+
+
Shares
पुस्तक समीक्षा :

क्यान्सर जितेकी कमान्डरको जीवन्त डायरी

घरबाट अनमीको फारम भर्न नेपालगञ्ज हिंडेकी किशोरीलाई त्यस दिन राप्ती नदीमा उर्लिएको बाढीले नदी तर्न नसक्दा घर फर्काएछ। उनी लेख्छिन्– त्यो दिन बाढी नआउँदो हो त म ‘जनयुद्ध’ नामको बाढीमा शायद नहेलिन सक्थें।

अमृता लम्साल अमृता लम्साल
२०८३ कात्तिक ४ गते १६:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लीला शर्मा 'अस्मिता'को ‘युद्ध लडें क्यान्सर जितें’ मा माओवादी युद्ध र क्यान्सरसँगको व्यक्तिगत लडाइँ समेटिएको छ।
  • पुस्तकले महिला लडाकुहरूले युद्ध र शान्ति प्रक्रियामा भोगेको लैङ्गिक विभेद, मातृत्व र शारीरिक पीडा समेटेको छ।
  • लेखकका अनुसार कृतिले द्वन्द्वकालीन नेपाली समाज, राजनीति र परिवेश बुझ्न सघाउँछ।

पढ्ने किताब छान्दा मेरो प्राथमिकतामा प्रायः जीवनी या संस्मरण नै पर्छ। त्यसमा विदेशका लेखक पनि पर्लान् नेपाली पनि; तर, नेपाली संस्मरणका पुस्तकहरू पढ्दा, अधिकांश पुस्तकहरूमा ‘म’ र ‘मपाईं’ को गाथा यति धेरै हुन्छ कि साँच्चै ‘हुटिट्याउँले नै सगर थामेकै हो त ?’ भन्ने प्रश्न दिमागमा राखेर पढ्नुपर्छ। यस्ता स्वकथित गाथाहरूको बजार ठूलै भइसक्यो।

किताब पढिरहँदा लाग्छ, यहाँनेर यो कुरा गलत लेखिएको छ, यहाँ धेरै नै बढाइँचढाइ गरियो; तर हाम्रो बानी कस्तो भइसक्यो भने, त्यस्ता कुराहरूलाई खण्डन गर्न हामी कडा रूपले आवाज उठाउन समर्थ छैनौं। किनकि, त्यहाँ पाठकीय धर्मभन्दा पनि ‘साथी’, ‘चिनजान’, ‘नातेदार’ धर्महरूले भूमिका खेलेका हुन्छन्।

वास्तवमा, पाठकहरूले संस्मरण मन पराउनुको पनि कारण हुन्छ; किनकि, त्यहाँ पाठकले आफूलाई भावनात्मक सम्बन्ध र सहानुभूतिसँग जोड्छन्। पाठकहरूले अर्को व्यक्तिको कथामा आफ्नै संघर्ष, पीडा, प्रेम वा खुशीको प्रतिविम्ब देख्छन्। यसले आत्मीयता र समुदायको भावना सिर्जना गर्छ। मानिसको वास्तविक जीवनको अनुभव र ज्ञान समेट्छ।

आशा र जीवन-संघर्षमा सफलता: अन्धकार वा कठिन समय पार गरेर अघि बढेका व्यक्तिको बारेमा पढ्दा सान्त्वना मिल्छ र कठिन परिस्थितिबाट पार पाउन सकिन्छ भन्ने प्रमाण प्राप्त हुन्छ।

मैले पढेको मध्ये धेरै मन परेको, भारतीय नृत्यांगना प्रोतिमा राय वेदीको  ‘टाइमपास’ हो; त्यो किताबमा उनले आफ्नो जीवनको उतार/चढाव/अन्तरंग सम्बन्ध/विवाहित हुँदाहुँदै राखेका विवाहेत्तरका सम्बन्धहरू समेत जस्ताको तस्तै, नलुकाइकन लेखेकी छन्। त्यो पढिसकेपछि, बाफरे, यसरी लेख्न त सानो आँटले पुग्दैन भने जस्तो लागेको थियो।

त्यसपछि, उनको पूर्व पति कविर वेदीको संस्मरण स्टोरिज आई मस्ट टेल : द इमोसनल लाइफ अफ अन एक्टर पढ्ने इच्छा जाग्यो। त्यो त प्रोतिमाको किताबको अगाडि धेरै हल्का !

