+
+
Shares

इमरान खान : बलिउडमा असफलता, पत्नीसँगको डिभोर्स र डिप्रेसनबाट गुज्रिरहेका थिए

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३१ गते १४:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुम्बई प्रहरीले इमरान खानलाई २८ अक्टोबरसम्म भारत छाड्न नोटिस जारी गर्दै अगस्त क्रान्ति मैदानको प्रदर्शनमा सहभागी भएको आरोपमा अध्यागमन ऐनअन्तर्गत कारबाही गरेको छ।
  • इमरानका वकिलहरूले उनी प्रदर्शनमा सहभागी नभई त्यही बाटो हुँदै गइरहेको दाबी गरेका छन्, र यस विषयमा बहस जारी छ।
  • अमेरिकामा जन्मिएका इमरानले २००८ को 'जाने तू… या जाने ना' बाट बलिउडमा सफल सुरुआत गरे पनि पछि निरन्तर फ्लपपछि २०१५ मा उद्योगबाट टाढिए।
  • इमरानले डिप्रेसन र एन्जाइटीसँगको संघर्ष सार्वजनिक गर्दै हप्तामा चार पटक थेरापी जाने बताएका छन्, र हाल उनी नयाँ फिल्म 'अधूरे हम अधूरे तुम' मा फर्कने तयारीमा छन्।

बलिउड अभिनेता इमरान खान अहिले चर्चामा छन् । मुम्बई प्रहरीले नोटिस जारी गर्दै उनलाई २८ अक्टोबरसम्म भारत छाड्न निर्देशन दिएको छ ।

इमरानले १० अक्टोबरमा मुम्बईको अगस्त क्रान्ति मैदानमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै भएको प्रदर्शनमा भाग लिएको बताइन्छ । त्यहाँ प्रहरीले उनलाई हिरासतमा लिएको थियो ।

प्रहरीका अनुसार, भारतीय नागरिक नभए पनि प्रदर्शनमा सामेल भएकाले अध्यागमन ऐनअन्तर्गत कारबाही गरिएको हो । तर इमरान खानका वकिलहरूको दाबी छ,  उनी प्रदर्शनमा सामेल भएका थिएनन्, बरु त्यही बाटो हुँदै गइरहेका थिए ।

यस विषयमा बहस जारी छ, तर यस विवादका बीच इमरानको जीवन र करियरको  यात्रा पनि चर्चामा आएको छ । यस्तो  यात्रा, जसमा प्रसिद्धि, गुमनामी र निजी संघर्षका धेरै उतारचढाव आए ।

अमेरिकामा जन्मिएका इमरान एक समय बलिउडका उदयीमान अभिनेतामा गनिन्थे । करिब डेढ दशकअघि उनले हिट फिल्महरू दिए, ठूला पर्दामा प्रसिद्धि कमाए, त्यसपछि फिल्मी दुनियाबाट टाढा भए ।

डिप्रेसनसँग जुझे र लामो समयसम्म आफूलाई सम्हाल्ने प्रयास गर्दै रहे । अब फर्कने आशाका बीच उनी नयाँ विवादमा फसेका छन् । आखिर, बलिउडका यस स्टारको यात्रा यहाँसम्म कसरी पुग्यो ?

‘पाल’ बाट ‘खान’ सम्म

बलिउडमा इमरान खानलाई सुपरस्टार आमिर खानका भान्जाका रूपमा पनि चिनिन्छ ।

इमरान खानका बाबु अनिल पाल भारतीय बंगाली मूलका अमेरिकी हुन्, जसको शिक्षा आईआईटी बम्बेबाट भएको थियो । मन्सुर खान त्यहाँ उनका सहपाठी थिए ।

मन्सुर खानकी बहिनी नुझत खानले सफ्टवेयर इन्जिनियर अनिल पालसँग विवाह गरिन् र अमेरिका गइन् । त्यहीँ १९८३ मा अमेरिकाको विस्कन्सिन राज्यको म्याडिसन शहरमा उनका छोरा इमरानको जन्म भयो । तर इमरान जम्मा डेढ वर्षका हुँदा नै उनका बाबुआमाको सम्बन्धविच्छेद भयो । आमासँगै इमरान फेरि मुम्बई फर्किए ।

