+

हिकमत कर्णाली याक्सको आइकोनिक खेलाडी

२०८३ असोज  ३१ गते २०:०७ २०८३ असोज ३१ गते २०:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली याक्सले एनपिएल तेस्रो सिजनका लागि दैलेखका १८ वर्षीय हिकमत बहादुर शाहीलाई आइकोनिक खेलाडीका रूपमा छनोट गरेको छ।
  • सुर्खेत र सल्यानको ट्यालेन्ट हन्टबाट हिकमतसँगै रुकुमका भुवन भण्डारी र सुर्खेतका कैलाश खड्का दोस्रो चरणमा पुगेका थिए।
  • कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्लले टोलीको संरचना र आवश्यकताका आधारमा हिकमतलाई छनोट गरिएको बताए।

३१ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनका लागि कर्णाली याक्सले हिकमत बहादुर शाहीलाई आइकोनिक खेलाडीका रूपमा छनोट गरेको छ ।

दैलेखका १८ वर्षीय हिकमत कर्णाली याक्सको सुर्खेतमा आयोजित ट्यालेन्ट हन्टमा सहभागी भएका थिए । यो पटक सुर्खेत र सल्यानको ट्यालेन्ट हन्टबाट हिकमतसँगै रुकुमका भुवन भण्डारी र सुर्खेतका कैलाश खड्का दोस्रो चरणको छनोटमा परेका थिए ।

त्यसपछि तीन खेलाडी कर्णाली याक्सको बन्द प्रशिक्षणमा सहभागि भएको र बन्द प्रशिक्षणको प्रदर्शनको आधारमा हिकमत कर्णाली याक्सको आइकोनिक खेलाडी छनोट हुन सफल भएको कर्णाली याक्सले जनाएको छ ।

सन् २०२१ देखि क्रिकेट खेल्न थालेका हिकमतले क्रिकेटमा आफ्नो क्षमता निखार्न विभिन्न स्थानमा प्रशिक्षण लिएका थिए । उनले काठमाडौंमा तीन महिना, सुर्खेतस्थित जुनियर स्पोर्ट्स एकेडेमीमा दुई महिना प्रशिक्षण लिएका थिए । त्यसक्रममा उनले सुर्खेतमा जुनियर खेलाडीलाई प्रशिक्षण समेत दिने गरेका थिए । सन् २०२४ मा उनले भारतमा पनि करिब एक वर्ष प्रशिक्षण गरेका थिए ।

कर्णाली याक्समा छनोट भएपछि हिकमतले आफ्नो क्रिकेट करियरको टर्निङ प्वाइन्टको रूपमा  लिएका छन् । ‘कर्णाली याक्सको आइकोनिक खेलाडीका रूपमा छनोट हुन पाउँदा निकै खुसी लागेको छ । ट्यालेन्ट हन्टको उत्कृष्ट तीनमा परेपछि आशा जागेको थियो ।  विदेश जाने सोच बनाएको थिए तर अहिले छनोट भएपछि क्रिकेटमै पूर्ण रूपमा केन्द्रित हुने निर्णय गरेको छु ।’

उनले कर्णाली याक्ससँग जोडिन पाउनुलाई नै आफ्नो ठूलो सफलता मानेका छन् । ‘खेल्ने अवसर पाए पनि नपाए पनि टोलीसँग जोडिन पाउनु मेरा लागि महत्त्वपूर्ण छ । प्रशिक्षणका क्रममा नेटमा अभ्यास गर्न र आफूभन्दा अनुभवी खेलाडीसँग समय बिताउन पाउँदा धेरै कुरा सिक्ने अवसर मिल्नेछ,’ उनले भने ।

कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्लले ट्यालेन्ट हन्टमा सहभागी तीनै खेलाडी उत्कृष्ट रहेको  तर टोलीको संरचना र आवश्यकतालाई ध्यानमा राख्दै एक खेलाडी छनोट गर्नुपर्ने भएकाले हिकमतलाई छनोट गरेको बताए ‘तीनै जना खेलाडी प्रतिभाशाली थिए । तर हामीले एक जनालाई मात्र छनोट गर्नुपर्ने अवस्था थियो । टोलीको संरचना र आवश्यकतासमेतलाई ध्यानमा राखेर हिकमततलाई छनोट गरेका हौं,’ मल्लले भने ।

यो पटक कर्णाली याक्सले पहिलो पटक सुर्खेत र सल्यानमा ट्यालेन्ट हन्ट आयोजना गरेको थियो । जहँ तीन सय भन्दा बढी खेलाडीको सहभागीता रहेको थियो ।

कर्णाली याक्स हिकमत बहादुर शाही

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय