News Summary
Generated by OK AI. Editorially reviewed.- श्रिया सरनले १७ वर्षको उमेरमा ‘थिरकती क्यों हवा’ म्युजिक भिडियोपछि तेलुगु फिल्म ‘इष्टम’ बाट अभिनय सुरु गरिन्।
- उनले हिन्दी फिल्म ‘तुझे मेरी कसम’, ‘शुक्रिया’ र ‘मिसन इस्तानबुल’ मा अपेक्षित सफलता पाउन सकिनन्, तर पछि ‘शिवाजी’ र ‘दृश्यम’ ले पहिचान दिलाए।
- सन् २०१८ मा विवाह र छोरी राधाको जन्मपछि पनि श्रियाले काम र परिवारबीच सन्तुलन मिलाउँदै अभिनय निरन्तरता दिइन्।
श्रिया सरनका आमाबुबा छोरीले पढाइ पूरा गरेपछि मात्र अभिनय क्षेत्रमा प्रवेश गरोस् भन्ने चाहन्थे। तर, एउटा म्युजिक भिडियोले उनको जीवनको दिशा नै बदलिदियो । तेलुगु फिल्म ‘इष्टम’ बाट अभिनय सुरु गरेकी श्रियाले दक्षिण भारतीय फिल्ममा आफ्नो पहिचान बनाइन् । तर, बलिउडमा भने उनले धेरै संघर्ष गर्नुपर्यो। ‘तुझे मेरी कसम’, ‘शुक्रिया’ र ‘मिसन इस्तानबुल’ जस्ता फिल्मबाट उनले अपेक्षित सफलता पाउन सकिनन्।
उनले आफ्नो करियरमा केही गलत निर्णय गरेको कुरा पनि स्वीकार गरेकी छिन् । तर, उनले हार मानिनन् । रजनीकान्तको ‘शिवाजी’, अजय देवगनको ‘दृश्यम’ शृङ्खला र एसएस राजामौलीको ‘आरआरआर’ जस्ता फिल्मले उनलाई नयाँ पहिचान दिलाए।
नृत्य शिक्षिकाको एउटा सुझावले बदलियो जीवन
श्रियाको परिवारको फिल्म क्षेत्रसँग कुनै सम्बन्ध थिएन । बाल्यकालदेखि नै अभिनेत्री बन्ने सपना पनि उनले देखेकी थिइनन् । सन् १९८२ सेप्टेम्बर ११ मा जन्मिएकी उनी हरिद्वारमा बाल्यकाल बिताएपछि दिल्ली गइन् । त्यहाँ लेडी श्रीराम कलेजमा अंग्रेजी साहित्यको अध्ययन गरिन् । साथै, कथक नृत्यको तालिम पनि लिइन् ।
कलेजमा पढ्दै गर्दा एउटा म्युजिक भिडियोमा काम गर्ने अवसर मिल्यो । यही अवसरले उनको जीवन बदलिदियो । उनकी नृत्य शिक्षिकाले एउटा निर्माण कम्पनीलाई श्रियाको नाम सुझाएकी थिइन्। श्रियाले यसलाई करियर बनाउने योजनाका रूपमा नभई नयाँ अनुभव लिने अवसरका रूपमा हेरेकी थिइन् । त्यसैले उनी अडिसन दिन पुगिन् ।

त्यसपछि उनी ‘थिरकती क्यों हवा’ नामक म्युजिक भिडियोमा देखिइन्। यही भिडियोले उनका लागि फिल्म क्षेत्रमा प्रवेश गर्ने ढोका खोल्यो । उनलाई तेलुगु फिल्म ‘इष्टम’ मा अभिनय गर्ने प्रस्ताव आयो । यसरी १७ वर्षको उमेरमै उनी अभिनय क्षेत्रमा प्रवेश गरिन्।
पहिले पढाइ पूरा गर्नुपर्ने सर्त
श्रिया फिल्ममा काम गर्ने निर्णय गर्दा उनका आमाबुबा धेरै उत्साहित थिएनन् । बुबा इन्जिनियर थिए भने आमा विद्यालयमा रसायनशास्त्र पढाउँथिन् ।
छोरीले पहिले पढाइ पूरा गरोस् र त्यसपछि मात्र करियरबारे निर्णय लेओस भन्ने आमाबुबा चाहन्थे । श्रियालाई फिल्ममा काम गर्न अनुमति दिए पनि पढाइ बीचमै छाड्न नपाउने सर्त थियो । उनले पढाइ र अभिनय दुवैलाई सँगसँगै अघि बढाउनुपर्ने थियो।