बाबुआमा छुट्टिएपछि इमरानको पालनपोषण आमा नुझत खानले गरिन् । बाबुको थरको सट्टा आमाको थर ‘खान’ अपनाउँदा इमरानले भनेका थिए, ‘म खान थर त्यसैले प्रयोग गर्छु, किनकि एक किसिमले मेरी आमाले एक्लै मेरो पालनपोषण गरेकी छिन्। मेरो पूरै यात्रामा आमा नै मेरो साथमा रहिन् । यही कारणले म खान हुँ ।’

बाल्यकालमा उनको धेरै समय ननिहालमा बित्यो । सुरुको स्कुली पढाइ मुम्बईमा भयो । तर परिवारमा आएको ठूलो परिवर्तन र नयाँ वातावरणसँग इमरान राम्ररी तालमेल मिलाउन सकेनन् ।

एक अन्तर्वार्तामा इमरानले भनेका थिए, ‘म बम्बे स्कटिस स्कूलमा पढ्थेँ । त्यहाँ मेरो अवस्था यति बिग्रियो कि बाबुआमाले मलाई स्कूलबाट निकाल्नुपर्‍यो । त्यो समयमा बच्चाहरूलाई छडीले पिटिन्थ्यो । म यसलाई राम्ररी सहन सकिँन र यसका कारण मेरो हकलाहटको समस्या निकै बढ्यो । मेरा ग्रेड घट्न थाले ।’

केही समयपछि उनकी आमाले अभिनेता राज जुत्शीसँग विवाह गरिन् । इमरानलाई तमिलनाडुको कुनुरमा बोर्डिङ स्कूलमा पठाइयो । त्यहाँबाट उनी ऊटीको अर्को बोर्डिङ स्कूलमा पढ्न गए ।

केही वर्षपछि इमरान फेरि आफ्ना बाबुसँग अमेरिका फर्किए र अर्को धेरै वर्ष त्यहीँ बिता ए। त्यहाँ क्यालिफोर्नियामा उनले स्कुली शिक्षा पूरा गरे, त्यसपछि लस एन्जलसबाट फिल्ममेकिङको पढाइ गरे ।

तर इमरानको गन्तव्य बलिउड नै थियो ।

‘मामा’ को कनेक्सन, बलिउडमा चयन

भारत फर्केर इमरानले अभिनेताका रूपमा आफ्नो बलिउड करियर सुरु गरे । उनलाई लन्च गरे उनका मामा आमिर खानले । फिल्म थियो अब्बास टायरेवाला निर्देशित रोमान्टिक कमेडी ‘जाने तू… या जाने ना’ (२००८), जुन त्यो वर्षको ठूलो हिट रह्यो ।

इमरान खानले ‘बेस्ट मेल डेब्यू’ को फिल्मफेयर पुरस्कार जिते । फिल्म समीक्षकहरूले इमरानलाई ‘यो समयका सबैभन्दा राम्रा युवा अभिनेता’ सम्म भने । शानदार सुरुआतपछि इमरानका अर्का दुई एक्शन फिल्म ‘किडन्याप’ र ‘लक’ फ्लप भए ।

तर त्यसपछिका दुई वर्ष इमरानको करियरका राम्रा वर्ष रहे र उनी ठूला ब्यानरका फिल्ममा हिरोका रूपमा देखिन थाले । करण जौहर निर्मित ‘आई हेट लभ स्टोरीज’ (२०१०), यशराज फिल्म्सको ‘मेरे ब्रदर की दुल्हन’ (२०११) र आमिर खान प्रोडक्सन्सको ‘डेल्ही बेली’ (२०११) राम्ररी चले ।

रोमान्टिक हिरोका रूपमा इमरानले बलिउडमा आफ्नो स्थान बनाइसकेका थिए । रणबीर कपूर र रणवीर सिंहसँगै इमरानको नाम पनि शीर्ष युवा स्टारमा लिइन्थ्यो ।