अर्को नबिर्सने संस्मरण नेपाली/अमेरिकन फेसन डिजाइनर प्रबल गुरुङको ‘वाक लाइक अ गर्ल– अ मेमोयर’ थियो। मिशेल ओवामादेखि केट मिडिलटनसम्मले लगाउने लुगा डिजाइनरले भोगेको कथ्य पुस्तकले समेटेको छ। उनले नेपालको नाम चलेको स्कूलमा आवासीय विद्यार्थी भएर कक्षा ६ मा पढ्दा भोगेको यौन दुर्व्यवहार, दुराचारी वा शोषकहरूको सामना, शैक्षिक क्षेत्रका चुनौती पार गर्ने प्रयास तथा पश्चिमा उच्च-स्तरीय परिवेशमा समेत त्यस्तै दुर्व्यवहार र  एशियाली-विरोधी नश्लवाद र पूर्वाग्रहको सामना गर्ने जस्ता कठिन व्यक्तिगत विषयहरू पढेर कैयौं दिनसम्म ट्रमामा पुगेकी थिएँ।

सशस्त्र युद्धको दौरान एकैपटक छुवाछूत, जातीय भेदभाव हटाउन, महिलाहरूलाई सशक्त बनाउन, पहिचानको राजनीति स्थापित गर्न छोटो समयमा नै सफल भए पनि, यसले १७ हजारभन्दा बढी नागरिकको ज्यान लिएको छ।

मलाई मन परेको अर्कों संस्मरण अमेरिकन जर्नलिस्ट एन्डरसन कुपरको द रेन्बो कम्स एन्ड गोज् पनि हो। जसमा उनले उनकी आमालाई छोरासँग भन्न मन लागेका/छुटेका कुराहरूलाई इमेल मार्फत आदानप्रदान गरेका छन्। सन् १९७० को जमानामा, एन्डरसन कुपरले आई थिंक आई एम गे भनेर आफ्नो सेक्सुवालिटीको बारेमा सार्वजनिक हुँदा पनि छोराको पक्षमा उभिएकी आमा र छोराको विविध विषयको कुराकानीलाई उक्त पुस्तकमा गहिरो पारस्परिक सम्मान प्रकट गरिएको देखिन्छ। यसले वृद्ध आमाबाबुसँग अर्थपूर्ण रूपमा जोडिन खोज्ने वयस्क बच्चाहरूको लागि खाकाको रूपमा काम गर्दछ।

पढिएका संस्मरण सम्झिंदै जाने हो भने लामै लिस्ट बन्छ; त्यतातिर नजाउँ। तर, आजको पुस्तक चर्चा गर्दा, केही राजनैतिक इतिहाससँग जोडिने पुस्तकको नाम छुटाउन मन लागेन।

विश्वका चर्चित व्यक्तिहरूले लेखेका संस्मरणबाट ऐतिहासिक तथ्यहरू समेत संकलन गर्न सकिन्छ। जस्तै, दोस्रो विश्वयुद्धको समयमा हलुकास्टको बारेमा एन फ्र्यांकले नाजी उत्पीडन र युद्धको विभीषिकाको समयमा लुकेर बस्दा लेखेको  डायरी “द डायरी अफ अ यंग गर्ल” को नामबाट संसारभर प्रसिद्ध छ। नेपालीमा पनि अनुवाद गरिएको छ उक्त कृति।

त्यस्तै, दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको ‘लङ वाक टू फ्रिडम’ महत्वपूर्ण संस्मरण हो; जसमा उनले आफ्नो बाल्यकाल, राजनैतिक जीवन र ‘रिभोनिया ट्रायल’ पश्चात् २७ वर्ष रबिन आइल्याण्डमा बिताएको विवरणले त्यतिबेलाको अफ्रिकामा ब्रिटिश कोलोनाइजेसनले गरेको रङ्गभेद, यातना र भुइँमान्छेको कथालाई विश्वसामु ल्याइदियो। यस्ता कारणहरूले पनि राजनैतिक पृष्ठभूमि बोकेका व्यक्तिहरूको संस्मरण महत्वपूर्ण छ।

