ठको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?