+
+
Shares

कविता : तमासा

प्रा. डा. लेखनाथ काफ्ले प्रा. डा. लेखनाथ काफ्ले
२०८३ कात्तिक १ गते ५:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कवितामा बाढीपीडितलाई दान र दयाको भिखारी बनाइएको र होल्डिङ सेन्टरबाट राहतको तमासा हेरिरहेको चित्रण गरिएको छ।
  • कविताले दान लिएर गोदाम बनाउने र दान दिएर भिडियो बनाउने बिचौलियाहरूले राहतलाई सौदामा बदलिएको आरोप लगाएको छ।
  • कवितामा पीडितलाई सहरबाट ल्याइएका हुल र राम्रो घर तथा लुगा पाउनेहरू दानवीरकै शाखाका कुल भएको व्यंग्य गरिएको छ।

कसैका घर

कसैका जग्गा-जमिन

कसैका दुवै गए

कसैका अभिभावक

कसैका आफन्त

कसैका दुवै गए ।

 

तिनैमध्येको

अरूसँग हात फैलाउन नजानेको

माग्ने बानी नभएको

ऊ, निमेषमै

ज्यान घाइते

मन आघात

कोही नभएको

केही नभएको

दान र दयाको भिखारी भयो ।

 

हेलिकप्टरहरू माथिबाट आउँछन्

मोटरहरू तलबाट आउँछन्

अनेकन मालताल ल्याउँछन् ।

 

घर, जमिन, आफन्त सकल रहेकाहरू

ज्यानमा बल हुने

दगुर्ने दल हुने

तोडले चिच्याउन सक्छन्

हुलमा घिच्याउन सक्छन्

राहत लिन तिनै कराउँछन्

ऊजस्ता नाङ्गाहरू हुलमै हराउँछन् ।

 

निमेषमै दान र दयाको भिखारी भएको

उसले होल्डिङ सेन्टरको एउटा कुनाबाट

चुपचाप हेरिरहेको छ

राहत लिने र दिने तमासा ।

 

दान लिएर गोदाम बनाउनेहरू

दान दिएर भिडियो बनाउनेहरू

हिलोबाट तर्किँदै

बीचबाटै फर्किँदै

माथि रिपोर्ट पठाउने

यताका बिचौलिया दानवीरहरू भन्दैछन्-

‘हेर,

हामीले सबको ज्यान बचाएका छौँ

तिमीहरूको मान जोगाएका छौँ

अझै धेरै दान देऊ

अझै धेरै मान लेऊ ।’

 

कति छिटो

राम्रा घर बने

बाटा बने

पीडितले लुगा लगाए

परका दाताहरू रिपोर्टले दङ्ग छन्

यता दानवीरहरू थप दानले चङ्गा छन् ।

 

परका दाताहरूलाई के थाहा ?

पीडित पनि सहरबाट ल्याइएका हुल हुन्

राम्रा घर र लुगा पाउनेहरू

दानवीरकै शाखाका कुल हुन्

परबाट जे देखे ती खेल हुन्

वरबाट जे गरियो ती झेल हुन् ।

 

निमेषमै दान र दयाको भिखारी भएको

उसले होल्डिङ सेन्टरको एउटा कुनाबाट

चुपचाप हेरिरहेको छ

यी दान र मानका सौदाहरू ।

(२०२६.०९.२३)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?