नेपालको परिप्रेक्ष्यमा कुरा गर्दा राजनैतिक स्थितिलाई छोएको संस्मरण एरिका एन्ड द किङ पनि हो। यो जर्मन मूलकी फिजियोथेरापिस्ट एरिका ल्युट्यागद्वारा लिखित एक चर्चित संस्मरणात्मक पुस्तक हो। यो पुस्तक सन् १९४९ मा राजा त्रिभुवनको शासनकाल र राणा शासनको अन्तिमताका नेपाल आएकी एरिका र तत्कालीन राजा त्रिभुवन बीचको सम्बन्ध, मित्रता र नेपालको ऐतिहासिक राजनीतिक संक्रमणमाथि आधारित छ; जसको प्रकाशन सन् १९५८ मा न्युयोर्कको प्रेसबाट भएको थियो। यस्ता संस्मरण अरू पनि लेखिएका होलान्; तर योचाहिं हामी जन्मनु अगाडि नै, एउटी विदेशी महिलाले नेपालको राजनीति बारेमा लेखेको भएर उल्लेख गर्न मन लाग्यो।

माओवादी युद्धकी पूर्व कमाण्डर लीला शर्मा ‘अस्मिता’को संस्मरण, ‘युद्ध लडें क्यान्सर जितें’ पनि राजनैतिक पृष्ठभूमिमा आधारित पुस्तक हो। वि.सं. २०५२ फागुन १ गते शुरु भएको उक्त सशस्त्र युद्ध विसं २०६३ मंसीर ५ गते तत्कालीन सरकार र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बीच विस्तृत शान्ति सम्झौता भएपछि औपचारिक रूपले समाप्त भएको थियो।

त्यही अवधिभित्र, २०५४ सालमा अनमी पढ्ने उत्कट अभिलाषा बोकेकी १७/१८ की किशोरीलाई, सर्वहारा वर्गको सत्ता आएपछि सबै कुरा प्राप्त हुने, धनी र गरिब बराबर हुने, सबैका छोरीले पढ्न पाउने भनेर आफ्नै साहिंला भिनाजु तथा उहाँका साथीहरूले फस्ल्याङफुस्लुङ पारेर पार्टीभित्र पुर्‍याएको संस्मरण मार्मिक छ।

हुनत, फकाउँदै र सम्झाउँदैमा पनि उहाँले मान्नुभएको रहेनछ; घरबाट अनमीको फारम भर्न नेपालगञ्ज हिंडेकी किशोरीलाई त्यस दिन राप्ती नदीमा उर्लिएको बाढीले नदी तर्न नसक्दा घर फर्काएछ। त्यस सन्दर्भको निराशालाई कथामा समेट्दै उहाँ लेख्नुहुन्छ, “एसएलसी पास गरेको कत्रो खुशी थियो मनमा; तर, के गर्नु राप्ती पार गर्न सकिनँ। राप्तीमा पुलको बाटो हुँदो हो त, मेरो जीवनको बाटो अर्कै हुनेथियो। त्यो दिन बाढी नआउँदो हो त म ‘जनयुद्ध’ नामको बाढीमा शायद नहेलिन सक्थें।”

लेखकको घर राजनैतिक सचेतनाले भरिएको भए पनि, आफ्नो घरमा हुने लैङ्गिक विभेदको बारेमा पनि पुस्तकमा उल्लेख गर्नुभएको छ। लेखकका दिदीहरूलाई, स्कूलमा लाग्ने चार आना शुल्कः नतिरिदिएर स्कूलमा पढ्न नपाएको; छोरीहरूलाई स्कूलमा निवेदन लेखेर छाडी गाई चराउन पठाउने आफू भने तास खेल्न हिंड्ने, जेठो छोरा बितेपछि घरका कान्छा छोरालाई बाबुआमाले धेरै माया गर्ने। घरको मिठो खाना, दूध, दही, घिउ जस्ता परिकारहरू दाजुको लागि प्राथमिकतामा पर्ने, लेखक भन्दा दुई वर्ष जेठा दाजुलाई भात मुछिदिनुपर्ने; राति बाहिर पिसाब फेराउन लैजानुपर्ने जस्ता कुराहरू लेखकको मनमा गडेर बसेका विभेदका यादहरू हुन्। यसले, त्यतिबेलाको ग्रामीण समाजको स्पष्ट चित्रण गरेको छ। हुनत: अहिले पनि कति नै फरक भएको छ र !