तेलुगु फिल्म ‘इष्टम’ को छायाङ्कनका लागि उनी हैदराबाद जानुपर्यो । फिल्मको सेटमा अभिनय सिक्दै कलेजको पढाइलाई पनि निरन्तरता दिनुपर्थ्यो । त्यसमाथि उनलाई तेलुगु भाषा आउँदैनथ्यो।
‘फिल्मफेयर’ लाई दिएको अन्तर्वार्तामा श्रियाले छायाङ्कनका सुरुवाती दिनको एउटा घटना सुनाएकी थिइन् । एकपटक तेलुगु संवाद बोल्ने क्रममा उनी अड्किइन्।
निर्देशकले संवाद बोल्न नसके दिल्ली फर्किनुपर्ने बताए । त्यसपछि श्रियाले तुरुन्तै संवाद बोलिन् । किनभने उनी फिल्मको छायाङ्कन छाडेर दिल्ली फर्किन चाहन्नथिन्।
हिन्दी फिल्ममा भने संघर्ष
‘इष्टम’ पछि श्रियाले तेलुगु फिल्ममा काम पाउन थालिन् । सन् २००२ मा आएको ‘सन्तोषम’ उनको करियरको सुरुवाती सफल फिल्ममध्ये एक थियो । त्यसपछि उनले तमिल र तेलुगु फिल्ममा निरन्तर काम गरिन्।
तर, हिन्दी फिल्ममा उनको यात्रा सहज भएन। उनले ‘तुझे मेरी कसम’, ‘शुक्रिया: टिल डेथ डु अस अपार्ट’ र ‘मिसन इस्तानबुल’ मा अभिनय गरिन्। तर, यी फिल्मबाट चाहेजस्तो सफलता र पहिचान पाउन सकिनन्।
असफलताका लागि अरूलाई दोष दिनुको सट्टा श्रियाले आफ्ना गल्ती औँल्याइन् । एउटा पुरानो अन्तर्वार्तामा उनले हिन्दी फिल्म छनोट गर्दा आफूबाट केही गल्ती भएको हुन सक्ने स्वीकार गरेकी थिइन्।
उनका अनुसार असफलताको सधैँ एउटै स्पष्ट कारण हुँदैन।
श्रियाका हिन्दी फिल्ममध्ये ‘आवारापन’ उल्लेख गर्नुपर्ने फिल्म हो । इमरान हास्मीसँग अभिनय गरेको यस फिल्ममा उनले प्रेमसँगै पीडा र संघर्ष भोगिरहेकी युवतीको भूमिका निर्वाह गरेकी थिइन्।

फिल्म प्रदर्शन हुँदा ठूलो व्यावसायिक सफलता पाउन सकेन। यसले गर्दा श्रियाको पहिचानमा पनि असर पर्यो । फिल्मका लागि मनोनयन प्राप्त गरे पनि उनलाई केही पुरस्कार समारोहमा निमन्त्रणा गरिएन । तर, पछिल्ला वर्षमा यस फिल्मले दर्शकमाझ लोकप्रियता पायो । इमरान हास्मी र श्रियाको जोडी तथा फिल्मको सङ्गीत पनि दर्शकले मन पराए ।
एउटा फिल्मबाट प्रशंसा पाए पनि श्रियाले हिन्दी फिल्म क्षेत्रमा लगातार ठूला अवसर पाउन सकिनन् । त्यसबेला अन्य भाषाका फिल्मको पहुँच पनि सीमित थियो ।
पछि दिएका अन्तर्वार्तामा उनले दक्षिण भारतीय फिल्ममा ठूला कलाकारसँग काम गरिरहेको भए पनि आफ्नो काम हिन्दी भाषी दर्शकमाझ सजिलै पुग्न नसकेको बताएकी थिइन् । त्यतिबेला अहिलेको जस्तो ओटीटी प्लेटफर्म र एउटै फिल्मलाई धेरै भाषामा देशव्यापी रूपमा प्रदर्शन गर्ने चलन व्यापकता पाएको थिएन ।
दिल्लीमा पढ्दा कलेजका केही प्राध्यापकलाई आफू दक्षिण भारतीय फिल्ममा अभिनेत्रीका रूपमा काम गरिरहेको कुरा विश्वास दिलाउनसमेत कठिन भएको उनले बताएकी थिइन् । कलेजमा कम उपस्थित भएका कारण परीक्षा दिन समस्या भएपछि छोरी फिल्ममा काम गरिरहेको कुरा उनका बुबाले नै बुझाउनुपरेको थियो।
‘शिवाजी’ ले बदल्यो करियर
