+
+
Shares

हेमा मालिनी, जो आफ्नो पहिलो फिल्मबाट निकालिएकी थिइन्

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते १६:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हेमा मालिनी १६ वर्षमै दक्षिण भारतीय फिल्म निर्माताको नजरमा परिन् र रानी एलिजाबेथ तथा जवाहरलाल नेहरूअघि नृत्य प्रस्तुत गरिसकेकी थिइन्।
  • निर्माता सीभी श्रीधरले उनको नाम सुजाता राख्ने प्रस्ताव गरी फोटोसुटपछि पहिलो फिल्मबाट निकालेका थिए, र सार्वजनिक रूपमा स्टार नबन्ने टिप्पणी गरेका थिए।

मात्र १६ वर्षकी हुँदै दक्षिण भारतका फिल्म निर्माताहरूले हेमा मालिनीलाई फिल्मको अफर गर्न थालेका थिए । यसको एउटै कारण – कलिलो उमेरमै उनले धेरै उपलब्धि हासिल गरेकी थिइन् ।

उनले रानी एलिजाबेथ र प्रधानमन्त्री जवाहरलाल नेहरू जस्ता अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तिहरूको अगाडि नृत्य प्रस्तुत गरेकी थिइन् । त्यसैले किशोर अवस्थामा प्रवेश गर्नासाथै फिल्म निर्माताहरूले उनलाई अभिनयको अफर गरेका थिए । भलै त्यसबेला हेमा आफैं यो कुरामा निश्चित थिइनन् । उता उनकी आमा जया चक्रवर्ती भने छोरी फिल्म स्टार बनोस् भन्ने चाहन्थिन् ।

त्यसैले फिल्म निर्माता सीभी श्रीधर घरमै आएर प्रस्ताव गर्दा त्यो कुरामा नाइँ भन्न सकिनन् । संयोगवश उनले हेमालाई केही दिनमै फिल्मबाट निकालिदिए । तर, आफ्नो पहिलो फिल्मबाटै निकालिएकी हेमा आज बलिउडकी वरिष्ठ अभिनेत्री हुन् । उनी आज ७८ वर्षकी पुगिन् ।

पहिलो फिल्ममा अपनाम

तमिलनाडुका लोकप्रिय फिल्म निर्माता सीभी श्रीधरले १६ वर्षकी हेमा मालिनीलाई आफ्नो फिल्मबाट डेब्यु गराउने निर्णय लिए । तर, उनले आफूले भने जसो गरेनन् । सबैभन्दा पहिले त श्रीधरले उनको नाम फेरेर सुजाता राख्ने भए । राम कमल मुखर्जीको पुस्तक हेमा मालिनी: बियोन्ड द डिम गर्ल का अनुसार नाम नराम्रो भएकाले श्रीधरले हेमाको नाम फेर्न खोजेका थिए ।

त्यसपछि श्रीधरले हेमालाई फोटोसुटका लागि बोलाए । साडी लगाउन लगाए । साडी लगाएपछि हेमाले आफूलाई दुब्ली र कुरुप महसुस गरिन् । सम्भवत: त्यही कारण हुनुपर्छ, श्रीधरले उनलाई सुटको केही समयपछि नै फिल्मबाट निकालिदिए ।

अझ श्रीधरले सार्वजनिक रूपमा नै हेमा कहिल्यै स्टार बन्न सक्दिनन् भनी घोषणा गरे । श्रीधरको यो टिप्पणीले गर्दा हेमाले आफूलाई अपमानित महसुस गरिन् ।

अर्को सुपरस्टार

सुरूवाती नै नराम्रो भए पनि हेमाको भाग्यमा त्यो भन्दा राम्रो कुरा लेखिएको थियो; यो फिल्म रद्द भएको केही समयमै उनले राज कपुरको फिल्ममा काम गर्ने अवसर पाइन् ।

निर्माता बी. अनन्तस्वामी राज कपुरसँग एउटा फिल्म बनाउँदै थिए । त्यसका लागि हेमा छनौट भइन् । स्क्रिन टेस्टका लागि उनलाई आरके स्टुडियोमा बोलाइएको थियो । त्यहाँ हेमालाई केही सोलो सिनहरू दिन लगाइएको थियो ।

राज कपुरले फिल्म निर्माता के आसिफसँगै ती दृश्यहरूको छायाङ्कन गरिरहेका थिए । ती अभिनेताबाट प्रभावित भएकी हेमाले राज कपुरलाई कुनै राजकुमारजस्तै वर्णन गरेकी छिन् । श्रीधरको जस्तो नभई उनले त्यो अनुभवलाई निकै सहज बनाइदिए । अझ हेमाले क्यामेरा कहाँ राखिएको छ भन्ने पत्तै पाइनन्।

आफ्नो टेकपछि राज कपुरको प्रतिक्रियाका लागि सास रोकेर प्रतीक्षा गरिरहेकी उनले सुनिन्, ‘यो केटी भारतीय सिनेमाको अर्को सुपरस्टार बन्नेछे ।’ र, यो प्रशंसाले हेमामा त्यो आत्मविश्वास भर्यो जुन उनलाई चाहिएको थियो । उनको पहिलो फिल्म ‘सपना का सौदागर’ का लागि साइन गरियो ।

फिल्मको प्रचारप्रसारको समयमा हेमालाई राज कपुरकी ड्रिम गर्लको रूपमा प्रचार गरियो । तर दुई बीचको स्पष्ट उमेरको अन्तराललाई कसैले पनि बेवास्ता गर्न सक्दैनथ्यो । उनी १६ वर्षकी थिइन् । राज कपुर ४४ वर्षका थिए । उनीहरू रोमान्टिक जोडीको रूपमा देखिँदै थिए । निर्माताहरूले यसलाई पोस्टरमा राख्ने निर्णय गरे । हेमालाई भने यो कुरा हास्यास्पद लाग्यो ।

यद्यपि ड्रिम गर्लको उपनाम सधैँका लागि बस्यो । र हेमा त्यस समयकी अर्की ठूलो स्टार बनिन् । आफ्नो पहिलो फिल्म रिलिज हुनुअघि नै हेमाले थप पाँचवटा फिल्ममा हस्ताक्षर गरिसकेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?