 संस्मरणको पहिलो र महत्वपूर्ण विषय, सशस्त्र युद्ध र सैन्य मोर्चाको भोगाइ नै हो। यस खण्डमा लेखकले आफ्नो बाल्यकाल, ग्रामीण समाजको सामन्ती स्वरूप र एउटा किशोर अवस्थाकी युवती कसरी माओवादी युद्धमा होमिन पुग्नुभयो भन्ने कुरा उल्लेख गर्नुभएको छ। जनमुक्ति सेनाको ‘ब्रिगेड भाइस–कमान्डर’ जस्तो तहमा पुग्दाका अनुभवहरू यसमा समेटिएका छन्।

आश्रय लिएर लुकेर बसेको घरमा प्रहरीबाट हमला हुँदा घरको माथिल्लो तलाबाट हाम्फालेर भाग्दै ज्यान बचाएको; रातभरि जङ्गलको बाटो लुकी–लुकी हिंडेको; हातमा पैसा नभई बस चढ्दा सहचालकले भाडा माग्दा माओवादी हौं, भाडा छैन अरूलाई नभन अप्ठ्यारोमा पर्लाऊ भनेर चेतावनी दिएका कुराहरू पढ्दा कुनै थ्रिलर मूभीको दृश्य हेरेभन्दा कम छैन।

भोलिपल्ट आफ्नी वृद्ध आमा भेट्न हिंड्नुभएका ठगबहादुर सार्की, अघिल्लै दिन प्रहरीको आक्रमणमा परेर मारिएको घटना विवरणले मन चस्काउँछ।

अर्को ठाउँमा गोठको माथिल्लो तलामा बास बसेको बेलामा प्रहरीले गोठको वरिपरि घेर्न आएको देखेर, यस्ता हतियारले आज के लडिएला भन्ने सोच्दै, मरिने मानसिकता बनाएको र झ्यालबाट बाहिर हेर्दै, आँखा चिम्लिएर शरीरमा पहिलो गोली कहाँ लाग्ला भनेर सोच्नु, ‘गोली लाग्दा कतिबेर तड्पिएर मरिएला भन्ने सोचें। मर्नुभन्दा अगाडि बाआमालाई सम्झिएँ’ भन्दै त्यो मानसिक पीडाको अनुभूति गर्नु साधारण जीवनको भोगाइ पक्कै होइन।

अर्को महत्वपूर्ण विषय, युद्ध सम्बन्धी इतिहास वा संस्मरण लेख्दा, जहिले पनि ओझेलमा पर्ने पाटाहरू समेटिएका छन्।  इतिहासका पुस्तकहरूले प्रायः बेवास्ता गरेका तर महिला लडाकूहरूले युद्धमैदानमा भोगेका महिनावारी, माया, मातृत्व, करुणा र कौमार्य जस्ता संवेदनशील विषयलाई लेखकले आफ्ना डायरीका पानाहरूमा कैद गर्नुभएको कुरा समेटिएको छ।

आफू कमाण्डर हुँदाको जिम्मेवारी शब्दमा उतार्दै पेज ११८ मा उहाँ लेख्नुहुन्छ, ‘बटालियनलाई अफेन्स गराउन सकुँला कि नसकूँला ? यो लम्बे अभियानमा महिलाहरू थाक्लान् कि नथाक्लान् ? मासिक स्रावको समयमा कसरी व्यवस्थित गर्ने होला ? मेरो शरीर थाक्ला कि नथाक्ला ?’ फेरि अर्को पेजमा आफू रजस्वला हुँदा ‘कतै मेरो पेट दुखेर लडाईं बिग्रने त होइन ?’ भन्ने चिन्ता; दिनभरि लडाईंमा होमिनु पर्दा प्याड बदल्न नपाएर भित्री वस्त्र रगतले पूरै भिजेर, दुर्गन्ध बोक्दै हिंडेका कुरा नलुकाइकन लेखिएको छ।