सन् २००७ मा श्रियाको करियरमा ठूलो मोड आयो । उनी रजनीकान्तसँग तमिल फिल्म ‘शिवाजी : द बोस’ मा देखिइन् । एस. शंकरको निर्देशनमा बनेको यस फिल्ममा उनले मुख्य महिला पात्रको भूमिका निर्वाह गरेकी थिइन्।
फिल्म प्रदर्शन भएपछि उनको लोकप्रियता बढ्यो । रजनीकान्तसँग काम गर्ने अवसर उनका लागि महत्त्वपूर्ण साबित भयो । यसले दक्षिण भारतीय फिल्म क्षेत्रमा उनको उपस्थिति थप बलियो बनायो।
एउटा अन्तर्वार्तामा श्रियाले फिल्ममा काम गर्ने सम्झौता गर्दा यसको निर्देशन शंकरले गरिरहेको जानकारी भए पनि कुन अभिनेता मुख्य भूमिकामा छन् भन्ने थाहा नभएको बताएकी थिइन्।
यस फिल्मले उनलाई आफ्नो पहिचान व्यापक बनाउने अवसर दियो । त्यसपछि उनले तमिल र तेलुगुका धेरै चर्चित फिल्ममा काम गरिन्।
विभिन्न भाषाका फिल्ममा काम
श्रियाको करियर केही सफल फिल्ममा मात्र सीमित छैन । उनले हिन्दी, तमिल र तेलुगुसहित विभिन्न भाषाका फिल्ममा अभिनय गरेकी छन्।
उनका लागि फरक–फरक भाषामा काम गर्नु चुनौती पनि थियो र नयाँ कुरा सिक्ने अवसर पनि । प्रत्येक फिल्म उद्योगको काम गर्ने शैली, दर्शकको रुचि र कथा प्रस्तुत गर्ने तरिका फरक हुन्छ। उनले यी सबैसँग आफूलाई अनुकूल बनाउनुपर्यो ।
आफ्नो करियर विभिन्न उतारचढाव र निर्णयहरूको परिणाम भएको उनी बताउने गर्छिन् । ‘जीवनमा सबै कुरा पहिले नै योजना बनाएर अघि बढाउन सकिँदैन। हरेक अनुभवबाट केही न केही सिक्न सकिन्छ’ श्रियाको बुझाइ छ ।
सुरुवाती दिनमा फिल्मको पटकथा र करियरसम्बन्धी निर्णय गर्दा उनी बढी भावनामा बहकिन्थिन् । तर, समयसँगै उनले परिस्थितिलाई बुझ्न सिकिन्। फिल्म छनोट गर्ने उनको सोच पनि अनुभवसँगै बदलियो।
यो परिवर्तन हरेक कलाकारका लागि आवश्यक हुन्छ । सुरुवातमा सफलताको दबाब हुन्छ । तर, लामो समय टिकिरहन आफ्ना गल्ती पहिचान गर्न र नयाँ अवसरका लागि तयार रहनुपर्छ ।
‘दृश्यम’ पछि हिन्दी दर्शकमाझ लोकप्रिय
सन् २०१५ मा आएको ‘दृश्यम’ श्रियाको हिन्दी फिल्म करियरको महत्त्वपूर्ण उपलब्धि बन्यो । निशिकान्त कामतको निर्देशनमा बनेको यस फिल्ममा उनले अजय देवगनकी पत्नी नन्दिनी सालगाउँकरको भूमिका निर्वाह गरेकी थिइन्।
फिल्मको कथा कठिन परिस्थितिमा फसेको एउटा परिवारको वरिपरि घुम्छ । नन्दिनीले आमा र पत्नीका रूपमा आफ्नो परिवारलाई जोगाउन संघर्ष गर्छिन् । यस भूमिकामा श्रियाले आकर्षक देखिनुभन्दा भावनात्मक अभिनयमा बढी ध्यान दिने अवसर पाइन्।
फिल्म सफल भएपछि सन् २०२२ मा ‘दृश्यम २’ प्रदर्शन भयो । यसमा पनि उनले नन्दिनीकै भूमिका निर्वाह गरिन्। यी दुवै फिल्मले उनलाई हिन्दी दर्शकमाझ बलियो पहिचान दिलाए ।
सन् २०२६ मा ‘दृश्यम’ शृङ्खलाको तेस्रो फिल्मबारे चर्चा हुँदा श्रियाले आफ्नो अनुभव पनि सेयर गरिन् । लामो समयसम्म नन्दिनीको भूमिका निर्वाह गर्दा पात्रसँग भावनात्मक सम्बन्ध स्थापित भएको बताइन् । उनका लागि नन्दिनी केवल फिल्मको पात्र मात्र नभई धेरै वर्षको अनुभवसँग जोडिएको भूमिका बनेको छ।