तर त्यसपछि इमरानको करियरको ग्राफ लगातार तल झर्‍यो।

करियरसँगै निजी जीवनमा पनि उतारचढाव

इमरान खानको अभिनयको आलोचनामा भनिन्थ्यो कि उनको अभिनयको दायरा निकै सीमित छ। अभिनेताका रूपमा इमरानबारे यो धारणा बनिसकेको थियो कि उनी केवल शहरी र रोमान्टिक केटाका भूमिकामा मात्र फिट बस्छन् । विशाल भारद्वाजले उनलाई आफ्नो महत्वाकांक्षी फिल्म ‘मटरू की बिजली का मंडोला’ (२०१२) मा हरियाणवी नौजवानको भूमिका दिए ।

सामाजिक कार्यकर्ता हुकुम सिंह ‘मटरू’ को भूमिकाको तयारीका लागि इमरानले हरियाणवी बोल्ने ट्रेनिङ पनि लिए, तर फिल्म नराम्ररी फ्लप भयो । वर्षौंपछि इमरान खानले यो दाबी गरे, अजय देवगनले यो भूमिका अस्वीकार गरेपछि विशाल भारद्वाजले उनलाई फिल्ममा लिएका थिए ।

इमरानका अनुसार, विशाल भारद्वाज उनलाई केवल त्यसैले कास्ट गर्न चाहन्थे, ताकि फिल्मका लागि ठूलो बजेट हासिल गर्न सकून् ।

इमरानलाई लाग्यो,  विशाल उनीसँग काम गर्नमा रुचि नै राख्दैनन्। उनले भनेका थिए, ‘मलाई उनीसँग दूरी महसुस हुन्थ्यो । कुनै जोडाइ थिएन, केवल ‘एक्शन’ र ‘कट’ । यो मेरो जीवनको सबैभन्दा एक्लो फिल्म थियो ।’

असफलताको सिलसिला त्यसपछि पनि रोकिएन । अक्षय कुमारसँगको अर्को ठूलो फिल्म ‘वन्स अपोन अ टाइम इन मुम्बई दोबारा’ (२०१३) मा इमरान एउटा ग्याङस्टरको भूमिकामा थिए । फिल्म नराम्ररी फ्लप भएपछि समीक्षकहरूले यसको सबैभन्दा कमजोर कडी इमरान खानलाई ठहर्‍याए ।

अर्का दुई फिल्म ‘गोरी तेरे प्यार में’ (२०१३) र ‘कट्टी-बट्टी’ मा इमरान फेरि आफ्नो ‘होमग्राउन्ड’ अर्थात् शहरी रोमान्टिक भूमिकामा  देखिए । यी फिल्ममा उनको साथमा करीना कपूर, श्रद्धा कपूर र कंगना रनौत जस्ता चर्चित अभिनेत्रीहरू थिए, तर दुवै फिल्मले बक्स अफिसमा पानीसमेत भन्न पाएनन् ।

हिरोका रूपमा ‘कट्टी-बट्टी’ (२०१५) इमरानको अन्तिम फिल्म साबित भयो । लगातार पाँच फ्लप फिल्मपछि इमरान हिन्दी फिल्म उद्योगबाट बाहिरै भए ।

निजी जीवनमा पनि उनी लगातार उतारचढावबाट गुज्रिरहे । १९ वर्षको उमेरदेखि उनी अवन्तिका मलिकलाई डेट गर्दै थिए । २०११ मा दुवैले विवाह गरे । दुवैकी एउटी छोरी इमारा पनि छन् । तर यो सम्बन्ध चलेन र आठ वर्षपछि २०१९ मा दुवै छुट्टिए ।

डिप्रेसनबाट घेरिए र फेरि सोसल मिडियामा बताए

करियर र निजी जीवनको उथलपुथलबाट जुझिरहेका इमरान खानलाई बिर्सेर बलिउड अगाडि बढिसकेको थियो ।

