३१ असोज । काठमाडौं । जलवायु कार्यकर्ता सोनम वाङचुकले लद्दाखको विषयमा चीनको बयानप्रति आपत्ति जनाएका छन्। उनले भारत सरकारसँगको वार्तामा पनि लद्दाखका नेताहरू निराश हुनुपरेको बताएका छन्।
उनले सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गरेका छन्। सो भिडियोमा उनले चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङको आलोचना गरेका छन्।
चिनियाँ प्रवक्ता माओ निङले मङ्गलबार एउटा बयान दिएकी थिइन्। उनले भारतले एकतर्फी रूपमा बनाएको लद्दाख केन्द्र शासित प्रदेशलाई चीनले कहिल्यै मान्यता नदिने बताएकी थिइन्।
यसमा सोनम वाङचुकले भनेका छन्, ‘दुई दिनअघि चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले अनौठो बयान दिइन्। उनले लद्दाख केन्द्र शासित प्रदेशलाई मान्यता नदिने बताएकी थिइन्। म सधैं भन्दै आएको छु कि चीनलाई लद्दाखको बारेमा टिप्पणी गर्ने कुनै अधिकार छैन। बरु हामी उनीहरूलाई भन्छौँ कि हामी मान्यता दिँदैनौँ। हाम्रो छिमेकी देश त तिब्बत हो, चीन होइन। उनीहरूले तिब्बत कहिले खाली गर्दैछन् भन्ने कुरा बताउनुपर्छ।’
उनले अगाडि भनेका छन्, ‘लद्दाखका मानिसहरू भारतमा सधैं खुसी थिए र अगाडि पनि रहनेछन्। आश्चर्यको कुरा के छ भने त्यसपछि हाम्रै देशको गृह मन्त्रालयका अधिकारीहरूसँग लद्दाखका नेताहरूको वार्ता थियो। चीन त दुश्मन देश रह्यो। हाम्रै देशले त्यो बैठकमा जे भन्यो, त्यो देखेर त यही मुखबाट निस्कन्छ- हमें तो अपनों ने लूटा, ग़ैरों में कहां दम था; मेरी कश्ती वहां डूबी, जहां पानी कम था ।’
वाङचुकले थप भनेका छन्, ‘तपाईंलाई थाहा होला कि २०१९ मा लद्दाख केन्द्र शासित प्रदेश बनेको थियो। त्यतिबेला पछि गएर लोकतन्त्र पनि बहाल गरिने आश्वासन दिइएको थियो। लद्दाखलाई संविधानको छैटौँ अनुसूचीमा संरक्षण दिइने भनिएको थियो। यसै मुद्दामा दुई वटा चुनाव पनि जिते। तर पछि यो बाचाबाट पूर्ण रूपमा पछि हटे।’
यसैबीच भारतले पनि चिनियाँ विदेश मन्त्रालयको बयानको जवाफ दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले एक्समा पोस्ट गर्दै लद्दाख भारतको अभिन्न अङ्ग भएको बताएका छन्। उनले चीनको कुनै पनि दाबीले यो तथ्यलाई बदल्न नसक्ने स्पष्ट पारेका छन्।
प्रतिक्रिया 4