२८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी २०८३ को स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा समावेशिताको नयाँ र कडा मापदण्ड लागू गर्ने भएको छ।
पार्टीले सार्वजनिक गरेको स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुसार समावेशिताको नाममा बारम्बार एउटै वर्ग वा परिवारले लाभ लिने प्रवृत्तिलाई रोक्न यस्तो व्यवस्था गरिएको हो।
रूपरेखामा उम्मेदवारको कुल मूल्याङ्कनमा समावेशितालाई १० प्रतिशत भाराङ्क दिइएको छ। तर, विगतमा राज्यबाट लाभको पद (सांसद, मन्त्री, राजदूत) पाइसकेका वा आरक्षणको सुविधा उपभोग गरिसकेका व्यक्ति र तिनका एकाघरका परिवारका सदस्यहरूलाई उम्मेदवार छनोट प्रक्रियामा समावेशिता खण्डअन्तर्गतको थप अंक प्रदान गरिने छैन।
वास्तविक विपन्न र अवसरबाट वञ्चित वर्गलाई मात्र समावेशिताको लाभ दिलाउन यो नीति ल्याइएको पार्टीको भनाइ छ।
यसको सट्टा, पार्टीले बहुआयामिक समावेशिताको अवधारणाअन्तर्गत खुला सिटमा प्रतिस्पर्धा गर्न चाहने महिला, ४० वर्षमुनिका युवा, वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गरिरहेका व्यक्ति, अपाङ्गता भएका नागरिक र अति दुर्गम बस्तीका आकांक्षीहरूलाई विशेष प्राथमिकता र थप अंक दिने व्यवस्था गरेको छ।
प्रतिक्रिया 4