यो कथा यस कारणले पनि विशेष छ कि कुनै पुरुष कमाण्डर भएको भए यो स्थिति भोग्नुपर्दैनथ्यो। त्यो स्थितिलाई उहाँकै शब्दमा सुनौं, ”दुई गोडाको बीचको भाग रगत चुहिएला जस्तो रातो घाउ भएको। ….. पाठेघरको मुख सुन्निएर हिंड्नै अप्ठेरो भयो। मैले तीन वटा लडाईं एकसाथ लडेकी थिएँ— मानव सृजित लडाईं, पितृसत्ताको लडाईं अनि जैविक लडाईं।

कति बलियो म, आफैंले आफैंलाई धाप मारें। सुत्ने बेलामा बटालियन एचपी प्रमुख कमरेड जमुनालाई बोलाएँ। दुईचार वटा प्याड बनाइदिन अनुरोध गरें। उसले मेरो ओठबाट ढुङ्गा निकाली। हत्केलामा बिझेका काँडा मुनाले निकालदिई। कमरेड जमुनासँग ब्रुफिन ट्याब्लेट मागेर खाएँ।” यो पढिरहँदा कसले भन्छ महिलाहरू कमजोर छन् भनेर ?

पुस्तकभरि नै युद्धको यथार्थ, रणभूमिमा भोगेको भोक, थकाइ, आँसु, मृत्युको डर र आन्दोलनप्रतिको उत्साहलाई ‘साक्षीभाव’ ले देख्न सकिन्छ। यस प्रसंगमा लेखकको कलमले हृदय चस्काउने तथ्य प्रस्तुत गरेको छ। युद्धमा राइफल बोकेर हिंडेका महिलाहरू जब गर्भवती हुन्छन् तब, भारी जीउ लिएर रातदिन नभनी अथक् परिश्रमका साथ पुरुष योद्धाहरूसँगै हिंडेको; कता गएर बच्चा जन्माउने भन्ने अन्योल मनस्थिति। न त पोषिलो खाना, न विश्राम पाउने अवस्था। बच्चा पाएपछि बच्चा कता छाड्ने भन्ने चिन्ता…. यस्ता व्यावहारिक कुराहरू पुरुषले लेखेको कथामा विरलै पाइन्छ; किनकि, उनीहरूले त्यो महसुस गर्नु परेकै हुँदैन।

यसै प्रसंगमा लेखकले लेख्नुभएको छ, ‘अवोध शिशुलाई आफन्तकहाँ जिम्मा लगाएर छातीभरि भरिएको दूध चुहाउँदै हिंड्न बाध्य थिए युद्धका सिपाही आमाहरू। रातभरि, दिनभरि रुँदै बच्चा छोड्दाको पीडा सहँदै फर्मेसनमा आउँथी ऊ। फर्मेसनमा आएको भोलिपल्ट थाहा पाउँथी, सँगैको साथी बढुवा भएर कमान्डर बनेको छ। आफू जहाँको तहीं। अनि उसले छातीमा बढ्दै गरेको पीडाको डल्लो छाती छामेर मेटाउँथी र मिचेर डाँको छाडेर रुन थाल्थी। सहन सक्नु पनि कति !’ कार्यस्थलमा हुने चरम लैङ्गिक विभेदको अर्को उदाहरण।

महिलामाथि गरिने कार्यस्थलमा हुने लैङ्गिक विभेदको अर्को उदाहरण, लेखकले  सम्झना विकको कथा मार्फत यथार्थबोध गराउनुभएको छ। जब शान्ति सम्झौता भयो, तत्कालीन माओवादी जनमुक्ति सेना पीएलएमा महिलाहरूको सहभागिता करिब ३० देखि ४० प्रतिशत रहेको थियो। युद्धको समयमा अग्रपंक्तिमा रहेर लडेका महिला छापामारहरूले शान्ति प्रक्रिया र सेना समायोजन तथा पुनःस्थापनाको चरणमा भने गम्भीर लैङ्गिक विभेद र उपेक्षा भोग्नुपऱ्यो। त्यतिबेला,  पुरुष-केन्द्रित खाका बन्यो। निशस्त्रीकरण, सेना विघटन र पुनःस्थापनाको पूर्ण खाका पुरुष कमान्डर र सैनिकहरूलाई केन्द्रमा राखेर तयार पारियो।

