३० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय कार्यसमितिको निर्वाचनमा आधा दर्जनभन्दा बढी चिकित्सकहरू निर्वाचित भएका छन् ।
मतगणनाको प्रारम्भिक नतिजाअनुसार चिकित्सा पेशामा आवद्ध सात जना डाक्टरहरू सहमहामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म निर्वाचित भएका देखिएको छ ।
यद्यपि, केन्द्रीय निर्वाचन समितिले मतगणनाको अन्तिम मतपरिणाम सार्वजनिक नगरेका कारण उक्त संख्या बढ्न पनि सक्छ ।
प्रारम्भिक नतिजाअनुसा डा. फिरदोस आलम केन्द्रीय कार्यसमितिको सहमहामन्त्रीमा निर्वाचित भएका छन् । उनी मुस्लिम क्लस्टरबाट सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।
यस्तै नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी पेशागत विषय विज्ञतर्फ केन्द्रीय सदस्यमा विजयी भएका छन् ।
पेशागत विषय विज्ञतर्फ नै कैलालीका बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र पनि केन्द्रीय सदस्य बनेका छन् ।
त्यस्तै स्त्री रोग विशेषज्ञ प्रा.डा. सीता पोखरेल पनि कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । उनी पनि पेशागत विषय विज्ञतर्फ नै निर्वाचित भएकी हुन् ।
नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. मुक्तिराम श्रेष्ठ भने खुलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
अर्का पूर्वअध्यक्ष डा. अञ्जनी झा मधेश प्रदेशबाट केन्द्रीय सदस्य बनेका छन् । उनी क्यान्सर रोग विशेषज्ञ हुन् ।
निर्वाचन समितिका अनुसार डा. योशिका भट्टराई कोशी प्रदेशबाट केन्द्रीय सदस्य बनेकी छन् । उनी स्तन क्यान्सर शल्य चिकित्सक हुन् ।
प्रतिक्रिया 4