अडिसन दिन आफन्तको बिहे नै छाडिन्
श्रियाको करियरसँग जोडिएको अर्को रोचक घटना एसएस राजामौलीको फिल्म ‘आरआरआर’ सँग सम्बन्धित छ।
‘द टाइम्स अफ इन्डिया’ लाई दिएको अन्तर्वार्तामा उनले अडिसन दिन आफ्ना काकाकी छोराको विवाह समारोह बीचमै छाडेर हैदराबाद जानुपरेको बताएकी थिइन्। राजामौलीसँग फेरि काम गर्ने अवसर उनका लागि विशेष थियो । अडिसनका लागि बोलाउनेबित्तिकै उनले हैदराबाद जाने निर्णय गरिन्।
‘आरआरआर’ मा श्रियाले अजय देवगनको पत्नीको भूमिका निर्वाह गरेकी थिइन्। फिल्ममा उनको भूमिका छोटो भए पनि कथाको भावनात्मक पक्षमा महत्त्वपूर्ण थियो।
यस फिल्ममा रामचरण र जुनियर एनटीआर मुख्य भूमिकामा थिए । फिल्मले अन्तर्राष्ट्रिय स्तरमा लोकप्रियता पायो र भारतीय फिल्मलाई विश्वभरका दर्शकमाझ पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्यो।
आमा बनेपछि पनि अभिनयलाई निरन्तरता
अभिनयसँगै श्रियाको व्यक्तिगत जीवनमा पनि विभिन्न परिवर्तन आए । सन् २०१८ मा उनले रुसी उद्यमी आन्द्रेई कोश्चिभसँग विवाह गरिन् । उनीहरूकी छोरी राधाको जन्म भयो।
आमा बनेपछि काम र परिवारबीच सन्तुलन मिलाउनु उनका लागि चुनौतीपूर्ण थियो । एउटा अन्तर्वार्तामा उनले ‘दृश्यम २’ को छायांकनका बेला छोरी ८ महिनाकी रहेको बताएकी थिइन् ।
छोरीको हेरचाह गर्न सकून् भनेर फिल्मको पटकथा पढ्ने समय र छायाङ्कनको तालिका मिलाइएको थियो।
आमा बनेको अनुभवले उनको अभिनयलाई पनि प्रभाव पार्यो । लामो समयदेखि आमाको भूमिका निर्वाह गर्दै आएकी श्रियाका लागि वास्तविक जीवनमा आमा बनेपछि यस्ता पात्रको भावना बुझ्नु नयाँ अनुभव बन्यो।
सफलतापछि पनि आफूलाई प्रमाणित गर्नुपर्ने दबाब
करिब २५ वर्षको करियरमा श्रियाले ठूला फिल्ममा काम गरिन्, विभिन्न भाषामा पहिचान बनाइन् र अनेकौँ प्रकारका भूमिका निर्वाह गरिन् । तर, कलाकारले पटक–पटक आफूलाई प्रमाणित गर्नुपर्ने दबाब रहने कुरा उनी स्वीकार गर्छिन् ।
सन् २०२६ मा आफ्नो २५ वर्षे फिल्मी यात्राबारे कुरा गर्दै उनले सिर्जनात्मक काममा हुने दबाब र महिलाले निरन्तर अझ राम्रो प्रदर्शन गर्नुपर्ने अपेक्षाबारे पनि चर्चा गरिन्।
उनको जीवनकथाको महत्त्वपूर्ण पक्ष के हो भने उनले आफ्नो करियरलाई बलिउडको सफलता वा असफलताका आधारमा मात्र मूल्यांकन गरिनन्। हिन्दी फिल्ममा संघर्ष गर्नुपरे पनि उनले दक्षिण भारतीय फिल्ममा निरन्तर काम गरिरहिन् र नयाँ अवसरलाई स्वीकार गरिन्।
करियरमा सुरुदेखि नै सबै कुरा योजनाअनुसार नहुन सक्छ भन्ने कुरा उनको यात्राले देखाउँछ । कतिपय अवसर संयोगले आउँछन्, केही निर्णय गलत हुन सक्छन् र कतिपय सफलता प्राप्त गर्न लामो समय लाग्न सक्छ । तर, अनुभवबाट सिक्दै निरन्तर अघि बढिरहन सकियो भने नयाँ अवसर र पहिचान बनाउन सकिन्छ।
प्रतिक्रिया 4