शिविरहरूमा रहँदा गर्भवती, सुत्केरी र साना बच्चा भएका महिला लडाकुहरूको स्वास्थ्य, पोषण र प्रजनन अधिकारका विशेष आवश्यकताहरूलाई नीतिगत रूपमा सम्बोधन गरिएन। महिला लडाकुहरूलाई घरेलु भूमिकामा सीमित गर्ने प्रयास गरियो। समायोजनका क्रममा धेरैजसो महिला लडाकुहरूलाई नेपाली सेनामा जानुको सट्टा ‘स्वेच्छिक अवकाश’ रोज्न वा समाजीकरणतर्फ फर्कन अप्रत्यक्ष दबाब दिइयो। यसबारेमा सम्झना विकको कथाले स्पष्ट पार्दछ। सम्झनाको भनाइ छ, सानै उमेरमा आन्दोलनमा लागेको कारण, पढाइ या हातमा सीप केही भएन। त्यसैले फेरि फर्किएर चुल्हाचौकामै सीमित हुनुपऱ्यो। यो शान्ति सम्झौतापछिको निराशा थियो।

पुस्तकको दोस्रो पाटो, लेखकले क्यान्सर विरुद्ध लडेको व्यक्तिगत लडाइँ हो। युद्धको मोर्चाबाट फर्किएर शान्तिपूर्ण जीवनमा अभ्यस्त हुन नपाउँदै लेखकले आफ्नो शरीरभित्र अर्को ठूलो दुश्मन—क्यान्सर (अन्तिम चरणको क्यान्सर) फेला पारिन्। यो खण्ड उनको जीवनको दोस्रो ठूलो युद्ध हो।

यसमा लेखकले  समाजमा क्यान्सरलाई लिएर गरेको मानसिक र शारीरिक संघर्ष तथा त्यसले व्याप्त डर, त्रास र यसले निम्त्याउने सामाजिक मनोविज्ञानलाई उनले नजिकबाट केलाउनुभएको छ। पटक–पटक मृत्युको मुखबाट जोगिनुभएकी उहाँ, आफूले कसरी दृढ इच्छाशक्ति, हिम्मत र सकारात्मक सोचका कारण क्यान्सरलाई परास्त गर्न सफल हुनुभयो भन्ने प्रेरणादायी कथा यस खण्डमा छ।

समग्रमा पुस्तकको विषयवस्तु र सन्दर्भ आकर्षक छ। यो कुनै साहित्यिक पुस्तक नभए पनि भाषा र कथावस्तुले बाँधेर राख्छ। सबैभन्दा महत्वपूर्ण कुरा, मार्क्सवादी शिक्षा, भाषा आदिका जार्गन शब्दहरू प्रयोग भएका छैनन्।

पुस्तकले  संस्मरणमा हुनुपर्ने सबैभन्दा बलियो पक्ष इमानदारी र  सत्यतालाई छाडेको छैन। तापनि, युद्ध लड्ने पक्षको सबै कुरा राम्रै राम्रो थियो कि भने जसरी किताब लेखिएको हो कि ? भन्ने प्रश्न मनमा आउँछ। तर, माओवादी आन्दोलन वा युद्धकै उत्कर्षको समयमा २०५५ साल वैशाख २६ गतेदेखि रोल्पा र रुकुमको स्थलगत रिपोर्टिङमा गएको समयमा, एक रिपोर्टरको नाताले म आफैंले महसुस गरेको त्यो त्रासको स्थिति, आफ्नै देशको भूभागमा जान जीवनमा पहिलो पटक राष्ट्रिय बीमा संस्थानबाट जीवन बीमा गरेर गएको क्षण सम्झँदा, गाउँमा माओवादीबाट कति त्रास थियो भन्ने तथ्य खासै कतै उल्लेख भएको भेटिन्न।