धेरै वर्षको मौनतापछि तीन वर्षअघि (२०२३) अचानक इमरानको एउटा सोसल मिडिया पोस्टले उनलाई फेरि चर्चामा ल्यायो । यस पोस्टमा इमरानले आफ्ना कठिन दिनहरू र अतीतको पीडा सम्झँदै लेखे, ‘मौनताका लागि माफ गर्नुहोस्… जब तपाईं लामो समयसम्म अँध्यारोमा बस्नुभएको हुन्छ, त्यसबेला सुरुमा घामको उज्यालो पनि असह्य लाग्न सक्छ । हामी सबैसँग केही दागहरू छन्, केही पुराना घाउहरू, जसले आज पनि दुख्छन् । तर प्रेमले हरेक पीडा निको पार्छ ।’

‘म हप्तामा चार पटक थेरापीका लागि जान्छु’

इमरान खान देशका ती अत्यन्तै छानिएका स्टारमध्ये एक हुन्, जसले डिप्रेसन र एन्जाइटीसँगको आफ्नो लडाइँ सार्वजनिक रूपमा साझा गरेका छन् ।

धेरै अन्तर्वार्तामा उनले न केवल आफ्ना संघर्षबारे खुलेर कुरा गरे, बरु त्यो पीडा पनि वर्णन गरे, जसबाट गुज्रिँदा दैनिक साना-साना काम पनि पहाड जस्तै लाग्न थालेका थिए ।

आफ्ना कठिन समय सम्झँदै उनले भने, ‘ती वर्षहरूमा म यी सबै गर्न सक्ने अवस्थामै थिइनँ । मेरा लागि दैनिक जीवन जिउनु पनि गाह्रो भइसकेको थियो । जब तपाईं गहिरो र गम्भीर डिप्रेसनबाट जुझिरहनुभएको हुन्छ, तब बिहान उठ्नु, ब्रस गर्नु र नुहाउनुसम्म कुनै ठूलो चुनौतीभन्दा कम हुँदैन ।’

२०२४ मा हिन्दुस्तान टाइम्सलाई दिएको अन्तर्वार्तामा उनले खुलेर आफ्नो डिप्रेसनबारे कुरा गर्दै भने, ‘म हप्तामा चार पटक थेरापीका लागि जान्छु ।’

इमरानले यो पनि बताए कि कसरी लामो समयसम्म उनले आफ्नो बेचैनीलाई चिन्नै सकेनन् ।

उनले भने, ‘डिप्रेसन, एन्जाइटी र यस्ता अन्य समस्याहरूको कुरा गर्दा, यीका धेरै यस्ता पक्ष हुन्छन्, जसलाई हामी महसुस त गर्छौं, तर चिन्न सक्दैनौं । बिस्तारै जब तपाईं आफूभित्र चलिरहेका कुराहरूप्रति सचेत हुन थाल्नुहुन्छ, तब बुझिन्छ । सायद २०१६ का अन्तिम महिनातिर म यसलाई सही अर्थमा बुझ्न थालेको थिएँ ।’

यी अवस्थाबाट उनलाई उकास्ने श्रेय उनले आफ्नी छोरी इमारा र पार्टनर लेखा वाशिङटनलाई दिए ।

११ वर्षको लामो ब्रेकपछि यसै वर्ष आएको ‘ह्यापी पटेल: खतरनाक जासूस’ बाट उनले बलिउडमा फर्किए । तर यसमा उनको भूमिका अतिथि कलाकारको थियो, र फिल्म बक्स अफिसमा सफल भएन । अब उनी निर्देशक दानिश असलमको फिल्म ‘अधूरे हम अधूरे तुम’ मा हिरोका रूपमा देखिनेछन् ।

तर फिल्ममा फर्कने आशाका बीच मुम्बई प्रहरीको नोटिसले इमरानका कठिनाइ बढाएको छ । प्रश्न यी हुन् कि जीवनका सबै उतारचढावबाट गुज्रिसकेका इमरान यस पटक यी अवस्थाको सामना कसरी गर्छन् ?

बिबिसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?