+
+
Shares

कोलकाताको दुर्गा पूजास्थलमा १९ जनाको ज्यान जाने गरी कसरी भयो भागदौड ?

स्थानीयका अनुसार कोलकाताको चोरबागानमा दुर्गा पूजा आयोजना हुन थालेको ९१ वर्ष भइसकेको छ । तर, यसअघि यस्तो दुर्घटना भएको थिएन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३ गते ६:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको पश्चिम बंगालको कोलकातास्थित चोरबगानको दुर्गा पूजा स्थलमा शनिबार साँझ भागदौड हुँदा कम्तीमा १९ जनाको मृत्यु र २५ जना घाइते भएका छन्।
  • पश्चिम बंगाल सरकारले मृतकका परिवारलाई जनही २५ लाख र घाइतेलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति तथा एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ।
  • मुख्यमन्त्रीले घटनाको छानबिन कोलकाता उच्च अदालतका न्यायाधीशबाट गराइने बताएका छन् र प्रहरीले सीसीटीभी फुटेज जाँच गरिरहेको छ।

३ कात्तिक, काठमाडौं । भारतको पश्चिम बंगालस्थित कोलकाताको चोरबगानमा रहेको दुर्गा पूजा स्थलमा भागदौड हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ । घटनामा अन्य २५ जना घाइते भएका छन् ।

पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीका अनुसार शनिबार साँझ करिब ७:३० बजे उक्त घटना भएको हो । उनका अनुसार सुरुमा १७ जनाको मृत्यु भएको पुष्टि भएको थियो भने पछि थप दुई जनाको मृत्यु भएको हो ।

घाइतेमध्ये २४ जनाको अवस्था खतरामुक्त रहेको र एक जनाको अवस्था केही गम्भीर रहेको मुख्यमन्त्री अधिकारीले बताएका छन् ।

घटनापछि सरकारले मृतकका परिवारलाई जनही २५ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने र प्रत्येक परिवारका एक सदस्यलाई रोजगारी उपलब्ध गराउने घोषणा गरेको छ ।

घाइतेको उपचार खर्च सरकारले बेहोर्ने तथा उनीहरूलाई जनही पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने पनि उनले बताएका छन् ।

स्थानीयका अनुसार चोरबागानमा दुर्गा पूजा आयोजना हुन थालेको ९१ वर्ष भइसकेको छ । तर, यसअघि यस्तो दुर्घटना भएको थिएन ।

साँघुरो बाटो र अत्यधिक भीडका कारण दुर्घटना

स्थानीय प्रत्यक्षदर्शीका अनुसार पूजा पण्डालमा अत्यधिक भीड थियो । त्यही समयमा भारी वर्षा भएपछि मानिसहरू चिप्लिएर लड्दा भागदौडको अवस्था सिर्जना भएको हुन सक्ने अनुमान गरिएको छ ।

एक प्रत्यक्षदर्शीले पण्डालबाट बाहिरिने क्रममा भागदौड भएको र त्यहाँ स्वयंसेवक तथा आवश्यक व्यवस्थापनको अभाव रहेको बताएका छन् ।

अर्का एक प्रत्यक्षदर्शीका अनुसार घटनास्थलको बाटो साँघुरो थियो र पर्याप्त प्रकाशको व्यवस्था पनि थिएन ।

घटनामा अधिकांश महिला तथा बालबालिकाको मृत्यु भएको बताइएको छ ।

उच्च अदालतका न्यायाधीशबाट छानबिन गरिने

मुख्यमन्त्री अधिकारीले घटनाको छानबिन कोलकाता उच्च अदालतका न्यायाधीशबाट गराइने बताएका छन् ।

कोलकाता प्रहरीले घटनास्थलको सीसीटीभी फुटेज जाँच गरिरहेको छ । घटनामा लापरबाही गरेको पाइए दोषीमाथि कानुनी कारबाही गरिने अधिकारीले बताएका छन् ।

पश्चिम बंगालमा करिब ५८ हजार स्थानमा दुर्गा पूजा आयोजना भइरहेको छ । यो राज्यको सबैभन्दा ठूलो र लोकप्रिय पर्व हो । कोलकाताका चर्चित पूजा पण्डाल अवलोकन गर्न भारतका विभिन्न राज्यबाट समेत ठूलो संख्यामा श्रद्धालु तथा पर्यटक पुग्ने गर्छन् ।

प्रधानमन्त्री मोदीदेखि राहुल गान्धीसम्मले जनाए दु:ख

कोलकाताको घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, कांग्रेस नेता राहुल गान्धी र कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेलगायतले दु:ख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले मृतकका परिवारलाई जनही दुई लाख भारतीय रुपैयाँ र घाइतेलाई जनही ५० हजार रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेका छन् ।

गृहमन्त्री शाहले घटनाबारे मुख्यमन्त्री अधिकारीसँग कुराकानी गरेको र आफ्ना निर्धारित कार्यक्रम स्थगित गरेर घाइतेलाई भेट्न अस्पताल जाने बताएका छन् ।

कांग्रेस नेता राहुल गान्धीले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेलाई तत्काल राम्रो उपचार उपलब्ध गराउन र घटनाको निष्पक्ष छानबिन गर्न प्रशासनसँग आग्रह गरेका छन् ।

कांग्रेस अध्यक्ष खड्गेले पनि घटनाप्रति दु:ख व्यक्त गर्दै उद्धार तथा उपचारलाई प्राथमिकता दिन र भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिन गहन छानबिन गर्न पश्चिम बंगाल सरकारसँग माग गरेका छन् ।

टीएमसी सांसदद्वारा सरकार र प्रहरीको आलोचना

तृणमूल कांग्रेस (टीएमसी) का सांसद अभिषेक बनर्जीले घटनालाई लिएर पश्चिम बंगाल सरकार र प्रहरीको आलोचना गरेका छन् ।

उनले सामाजिक सञ्जाल एक्समा लेख्दै कोलकाता प्रहरी, पश्चिम बंगाल प्रहरी र मुख्यमन्त्री अधिकारीको भूमिकामाथि प्रश्न उठाएका छन् ।

पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जीले पनि घटनाप्रति दु:ख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना गरेकी छन् ।

घटनास्थल पुगेका केही स्थानीयले सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो तथा रिल हेरेर पण्डाल अवलोकन गर्न आएको बताएका छन् । उनीहरू त्यहाँ पुग्दा दुर्घटना भइसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?