साँच्चै भन्नुपर्दा गाउँमा कोही पनि भयरहित जीवन बिताइरहेका थिएनन्। हामीले पहिलो पटकको खारा घटनामा ‘सुराकी’को नाममा माओवादीद्वारा हत्या गरिएका नेपाली कांग्रेसका टेकबहादुर वलीकी २६ वर्षीया श्रीमती सीता वली, एमालेका यदु गौतमकी श्रीमती तीर्था गौतम(जो, त्यतिबेला बरखीमै हुनुहुन्थ्यो) तथा उहाँको परिवार आदिलाई घरघरमै गएर भेटेका थियौं।

त्यसैगरी २०५५ साल मंसीरमा गोरखामा हत्या गरिएका श्यामसुन्दर श्रेष्ठकी आमा तथा परिवारलाई गोरखाको उहाँकै घरमा माघ महिनामा भेटेका थियौं; त्यतिबेला हामीले गोरखाको केही गाविस तथा वडाहरूमा माओवादी आन्दोलनले महिला तथा बालबालिकामाथि परेको असरबारे फिल्ड रिपोर्टिङ गरेका थियौं; त्यस्ता कुराहरू केही मात्रै भए पनि पुस्तकमा समेटिएको भए किताब अझै गहकिलो हुन्थ्यो।

हरेक मानिसको जीवन एउटा खुला किताब जस्तै हो, तर केही व्यक्तिहरूसँग आफ्ना भोगाइहरूलाई शब्दमा उतारेर अरूको मन छुने अद्भुत कला हुन्छ। समग्रमा, लेखक यस पुस्तकमा उक्त मुद्दामा खरो उत्रनुभएको छ।

हामी २०५७ साल फागुनमा फेरि करिब तीन हप्ताको स्थलगत रिपोर्टिङको सिलसिलामा रोल्पा, रुकुम र जाजरकोटका विभिन्न स्थानमा पुगेका थियौं। त्यतिबेला, हामीलाई दुई दिनसम्म नजरबन्द जस्तो गरेर राखिएको थियो; गाउँ पस्न दिइएको थिएन। शायद घर्तीगाउँमा हो कि जस्तो लाग्छ, खाना खान दिने होटलले समेत खाना पकाएर नदिएर, १/२ दिन हामी आफैंले खाना पकाएर खाएका थियौं। त्यसरी माओवादीको तर्फबाट सर्वसाधारणलाई दिइने मानसिक त्रास, माओवादीले गर्ने अपहरणका कुराहरू केही पनि उल्लेख छैन। यो, व्यक्तिगत संस्मरण भए पनि कमाण्डरको भूमिका निर्वाह गर्ने व्यक्तिले कहीं न कहीं त्यस्ता स्थितिको सामना त पक्कै गर्नुभएको होला !

युद्धको मानसिक तनाव र शान्ति प्रक्रियापछिको पहिचानविहीनताका कारण महिलाहरूमा गम्भीर मानसिक अवसाद र हीनताबोध समेत देखिएको पाइन्छ।

अर्को महत्वपूर्ण कुरा, १० वर्षे द्वन्द्वकालमा महिलामाथिका यौन हिंसा तथा बलात्कारका घटनाहरू कुनै पनि पक्षबाट आधिकारिक तथ्यांक र यकिन गरेर सार्वजनिक गरिएको छैन। यो पुस्तकमा पनि यो मुद्दामा लेखक मौन रहन चाहेको देखिन्छ। हुनत, लेखकले केही दिन अगाडि पुस्तकको प्रकाशक नेपालयले गरेको पुस्तक चर्चा कार्यक्रममा यो आफूले कमाण्डरहुँदा भोगेको कुराहरू, जुन डायरीमा संकलन गर्नुभएको थियो; त्यही नै पुस्तकको रूपमा ल्याएको बताउनुभएको थियो। तर पनि, पुस्तकको आकारमा आइसकेपछि वर्षौं डकुमेन्टको लागि सुरक्षित रहने हुँदा, यसलाई परिमार्जित रूपमा ती तथ्यहरू पनि थपेको भए हुन्थ्यो जस्तो लागेको थियो।

