+
+
Shares

प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा कठिनाइ : मुख्यमन्त्री थापा मगर

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते १५:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमतीका मुख्यमन्त्री किरण थापा मगरले प्रहरी समायोजन नहुँदा संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनमा चुनौती उत्पन्न भएको बताएका छन् ।
  • हेटौँडामा आयोजित ७१औँ प्रहरी दिवसमा उनले प्रदेश अधिकार कार्यान्वयनका लागि प्रहरी समायोजन यथाशीघ्र टुंग्याउन तीनै तहका सरकारलाई आग्रह गरे ।
  • उनले शान्ति सुरक्षा, विपद् न्यूनीकरण, उद्धार र राहतका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै प्रहरीलाई स्रोतसाधन, प्रविधि र तालिमको व्यवस्था गर्नुपर्ने बताए ।

३० असोज, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रहरी समायोजन नहुँदा संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनमा चुनौती उत्पन्न भएको बताएका छन् ।

७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार हेटौँडामा बागमती प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संविधानले प्रदेशलाई दिएको अधिकार र जिम्मेवारी कार्यान्वयनका लागि प्रहरी समायोजन आवश्यक रहेको बताए ।

प्रहरी समायोजन नहुँदा प्रदेश सरकारलाई शान्ति सुरक्षा व्यवस्थापन र प्रहरी प्रशासन सञ्चालनमा संविधानप्रदत्त अधिकार प्रयोग गर्न व्यावहारिक कठिनाइ भइरहेको उनको भनाइ थियो ।

थापा मगरले प्रदेशको भौगोलिक अवस्था, स्थानीय आवश्यकता र सुरक्षा चुनौतीअनुसार प्रहरी परिचालन तथा जनशक्ति व्यवस्थापन गर्न प्रदेश सरकारलाई सहज वातावरण बनाउनुपर्ने बताए ।

उनले तीनै तहका सरकारबीच समन्वय, सहकार्य र संवाद गरी प्रहरी समायोजनको प्रक्रिया यथाशीघ्र टुंग्याउन आग्रह गरे ।

मुख्यमन्त्री थापाले प्रदेशमा शान्ति सुरक्षा सुदृढ बनाउने, विपद् जोखिम न्यूनीकरण गर्ने तथा उद्धार र राहत कार्यलाई व्यवस्थित बनाउने विषयमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । नागरिकलाई सुरक्षित वातावरण उपलब्ध गराउन प्रहरीलाई आवश्यक स्रोतसाधन, प्रविधि र तालिमको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।

उनले महिला तथा बालबालिकाको सुरक्षालाई प्राथमिकता दिँदै प्रविधिमा आधारित अपराध अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

प्रहरी सेवा निष्पक्ष, पारदर्शी, संवेदनशील र नागरिकमैत्री हुनुपर्नेमा जोड दिँदै थापा मगरले कानुनको निष्पक्ष कार्यान्वयन र नागरिकको अधिकार संरक्षण प्रहरीको महत्त्वपूर्ण जिम्मेवारी भएको बताए ।

‘पहुँच, प्रभाव र व्यक्तिगत सम्बन्धभन्दा माथि उठेर कानुनअनुसार काम गर्ने संस्कार विकास गर्न सके प्रहरीप्रतिको जनविश्वास थप बलियो हुन्छ,’ उनले भने ।

कार्यक्रममा कर्तव्यपालनका क्रममा सहादत प्राप्त अमर प्रहरीका परिवारलाई सम्मान गरिएको थियो । सुरक्षित समाज निर्माणमा योगदान पुर्‍याएको भन्दै ‘प्रहरी दर्पण’ कार्यक्रममार्फत टिम टेलिभिजन र नेशनल गोल्ड टेलिभिजनलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

दिवसका अवसरमा वरिष्ठ पत्रकार प्रताप विष्टसहित उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रम बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?