द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनाहरू सबैभन्दा बढी लुकाइएको वा ओझेलमा परेका विषय हुन्। पीडितहरूले सामाजिक लाञ्छना, परिवार तथा समाजको डर, न्याय पाउने अनिश्चितता र सुरक्षाको अभावको कारण, त्यस समयमा पीडितहरूले उजुरी दिन सकेका थिएनन्। यस्तै घटनाहरू समेत छानबिन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरियो; उजुरी पनि आए तर, सामाजिक दबाबका कारण यौन हिंसाका घटनाहरू खुलेर बाहिर आउन सकेनन्।

लेखकको व्यक्तिगत कथाले त्यो समयको समाज, राजनीति वा संस्कृतिलाई एकतर्फी, त्यो पनि सकारात्मक चित्रण मात्रै गरेको हो कि जस्तो पनि कहीं कतै महसुस हुन्छ। किनकि, सशस्त्र युद्धको दौरान एकैपटक छुवाछूत, जातीय भेदभाव हटाउन, महिलाहरूलाई सशक्त बनाउन, पहिचानको राजनीति स्थापित गर्न छोटो समयमा नै सफल भए पनि, यसले १७ हजारभन्दा बढी नागरिकको ज्यान लिएको छ। त्यसमध्ये कतिपयले युद्धको कुनै सरोकार नराख्दा पनि, तत्कालीन माओवादी विचारधारा भन्दा फरक विचारधारा राखेकै कारणले समेत मृत्युवरण गर्नुपरेको छ। बलात्कार तथा यौन हिंसामा पर्ने महिलाको कथा पनि थुप्रै छन्; यस्तो विषयमा बोलिएको छैन।

लेखकले त्यतिबेला आन्दोलनमा व्यापक रूपमा प्रयोग हुने दुइटा पहिचान, ‘फरारी’ (माओवादी) र ‘दुश्मन’ (प्रहरी, सैनिक)कतै पनि प्रयोग गर्नुभएको रहेनछ। ती त्यतिबेलाका महत्वपूर्ण ‘पहिचान गराउने’ शब्दहरू हुन्।

लेखक पूरै राजनैतिक सचेतनाले भरिएको परिवारमा हुर्कनुभएको तथ्य उहाँले पुस्तकमा उल्लेख गर्नुभएको छ। उहाँको बुबा नेपाली कांग्रेस र उहाँकी आमाको अगुवाइमा उहाँहरू नेकपा मशालको सदस्य बन्नुभएको रहेछ। यी परिवेशहरू केलाउँदा यो पुस्तक ‘पर्सनल इज पोलिटिकल’ (व्यक्तिगत कुरा नै राजनीति हो) भन्ने मान्यतामा आधारित छ। यसले एक राजनीतिक कार्यकर्ताको कथा कसरी समाज र समयसँग जोडिन्छ भन्ने देखाउँछ।

यो किताबको कभर हेरेर केही मानिसहरूलाई केही गलतफहमी पनि भएको देखियो। म आफैंले पनि; पुस्तक हात नपर्दासम्म पुस्तक, लेखकको क्यान्सर हुँदाको अनुभव भन्ने लागेको थियो। तर, त्यस्तो होइन रहेछ। किताबको दुईतिहाइ भाग, लेखकले लड्नुभएको युद्धकालीन अनुभव हो भने, सानो भाग मात्र क्यान्सर हुँदाको भोगाइ समेटिएको छ। हरेक मानिसको जीवन एउटा खुला किताब जस्तै हो, तर केही व्यक्तिहरूसँग आफ्ना भोगाइहरूलाई शब्दमा उतारेर अरूको मन छुने अद्भुत कला हुन्छ। समग्रमा, लेखक यस पुस्तकमा उक्त मुद्दामा खरो उत्रनुभएको छ। त्यतिबेलाको देशको सामाजिक, राजनैतिक स्थिति र परिवेश जान्न यो पुस्तक उपयोगी हुन्छ। 

पुस्तक : युद्ध लडें क्यान्सर जितें

लेखक : लीला शर्मा ‘अस्मिता’

प्रकाशकः नेपालय

लेखक
अमृता लम्साल

लेखक सामाजिक अभियन्ता, लेखक एवं पत्रकार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?